६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सहकारीको पुँजीलाई उत्पादनमा लगानी गर्ने प्रतिवद्धता

सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य शृङ्खला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्ने प्रतिवद्धतासहित सहकारीको सम्मेलन सम्पन्न भएको छ। राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले काठमाडौंमा आयोजना गरेको तेस्रो राष्ट्रिय सहकारी सम्मेलनले ११ बुँदे घोषणा पत्र जारी गर्दै सहकारीले आत्मनिर्भर अर्थतन्त्र निमार्णमा लाग्नुपर्ने जोड दिएको छ।

वातावरण मैत्री कृषि, उत्पादनमा वृद्धि आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सार्वजनिक निजी र सहकारी साझेदारी माोडेललाई अगाडि बढाइने घोषणा पत्रमा उल्लेख छ। नवीन सोच र सिर्जनात्मकताका आधारमा सहकारी मार्फत कृषि पर्यटन, जलश्रोत, स्वास्थ्य, शिक्षा, उद्योग लगायतका क्षेत्रमा लगानी वृद्धि गर्ने प्रतिवद्धता सम्मेलनले गरेको छ।

विशिष्टीकृत सहकारी संघमार्फत बृहत् र विशिष्ट उत्पादनको विकास, कृषि र पशुजन्य क्षेत्रको प्रवद्र्धन एवं ठूला कृषि फार्मको स्थापना, कृषि जन्य वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति शृङ्खला विकास गरी सहकारीको ब्राण्ड प्रवर्द्धन गर्ने जनाइएको छ।

त्यसैगरी, सहकारी सिद्धान्त, मूल्य, मान्यता र विधिको परिपालना गरी सहकारीको पहिचान स्थापित गर्न सहकारी संस्थाहरूमा स्वनियमन र सुशासन कायम गर्दै सदस्य केन्द्रित व्यवसायको माध्यमबाट गुणात्मक सहकारी अभियान निर्माणमा प्रतिवद्धता छ।

सदस्यको बचतको सुरक्षाका लागि सहकारी क्षेत्रमा विश्वास अभिवृद्धि गर्न राष्ट्रव्यापी रूपमा  जागरण अभियान सञ्चालन गर्न,  सहकारी क्षेत्रको दिगोपनका लागि कानुनले परिकल्पना गरेका प्रवर्द्धनात्मक  व्यवस्था कार्यान्वयनका लागि आवश्यक पहलकदमी गर्ने घोषणा पत्रमा उल्लेख छ। सहकारीको स्वस्थ्य एवं प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि एकीकरणलाई अभियानको रूपमा सञ्चालन गर्नुका साथै नवप्रविधिलाई आत्मसात गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न प्रतिबद्धता जनाइएको छ।

सहकारीले जोगाउँछ अर्थतन्त्र: पूर्व प्रधानमन्त्री ओली

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र अप्ठेरो परेको बेला जोगाउने सहकारी भएको बताएका छन् । तेस्रो सहकारी सम्मेलनको समापनमा बोल्दै अध्यक्ष ओलीले सहकारी सञ्चालन गर्न नजान्दा पनि समस्या आएको बताए।

‘अहिले सहकारी जति बदनाम भएको छ, अब बदनाम हुन नपारोस्’, उनले भने, ‘कृषि क्षेत्रमा बढी जनसंख्या आश्रित भए पनि जमिनको अभाव भएकाले परम्परागत खेती गर्दा कृषि उत्पादनमा मुलुक आत्मनिर्भर हुन नसकेको हो।’

ठूला बैंक, व्यापारी, उद्योगी समस्या भएकाले साना पुँजी भएका सहकारी समस्यामा हुनु स्वभाविभक भएको उनले बताए। सहकारीले एकीकृत जग्गामार्फत कृषि उत्पादनमा लाग्नुपर्ने ओलीले जोड दिए। सहकारीले अनुदान आशा गर्न नहुने भन्दै उनले भने, ‘उत्पादनमा लाग्नको लागि लामो समयको लागि सहुलियत ऋण व्यवस्था गर्नुपर्छ।’

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरेले सहकारीको ऋण तिर्न पर्दैन भन्दै अफवाह फैलाउनेहरूलाई कानुनी कठाघरामा ल्याइने बताए।

प्रकाशित: २६ चैत्र २०७९ ०२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App