१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

निगमले डिजेल र पेट्रोलको मूल्य घटायो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासबाहेक सबै इन्धनको मूल्य घटाएको छ। स्वचालित मूल्य प्रणालीअन्तर्गत निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुने गरी समायोजन गरेको हो। इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट मूल्य घटेर आएपछि निगमले घटाएको जनाएको छ।

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रूपैयाँका दरले घटाएको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए। पेट्रोलको मूल्य भने लिटरमा ३ रूपैयाँले घटाएको छ। मूल्य घटाएपछि पेट्रोलको मूल्य लिटरको १ सय ७५ रूपैयाँ, डिजेल र मट्टीतेलको १ सय ६५ रूपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ १ सय ६० रूपैयाँ कायम गरिएको छ बाह्यतर्फ १.३५ अमेरिकी डलर कायम गरिएको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १८ सय रूपैयाँ नै रहेको छ।

उपभोक्तालाई राहत दिन मूल्य घटाएको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए। पुरानो घाटाले निगमले १४ अर्ब रूपैयाँ बक्यौता तिर्न बाँकी रहे पनि उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य घटाएको निगमको दाबी छ। ‘निगमले सरकार र आइओसीलाई तिर्न १४ अर्ब ऋण बाँकी नै छ,’ कार्यकारी निर्देशक थानीले भने, ‘उपभोक्ताको हितका लागि मूल्य घटायौं।’ आइओसी र सरकारलाई तिनुपर्ने ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौती रहेको उनले बताए।

आइओसीबाट पेट्रोलको मूल्य लिटरमा १ रूपैयाँ २१ पैसा, डिजेलमा ५ रूपैयाँ ५ पैसा, मट्टीतेलमा ३ रूपैयाँ ४० पैसा र हवाई इन्धनमा ७ रूपैयाँ ३ पैसा घटेर आएको थियो। खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिन्डर ३ सय ३९ रूपैयाँ ६ पैसा बढेर आएको थियो। ग्यासमा निगमलाई प्रतिसिलिन्डर ६ सय ३५ रूपैयाँ ५० पैसा घाटा रहेको छ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य केही घट्ने क्रममा रहेको छ भने ग्यासको मूल्य बढिरहेको छ। अहिलेसम्म पेट्रोल प्रतिलिटर १ सय ७८ रूपैयाँ, डिजेल, मट्टीतेल १ सय ७५ रूपैयाँ, हवाई इन्धन आन्तरिक १ सय ७० रूपैयाँ बिक्री हुँदै आएको थियो। निगमले मूल्य घटाएपछि सोमबार रातिबाटै नयाँ मूल्य लागु भइसकेको छ।  

डिजेलको मूल्य घटेपछि सार्वजनिक सवारीसाधन र ढुवानीको भाडासमेत घटाउनुपर्ने सरोकारवालाले माग गरेका छन्। इन्धनको मूल्य घटाउँदा भाउ बढाउने यातायात व्यवसायीले मूल्य घट्दा घटाउने गरेका छैनन्। हवाई इन्धनमा भने इन्धनको मूल्य घटबढको आधारमा भाडा समायोजन हुने गरेको छ।

प्रकाशित: २१ चैत्र २०७९ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App