२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कोभिडपछि पर्यटक बढे, व्यापार बढेन

पर्यटन बोर्डले मार्च महिनामा करिब एक लाख अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिदै गरेको तथ्यांक सार्वजनिक गरिरहँदा पर्यटन व्यवसायीहरूमा भने उत्साह पलाउन सकेको छैन्। मार्च महिनामा मुलुक भित्रिएका पर्यटकहरूको संख्या कोभिड यताको सबैभन्दा बढी भए पनि ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सरकारले एक लाख पर्यटक मुलुक भित्रिए भन्यो तर ती सबै घुम्ने पर्यटक नभएको बताए।

एनआरएनदेखि व्यावसायिक प्र्रायोजनका लागिसमेत गरेर निकै छोटो समयका लागि नेपाल आएका सबै पर्यटक सरकारी तथ्यांकमा पर्ने गरेको उल्लेख गर्दै अध्यक्ष शर्माले भने ‘सरकारले एक लाख पर्यटक नेपाल आए वा सन् २०१९ को तुलनामा ७८ प्रतिशत पर्यटक पुनरुत्थान भयो भने पनि पर्यटन क्षेत्रको वास्तविक वस्तुस्थिति त्यस्तो छैन् किनभने होटलहरूको अकुपेन्सी ६०/७० प्रतिशत मात्र छ।’

उनले थपे ‘अझ ठमेलका रेष्टुरेन्ट र पसलहरू होटल जत्तिको पनि अकुपेन्सी छैन्। योसबैभन्दा बढी पर्यटक आउने सिजन हो। ठमेलको समग्र पर्यटन व्यवसायमा होटल क्षेत्रमा मात्र अलिकति सन्तोषजनक अवस्था छ बाँकी रेष्टुरेन्ट र पसलहरूमा करिब ५० प्रतिशतको मात्र अकुपेन्सी छ।’

पर्यटन बोर्डले केही दिनअघि सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च महिनामा हवाई उडानको माध्यममबाट ९९ हजार ४ सय २६ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका थिए। सरकारको डाटामा देखिएको एक लाख पर्यटकको आगमनमा करिब ५०/६० प्रतिशत जति मात्र विशुद्ध पर्यटक भएको अध्यक्ष शर्माको दाबी छ।

अध्यक्ष शर्माका अनुसार एनआरएनहरू विशुद्ध पर्यटकहरूले जस्तो मज्जाले घुम्ने, खाने र डुल्ने गर्दैनन्। फलतः त्यसले पर्यटनक्षेत्रले अपेक्षा गरेरअनुसारको योगदान नपुर्‍याउने उनको तर्क छ। उनीहरू पर्यटक भिसामा नेपाल आए पनि आफ्नै घर तथा आफन्तको घरमा बसेर आवश्यक क्रियाकलाप गर्छन् र वास्तविक पर्यटकले गर्ने जति खर्च नगर्ने उनले बताए।

यसका साथै अफिसियल काममा आएका पर्यटक निकै छोटो समयका लागि नेपाल आउँछन् र आफ्नो काम सकेर फर्किहाल्छन्। अन्य पर्यटकले झैं हिँडडुल तथा खर्च नगर्ने भएकाले पर्यटन क्षेत्रमा उनीहरूको योगदान नगन्य हुने उनले बताए।

मार्च, अप्रिल र मे महिनामा पर्ने वसन्त ऋतु सबैभन्दा बढी पर्यटक आउने समय हो। यो पर्यटक आउने सबैभन्दा उपयुक्त ऋतु भए पनि ठमेलका होटलबाहेक पसल तथा रेष्टुरेन्टहरूमा सोचे अनुसारको व्यापार नभएको बताउँदै अध्यक्ष शर्माले भने ‘पर्यटकले पहिलाजस्तो पैसा खर्च गर्न सकेका छैनन्। अहिले कोभिड अघिका पर्यटकले जस्तो गरी उनीहरूले सामान किन्दैनन् र किने पनि धेरै मोलमोलाई गर्छन्, खानामा पनि उतिसारो खर्च गर्दैनन्। पर्यटकले पैसा खर्च नगर्दा अपेक्षा अनुरूपको व्यापार हुन सकेको छैन।’

कोरोनाअघि र पछिको पूर्वाधार विकासमा फराकिलो अन्तर आइसकेको छ। भिजिट नेपाल २०२० लाई लक्षित गरेर बनाउन थालिएका पूर्वाधारको निर्माण सम्पन्न भइसकेको छ। ठमेलमा पर्यटकहरूको सेवा सुविधाका लागि होटल, रेष्टुरेन्ट तथा पसलहरूको क्षमता दोब्बर भइसकेको उल्लेख गर्दै अध्यक्ष शर्माले भने ‘ठमेलमा पर्यटकका लागि डबल, ट्रिपल क्षताका पूर्वाधार तयार भइसके तर पर्यटकको भोल्युम त्यस अनुसारको छैन।’

