२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाली जलविद्युत् प्रवर्द्धक र भारतीय कम्पनीबीच सम्झौता हुने

पावरसमिटकाे आठौं संस्करण

आठौं संस्करणको पावर समिटमा नेपाली जलविद्युत् आयोजनाका प्रवर्द्धक र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौताका लागि समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ। आगामी बैशाखको पहिलो साता आयोजना हुने पावर समिटको अवसरमा दुवै पक्षबीच विद्युत् खरिद बिक्री सम्झौता हुने भएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपाध्यक्ष तथा समिटका संयोजक आशिष गर्गले पावर समिटमा नेपालका जलविद्युत् प्रवर्द्धक कम्पनी र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद बिक्री सम्झौता हुने बताए। ‘समिटमा नवीरकरणीय ऊर्जाको विकास र बजार विस्तारका लागि अन्य सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गरिनेछ,’ उनले भने ‘नेपालमा उत्पादन भएको बिजुलीको बजारीकरण र लगानी भित्र्याउन समिट कोसेढुङ्गो सावित हुने आशा गरेका छौं।’

उपाध्यक्ष गर्गले नेपालमा उत्पादन भएको बिजुली भारत निर्यातको ढोका खोल्न पनि निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिनुपर्ने बताए। ‘पावर समिटमा नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन र विद्युत् व्यापारको ढोका खोल्ने आशासहित आयोजना गरिएको हो,’ उनले भने।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इपानको आयोजनामा आगामी बैशाख ५ र ६ गते राजधानीमा पावर समिट २०२३ हुँदैछ।

इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले पावर समिटमा नेपालको विद्युत् बजार, प्रसारण पूर्वाधार, नेपालको जलविद्युत्को माग, प्रविधि र नवप्रवर्तन, सोलार, हाइड्रोजन, नियामकनिकाय, अन्तरदेशीय विद्युत् व्यापार, दिगो र जलवायुअनुकूलको विकास लगायतका विषय समेट्ने गरी १५ वटा सत्र सञ्चालन गरिनेछन्।

समिटमा पर्यावरण, सामाजिक र सुशासन, क्षेत्रीय सहकार्य र ऊर्जा सुरक्षा लगायतका विषयमा नेपाल लगानीबोर्ड तथा निजी क्षेत्रकातर्फबाट पाँच हजार मेगावाटका परियोजना प्राजेक्ट बैंकको रूपमा प्रदर्शन गरिनेछ। ‘लगानीकर्ताहरूलाई लगानीका लागि ऊर्जा परियोजनाहरू छलफल र बुझ्न एक महत्वपूर्ण अवसरको रूपमा रहनेछ,’ उनले भने। 

प्रकाशित: २३ चैत्र २०७९ ०५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App