२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

८० लाखको अवैध सामान बरामद

अवैध सामान ल्याएको गाडीसहित सामान पक्राउ गर्दै सुर्खेत प्रहरी।तस्बिर : नागरिक

कर्णाली प्रदेशमा एक वर्षको अवधिमा ८० लाख रूपैयाँ बढीका करछलीका सामान प्रहरीले बरामद गरेको छ। खाद्य सामग्रीभित्र करछलीका सुर्तीजन्य वस्तु, चिनी सबैभन्दा बढी ल्याउने गरेको पाइएको हो।  

कर्णालीमा करछलीका सामान पैसा र शक्तिको आडमा खुलेआम ल्याउने गरेको पाइएको हो। अहिले भारतबाट सुपरपावर सुर्ती र मेगाश्री गुड्का खुलेआम बजारमा बिक्री हुँदा पनि प्रहरीले सामान्य छापासमेत हाल्ने गरेको पाइएको छैन। जसकारण गैरकानुनी व्यापार गर्नेहरू कर्णालीमा मौलाउँदै छन्।  चालु आर्थिक वर्षको असारदेखि हालसम्म करछलीका सामानबाट कर्णालीका १० जिल्लाबाट ८० लाख ६५ हजार २ सय १० रूपैयाँ बरामद भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।  

गत आवमा १ करोड ७७ लाख २ हजार ६ सय ७५ रूपैयाँबराबरको सामान बरामद गरी आवश्यक कारबाहीका लागि प्रहरीले राजस्व कार्यालयमा पठाएको थियो। कर्णालीमा ठुला व्यापारीले सेटिङमा करछलीका सामान ल्याउने गरेको पाइएको छ। सत्ता र शक्तिको आडमा अवैध सामान रातारात ल्याएर खुलेआम बिक्रीवितरण भइरहेको छ। बजारमा खुलेआम सानादेखि ठुला पसलसम्म भारतीय सुर्तीजन्य वस्तु सुपरपावर सुर्ती, मेगाश्री गुड्का पाइन्छ। प्रशासन तथा प्रहरीको भने ध्यान कहिल्यै जाँदैन। अवैध सुर्तीजन्य वस्तु मात्रै पसलबाट नउठाउनुले पनि कर्णालीमा छ्यापछ्याप्ती प्रोत्साहन पाएजस्तै भएको स्थानीय बताउँछन्। करछलीका सामानमा भारतबाट ल्याइएका सुपरपावर सुर्ती, चिनी, कोल्ड ड्रिंक, खुद्रासामान, धोती, मोबाइल, रासायनिक मल, कुर्तासुरुवाल, तन्ना इलोक्ट्रोनिक्स सामान, निर्माण सामगी, मोटरसाइकललगायत सामान बरामद रहेका छन्। करछलीका सामान पक्राउ गर्न प्रहरीलाई विशेष निगरानी राख्न निर्देशन दिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए। ‘चालु आवमा १० जिल्लामा ८० लाख ६५ हजार २ सय १० रूपैयाँबराबरको सामान बरामद भयो,’ प्रहरी प्रवक्ता (एसएसपी) श्रेष्ठले भने, ‘सबैभन्दा बढी सामान सुर्खेतबाट बरामद भएको छ।’ 

प्रकाशित: २१ चैत्र २०७९ ०७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App