पर्यटन बोर्डले पर्यटकको आगमनमा ७८ प्रतिशतले पुनरुत्थान भएको तथ्याङ्क निकालिरहँदा वास्तविकता त्यो भन्दा फरक रहेको ठमेलका होटल व्यवसायी राजेन्द्र अमगाईंले बताए। उनले कोभिडपछि पर्यटन पुनरुत्थानको लागि सरकारले जति काम गर्नुपर्ने हो त्यो नगरेको गुनासो गरे।

पोहोरको तुलनामा यति पर्यटक आइरहेका छन् भनेर सरकार रमाइरहेको अवस्थामा व्यवसायीहरू भने यो निष्पक्ष नभएको बताइरहेका छन्। उनले भने ‘सरकारले एक लाख पर्यटक नेपाल भित्र्यायाै भनिरहँदा वास्तविक पर्यटकीय गतिविधि गर्ने पर्यटकको संख्या तथ्यांकभन्दा कम छ। एनआरएन र अफिसियल कामका लागि आएका बाहेक अन्यलाई हेर्दा करिब ६० प्रतिशत मात्र विशुद्ध पर्यटक आएको देखिन्छ।’

उनले थपे ‘अहिले हामी होटल व्यवसायीहरूसँग भने वार्षिक करिब १५ लाख पर्यटकलाई सेवा, सुविधा दिने क्षमता छ। सिजन अफसिजनको त कुरै भएन् तर सरकार भने सिजनमा एक लाख आए भनेर रमाइरहेको छ। त्यो पनि आधाआधी एनआरएन र अफिसियलहरू सहितको तथ्याङ्कलाई जोडेर।’

व्यवसायी अमगाईं मुलुकलाई चाहिएको संख्यामा पर्यटक नआउनुमा राज्य दोषी रहेको ठान्छन्। उनले कोभिडपछि मुलुकमा पर्यटक ल्याउन सरकारले जति कार्यक्रम र योजनाहरू प्राथमिकताका साथ निमार्ण गरेर कार्यान्वयन गर्नुपर्ने थियो त्यति नगरेको उल्लेख गर्दै ‘अहिले जति पनि पर्यटक नेपाल घुम्न आएका छन् ती सबै व्यवसायीहरूको व्यक्तिगत तथा संस्थागत प्रयासबाट भएका हुन्।

खोई सरकारले पोस्ट कोभिड प्याकेजहरू ल्याएको? व्यवसायीहरूसँग समन्वय गरेर पर्यटक लक्षित टुर प्याकेजहरू कति ल्यायो? पर्यटकका लागि कुन कुन ठाउँहरू सहुलियतदरमा जान पाउने व्यवस्था गरियो? अन्य मुलुक तथा हवाई क्षेत्रसँग कति कनेक्टिभिटी स्थापना भए? हवाई प्याकेज सस्तो गर्न सक्यो? पर्यटकलाई सहुलियत र सहजीकरण गर्न सघाउने गरी सरकारले पर्यटन पुनरुत्थानका योजना ल्याउनु पर्दैनथ्यो? यस्ता कुनै पनि कुरामा सरकारले गृहकार्य गर्न नसकेकैले अझै पनि मुलुकको पर्यटन क्षेत्र सोचेजति उक्सिन सकिरहेको छैन्।’

सन् २०१९ को अन्त्यतिर महामारीको रूप लिएर आएको कोभिडले करिब २ वर्ष पर्यटन क्षेत्र अस्तव्यस्त बनायो शून्यमा झार्‍याे। पर्यटक आगमन शून्यमा झरेको अवस्थामा गत वर्षदेखि क्रमिक रूपले पर्यटक आगमनमा चहलपहल बढ्न थालेकाले पर्यटन व्यवसायीले केही राहत महसुस गरेका थिए। विस्तारै लयमा फर्किन थालेको पर्यटन क्षेत्रलाई पुनः रसिया युक्रेन युद्धले शिथिल बनाइदियो।  

कोभिड महामारी, महामारीपछिको आर्थिक संकट रुस–युक्रेन युद्धका कारण पर्यटन क्षेत्र अस्तव्यस्त हुँदा पर्यटन व्यवसायीहरू सबैभन्दा बढी मारमा परे। कति व्यवसायी यस क्षेत्रबाट पलायन नै भए भने जसोतसो धानिरहेका व्यवसायी पनि सन्तुष्ट हुन सकिरहेका छैनन्।  

प्रकाशित: २६ चैत्र २०७९ ०१:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App