१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

खाद्य संस्थानले धान किन्न सकेन

बर्दिया- पटकपटक मूल्य बढाई खरिद प्रक्रिया अघि बढाए पनि धान किन्न नसक्दा राजापुरस्थित खाद्य संस्थानको आधुनिक मिल संकटमा परेको छ। खाद्य संस्थानले निर्धारण गरेको मूल्यलाई तल-माथि पारी राजापुरका केही व्यवसायीले बजारमा प्रतिस्पर्धा गर्दा संस्थानको धान खरिद प्रक्रिया अघि बढ्न  नसकेको हो।

सिजनको अन्तिम समय भए पनि यस वर्ष ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको राजापुर खाद्य संस्थानको खरिद प्रक्रिया अघि बढ्न सकेको छैन।

यस्तै, बाँकेको नेपालगन्ज र कैलालीको धनगढीमा लक्ष्यअनुसार खाद्यले धान किन्न नसक्दा समस्या भएको छ। धनगढीको ५० हजार र नेपालगन्जको २० हजार क्विन्टल खरिद लक्ष्य पनि अपुरो रहेको संस्थानले जनाएको छ।

संस्थानले धान किन्न गरेको प्रयास असफल बनाउन व्यापारीको एक समूह सक्रिय रहेको स्रोतको दाबी छ। 'धान नपाएपछि मिल सञ्चालन हुँदैन,' स्रोतले भन्यो, 'नचलेपछि बिग्रिएर मिल धराशयी हुन्छ, यस क्षेत्रबाट संस्थानलाई पलायन गराई भविष्यमा मनोमानी गर्ने व्यवसायीको उद्देश्य हो।’ द्वन्द्वकालमा खाद्यको कारोबार सुस्ताएका बेला मनोमानी गरेका व्यापारी नै संस्थानको कारोबार ठप्प गर्ने योजनामा रहेको सर्वसाधारण बताउँछन्।

बर्सेनि धानको सिजनमा सुरुमा समर्थन मूल्य कायम गरी किसानलाई धानको उचित मूल्य दिने उद्देश्यले संस्थानले धानको मूल्य निर्धारण गर्ने गर्छ।

पटकपटक धान खरिद गर्न मूल्य कायम गरे पनि व्यापारीका कारण धान खरिद गर्न नसकिएको खाद्य संस्थान प्रमुख भोजराज पाण्डेले बताए।

'दुईपटक मूल्य निर्धारण गरियो,' पाण्डेले भने, 'संस्थानले निर्धारण गरेको मूल्यभन्दा सय, पचास व्यापारीले बढी दिइहाल्छन्।'

खाद्य संस्थानले मंसिर ६ गते मकवानपुर जातको धानको प्रतिक्विन्टल मूल्य दुई हजार दुई सय रुपैयाँ, मोटा धानको एक हजार नौ सय ५० र मध्यमको दुई हजार दुई सय ५० रुपैयाँ निर्धारण गरेको थियो, जुन गत वर्षभन्दा सय रुपैयाँ बढी हो।

बजारमा मूल्य बढाएर किन्न थालेपछि बिहीबार संस्थानले मकवानपुर धान प्रतिक्विन्टल मूल्य दुई हजार पाँच सय, मोटा धान दुई हजार एक सय र मध्यम धान दुई हजार तीन सय ५० निर्धारण गरेको छ।

तर, संस्थानले धान खरिदका लागि बिहीबार काटा खोलेको अवस्थामा प्रतिस्पर्धा गर्दै वरदान विधान ट्रेडस, सिगुना ट्रेडस लगायतले ५० रुपैयाँ बढाएर काटा सञ्चालन गरेपछि धान बेच्न संस्थान परिसर पसेका किसान फर्केका छन्।

'पल्लेदारी जोडेर हामीले मूल्य निर्धारण गर्‍यौँ,’ पाण्डे भन्छन्, 'पल्लेदारी नजोडी ५० रुपैयाँ व्यापारीले बढी दिएपछि किसान फर्के, संस्थानलाई बेच्दा किसानलाई ३० रुपैयाँ घाटा पर्‍यो।’

संस्थानले आधुनिक चामल मिल कर्णालीका विकट पहाडी क्षेत्रमा खाद्य संकट भएका बेला चामल परिपूर्ति गर्न सञ्चालनमा ल्याइएको हो। धान खरिद गरेर तयारी चामल बनाउने संस्थानको चामल मिल भने यतिखेर चहलपहल शून्य छ।

संस्थानले अहिलेसम्म ४० हजार क्विन्टल कोटामा दुई सय बोरा मात्र धान खरिद गरेको छ। जसले गर्दा धान खरिदका लागि संस्थानले विनियोजन गरेको १२ करोड रुपैयाँ बजेट थन्किएको छ।

जापान सरकारको सहयोगमा निर्माण भएको आधुनिक चामल मिलमा गोदामको व्यस्थासँगै कुटानी, पिसानी र प्याकेजिङ गरिन्छ। संस्थानसँग ६० हजार क्विन्टलसम्म तयारी खाद्य सञ्चित गर्ने गोदाम छ।

राजापुरस्थित आधुनिक मिल सञ्चालन गर्न धान अभाव भएपछि संस्थानले धान सिजनको अन्तिममा मूल्य बढाएर धान खरिद प्रक्रिया अघि बढाएको हो। कृषि विकास कार्यालय वरिष्ठ अधिकृत परशुराम रावत, जिल्ला प्रशासन कार्यालयका अधिकृत अर्जुन सुवेदी, कृषक समन्वय समितिका अध्यक्ष मुक्ति पौडेल र संस्थानका प्रमुख भोजराम पाण्डे लगायत धान मूल्य निर्धारण गर्न फिल्डमै गई किसानसँग छलफल गरेका थिए।

आफूहरुको राहतका लागि धानको मूल्य बढाएर खाद्य संस्थान राजापुरले ग्रामीण क्षेत्रका केही ठाउँमा धान खरिदका लागि डिपो स्थापना गर्नुपर्ने किसानको माग छ। किसानले मनाउँ, खैरीचन्दनपुर गाविस डिपो राख्न माग गरेका छन्। मनाउँमा खाद्यले डिपो सञ्चालनमा ल्याइसकेको छ।

राजापुर क्षेत्रमा उत्पादन हुने मकवानपुर जातको धानको मूल्य बढाएर डिपोमार्फत खरिद प्रक्रिया तत्काल अघि बढाउनुपर्ने किसानको मागअनुरुप संस्थानले तयारी गर्दागर्दै व्यापारीले मूल्य बढाएका हुन्।

बर्दिया उद्योग वाणिज्य संघका राजापुर उपाध्यक्ष तथा गल्ला व्यवसायी चन्द्रेश्वर सुवेदी मकवानपुर धानको माग चिउरा र भुजाका लागि उच्च भएकाले व्यापारीले मूल्य बढाएर धान खरिद गरेको बताए।

'मकवानपुर धानको माग उच्च छ। त्यसैले ठूला व्यापारीले प्रतिस्पर्धामा मूल्य बढाएका छन्,' उनले भने।

राजापुर क्षेत्रमा १४ हजार हेक्टरमा धानखेती गरिएको कृषि विकास कार्यालयका वरिष्ठ परशुराम रावतले बताए। उनका अनुसार जिल्लाका औसत धान उत्पादन प्रतिहेक्टर ४.५ मेटि्रक टन छ भने राजापुर क्षेत्र प्रतिकट्ठा दुई क्विन्टल धान उत्पादन भएको छ।

प्रकाशित: ९ पुस २०७३ ०३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App