१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चितवनमा दोस्रो माछा महोत्सव

चितवन- भरतपुरमा शुक्रबारदेखि दोस्रो माछा महोत्सव सुरु भएको छ। कृषिराज्यमन्त्री राधिका तामाङले उद्घाटन गरेको महोत्सव पुस ५ सम्म चल्नेछ। स्वदेशी माछाको खपत बढाउने उद्देश्यले माछा महोत्सव आयोजना गरेको आयोजक समिति संयोजक रमेश पाण्डेले बताए।

'मेलामा आउने दर्शकले माछापालन साथै माछा परिकारबारे पनि जानकारी लिन पाउने अवस्था छ। जसले माछाको उपभोग बढाउन मद्दत गर्ने हाम्रो विश्वास छ,' संयोजक पाण्डेले भने।

नेपाल मत्स्य व्यवसायी संघ चितवन शाखा र जिल्ला कृषि विकास कार्यालयले संयुक्त माछा महोत्सव आयोजना गरेको हो।

 'अहिले देशभर माछा उत्पादन फस्टाएको छ। ताजा माछा सहरका गल्ली–गल्ली र गाउँगाउँमा उपलब्ध हुन सक्ने अवस्था छ। ज्युँदै माछा बेच्ने चलन पनि बढेको छ,' पाण्डेले भने। माछा खानु स्वास्थ्यका लागि राम्रो हो र खाने माछा स्वस्थ्य हुनुपर्छ भन्ने सन्देश जनमानसमा फैलाउन आवश्यक भएको उनले बताए।

 महोत्सवमा माछा उत्पादनसँग सम्बन्धित साधन र प्रविधि जानकारी गराउने ५० स्टल रहेका छन्। महोत्सवको मूल नारा छ– स्वदेशी माछा खाऔँ, स्वस्थ्य रहौँ। नेपालमा भारतबाट माछा आयात हुने गरेको छ। भारतबाट आउने माछामा फर्मालिन नामक रसायन हुने गर्छ।

 माछा नकुहियोस् भनेर राखिने सो रसायनले मानव स्वास्थ्यमा समेत नकारात्मक असर गर्ने अनुसन्धानले देखाएको छ। रसायन मिसाएका आयातीत माछा छाडेर स्थानीय रूपमा उत्पादन भएका ताजा माछा उपभोग गर्ने चलन बढाउन महोत्सवले महŒवपूर्ण भूमिका खेल्ने उनले बताए। महोत्सवमा माछाका साथै साकाहारी परिकार पनि रहेका छन्।

 खानाका लागि मात्रै नभएर माछा उत्पादनसँग जोडिएका विविध पक्षको जानकारी लिन पनि महोत्सव अवलोकन उपयोगी हुने पाण्डेले बताए। मापदण्ड अनुरूपका पोखरी र पोखरीमा आवश्यक हुने प्रविधिसहित नमुना प्रदर्शनी पनि महोत्सव स्थलमा राखिनेछ। माछा उत्पादन र प्रशोधनका लागि चाहिने दाना, औजार र उपकरण पनि प्रदर्शनमा राखिएको छ।

महोत्सव अवलोकन गर्न आउनेलाई माछा पकाउने विधि पनि सिकाउने संयोजक पाण्डेले बताए। नेपालमा साढे ५८ हजार किसान परिवार माछा उत्पादनमा लागेको नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीको भनाइ छ। देशभर नौ हजार नौ सय ३४ हेक्टर पोखरीमा माछा पालन हुने गरेको छ। नेपालभर ७७ हजार मेटि्रक टन माछा उत्पादन हुने गरेको उनले बताए।

 चितवनमा दुई दशकअघि व्यावसायिक माछापालन सुरु भएको थियो। नेपाल मत्स्य व्यवसायी संघ चितवनका अनुसार जिल्लामा लगभग दुई हजार एक सय माछा पोखरी छन्। माछा पोखरीको कुल क्षेत्रफल आठ सय ५४ हेक्टर रहेको संघले जनाएको छ।

 चितवनमा एक हजार एक सय ७२ किसान माछा उत्पादनमा लागेको नेपाल मत्स्य व्यपसायी संघ चितवन शाखाले जानकारी दिएको छ। विभिन्न ५७ समूह र सहकारी पनि माछा उत्पादनमा लागेका छन्। चितवनमा मात्रै वर्षमा दुई हजार दुई सय ६४ मेटि्रक टन माछा उत्पादन हुने गरेको संघको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: २ पुस २०७३ ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App