७ वैशाख २०८१ शुक्रबार
अर्थ

एक सातामै १४ हजार श्रमिक जोडिए

वैदेशिक रोजगारीमा रहेकालाई पेन्सन सुविधा

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पेन्सनसहितको सुविधा प्याकेज ल्याएको ६ दिन मै करिब १४ हजार जना सूचीकृत भएका छन्। सरकारले विदेशमा रहेका श्रमिकलाई चैत ८ गतेदेखि पेन्सनसहितको सुविधा ल्याएको हो। योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेटेपछि एक साता नपुग्दै (मंगलबारसम्ममा) १३ हजार ६ सय ३८ जना कामदार कोषमा आबद्ध भएका छन्। कोषमा सूचीकृत भएका श्रमिकले सामाजिक सुरक्षा कोषमा १ करोड १३ लाख ६७ हजार ६ सय ५२ रूपैयाँ जम्मा गरेको कोषका सूचना अधिकारी रोशन कोजुले जानकारी गराए।

सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा रहेका र विदेश जान चाहने नयाँ श्रमिकहरूले रकम योगदान गर्ने क्रम बढ्दै गएको छ। सामाजिक सुरक्षा कोषमा प्रत्येक दिन २ हजारभन्दा बढी श्रमिकहरू जोडिने गरेको कोषका सूचना अधिकारी कोजुले जानकारी दिए।

सामाजिक सुरक्षा योगदान ८ गतेबाट सुरु भए तापनि कार्यान्वयन भने ९ गतेबाट मात्रै सुरु भएको उनी बताउँछन्। ‘विदेसिएका नेपाली नागरिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अनलाइन मार्फत फर्म भर्ने कार्य उच्च भएकाले कहिलेकाहीँ सिस्टमले पनि काम गर्दैन्,’ उनले भने, ‘वैदेशिक रोजगारीमा रहेका श्रमिक वा नयाँ श्रम स्वीकृति लिएर विदेश जाँदै गरेका श्रकिमहरूको सहभागिता यस कोषमा उत्साहप्रद रहेको देखिन्छ।’

‘अब विदेशमा रहेका कुनै पनि नेपाली कामदार सामाजिक सुरक्षा कोषको दायराबाट बाहिर बस्नुपर्दैन। घरमा काम गर्ने घरेलु कामदारदेखि प्रतिष्ठानमा कार्यरत सबैले आफूलाई अधिकार सम्पन्न श्रमिकका रूपमा अनुभूति गर्न पाउने व्यवस्था मिलाइएको छ।’ कोषका अध्यक्षसमेत रहेका श्रम सचिव एकनारायण आर्यालले भने।

श्रम मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा कार्यरत २२ लाख श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गरिएको जनाएको छ। कोषमा आबद्ध हुनका लागि श्रमिकले तोकिएको प्रक्रिया पूरा गर्नुपर्नेछ। सामाजिक सुरक्षा कोषमा सात महिनासम्म वा सो भन्दा बढी महिनाहरूको एकै पटक रकम जम्मा गरेमा उक्त कोषले १० प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ। हरेक महिना सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नुपर्ने झमेला भए एकै पटक धेरै महिनाको रकम जम्मा गर्न मिल्ने सुविधा रहेको अर्यालले बताए।

वैदेशिक रोजगारीमा रहेका वा जानेले न्यूनतम २ हजार २ देखि अधिकतम २८ हजार १ सय ५५ रूपैयाँसम्म कोषमा योगदान गर्न पाउने व्यवस्था छ। यसरी योगदान गर्नेलाई १ लाख रूपैयाँसम्मको वार्षिक दुर्घटना उपचार खर्च, ५ हजार ६ सय ३१ रूपैयाँसम्म अशक्तता पेन्सन, आश्रित परिवारलाई ३ हजार ७ सय ५४ रूपैयाँसम्म आजीवन पेन्सन र २१ वर्षसम्म सन्ततिलाई शैक्षिक वृत्तिबापत ३ हजार ७ सय ५४ रूपैयाँसम्मको रकम पाइनेछ।

वैदेशिक रोजगारीको समयावधि सकिएपछि एकमुस्ट रकम वा पेन्सन सुविधा पाइने सूचना अधिकारी कोजुले बताए। ६० वर्षपछि आजीवन पेन्सन पाइने हुँदा विदेश गएका श्रमिकले अनलाइनबाटै आवेदन दिइरहेको जानकारी कोषका अधिकारीहरूले दिए। ‘कोषमा सहभागी हुन श्रमिकलाई कुनै पनि कम्पनीको अनुमति नचाहिने। आफैंले राहदानी र श्रम स्वीकृति राख्ने र त्यसपछि तोकिएको रकम सिधै खातामा जम्मा गर्दै आएका छन्,’ कोषका अधिकारीहरूले भने।

नयाँ श्रम स्वीकृति लिएर विदेश जाने वा विदेशमा रही पुनः श्रम स्वीकृति लिन चाहने व्यक्तिका लागि वैदेशिक रोजगार विभागको श्रम स्वीकृति सम्बन्धी अनलाइन प्रणालीबाटै सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने प्रबन्ध गरिएको छ। विदेशबाट प्रत्येक वर्ष झण्डै एक हजार जनाको शव आउने गरेको जानकारी वैदेशिक रोजगार बोर्डले दिएको छ।

त्यस्तै अंगभंग र गम्भीर प्रकृतिका बिरामी पनि आउने गरेका छन्। बोर्डले उनीहरूका परिवारलाई राहत रकम दिए पनि मासिक गुजाराबापतको रकम भने दिने गरेको छैन। सामाजिक सुरक्षा कोषमा आबद्ध भए पनि मृतकका परिवारले आजीवन पेन्सन पाउने सुविधा छ।

वैदेशिक रोजगारमा गएका जति पनि कामदारहरू आफ्नो कामको बाबजुद सामाजिक सुरक्षामा योगदान गर्न असहज वा नभ्याएको खण्डमा परिवार मार्फत पनि कोषमा योगदान गर्न सकिने कोजुले जानकारी दिए।

वैदेशिक रोजगारीमा रहेको कामदारले १२ महिना नै सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेमा उक्त कोषबाट पाउने सेवा सुविधा पूरा पाइने व्यवस्था छ। ‘पहिलो पटक सामाजिक सुरक्षा कोषमा पैसा जम्मा गरेर दोश्रो महिनाबाट रकम भुक्तानी नगरेमा कोषबाट पाउने सेवा सुविधा सबै कटौती हुने,’ कोषका अधिकारीहरूले भने।  

प्रकाशित: १५ चैत्र २०७९ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App