२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बेनी–जोमसोम–कोरला स्तरोन्नतीको तयारी

पोखरा– उत्तरी नाका कोरलासम्म स्थलमार्गको पहुँच बढाउन बेनी–जोमसोम–कोरला सडकखण्डलाई स्तरोन्नती गरिने भएको छ । ट्र्याक खुलेर केही वर्षदेखि नियमित रुपमा सडकमा सवारी सञ्चालन भइरहे पनि साँघुरो र जोखिमपूर्ण रहेकोले स्तरोन्नती गर्न थालिएको हो । सडक स्तरोन्नतीपछि उत्तरी नाका चीनसँग द्विपक्षीय व्यापार विस्तार गर्ने सरकारी योजना छ ।

बेनीदेखि जोमसोमसम्म कालोपत्रे हुने, जोमसोम–कोरला स्तरोन्नती गरिने

बेनी–जोमसोम–कोरला आयोजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार सडक स्तरोन्नतीलाई तिब्ररुपमा गति दिने उद्देश्यले सडक विभाग अन्तर्गत छुट्टै युनिट खडा गरिएको छ । उनका अनुसार यो आयोजनाले बेनी–जोमसोम (७६ किमि) र जोमसोम–कोरला (११० किमी) लाई दुई खण्डमा बाँडेर स्तरोन्नती गर्दैछ । त्यस अनुसार बेनी–जोमसोम खण्डमा दोहोरो सवारी चल्ने गरी कालोपत्रे हुनेछ भने जोमसोम–कोरला खण्ड स्तरोन्नती मात्र हुने उनले बताए ।
सुवेदीका अनुसार बेनी–जोमसोम खण्ड कालोपत्रे हुँदा करिब ११ मिटर चौडा सडक हुनेछ । त्यसमा साढे ७ मिटर फराक सडकमा गाडी गुड्नेछ । ‘कुनै पनि ठाउँमा दोहोरो गाडी गुड्न मिल्नेगरी बेनी–जोमसोम खण्ड कालोपत्रे हुँदैछ,’ उनले भने, ‘त्यसका लागि चारखण्डमा बाँडेर कामलाई तीव्रता दिने तयारी भएको छ ।’ उनका अनुसार बेनी–जोमसोम खण्ड कालोपत्रे गर्नेगरि केही दिनमै टेण्डर गरिँदैछ ।
‘तीन वर्षभित्र काम सक्ने लक्ष्य हो । त्यही भएर चारवटा ठेकेदारमार्फत काम गर्ने योजना छ । अहिले लागत ‘भेरिफिकेसन’ भइरहेको उनले बताए । बेनी–जोमसोम खण्डमा ९ वटा पक्की पुल बन्नेछन् । ती मध्ये दुईवटा पुल बनिरहेका छन् । बाँकी सातवटा पनि मोटरेवल पक्की पुल बन्ने उनले बताए । ‘अहिले सञ्चालनमा रहेका सबै बेलीब्रीज हटाएर सट्टामा पक्की पुल बन्नेछन् । पुलका लागि भिन्दै टेण्डर हुनेछ,’ उनले भने,‘सडक ट्रयाक खुल्दाका बेलीब्रीज पुरै हट्नेछन् । उनका अनुसार बेनी–जोमसोम खण्ड कालोपत्रे गर्न करिब तीन अर्ब ८८ करोड रुपैयाँको लागत स्वीकृति अर्थ मन्त्रालयले दिएको छ ।
स्तरोन्नती गर्न थालिएको जोमसोम–कोरलालाई सात खण्डमा बाडेर काम गर्न थालिएको सुवेदीले जानकारी दिए । यो खण्डमा पनि साढे ७ मिटर चौडाइमा गाडी गुड्नेछन् । नाला सहित सडक करिब साढे १० मिटर फराक हुनेछ । जोमसोम–कोरलालाई स्तरोन्नती गर्न सातवटा प्याकेज तयार पारिएको छ । सातवटा ठेकेदारमार्फत काम गराउने गरि सम्झौता भईसकेको उनले बताए ।
‘दुई वर्षभित्र सक्नेगरी सातवटा ठेकेदारमार्फत एकैपटक काम सुरु हुन्छ । कामलाई तिब्रता दिनकै लागि सातवटा ठेकेदार छनौट भएका हुन् । उनीहरुसँग सम्झौता भइसकेको छ,’ सुवेदीले भने, ‘बढ्दो चिसोका कारण काम सुरु हुन नसकेको हो । चिसो कम हुनासाथ काम थालिन्छ ।’ माथिल्लो खण्ड (जोमसोम–कोरला) स्तरोन्नती गर्न पनि करिब साढे तीन अर्ब रुपैयाँ लागत लाग्नेछ । बेनीदेखि कोरलासम्मकै सडक स्तरोन्नती गर्न नेपाल सरकारको लगानी रहनेछ ।
सुवेदीका अनुसार ठेक्का सम्झौता भइसकेको माथिल्लो खण्डका लागि मात्र सरकारले यो वर्ष करिब ४० करोड रुपैयाँ विनियोजन गरेको छ । सम्झौतापछि तल्लो खण्डलाइ पनि बजेट आउनेछ । ‘सरकारको मुख्य प्राथमिकतामा परेको बहुवर्षे आयोजना हुन् । त्यही भएर दुइवटै खण्डको कामलाई बजेट अभाव हुँदैन,’ उनले भने । माथिल्लो खण्ड (जोमसोम–कोरला) मा ४ वटा पक्कि पुल बनाउनुपर्नेछ । ती मध्ये अहिले २ वटा बनिरहेका छन् ।
‘भविश्यमा गाडीको आवागमन, प्रकृति हेरेर कोरलासम्मकै सडक कालोपत्रे हुनसक्छ । अहिलेका लागि जोमसोम–कोरला खण्डमा ग्राभेलिङ मात्र हो,’ उनले भने, ‘ग्राभेलिङ गर्दा पनि सडक निकै व्यवस्थित हुनेछ ।’ सुवेदीका अनुसार ट्रयाकमात्र खुलेको यो खण्डमा अहिले सवारीको सहज आउजाउ छैन । ‘अहिलेको ट्र्याक उत्तिसारो मिलेको छैन । स्तरोन्नती गर्दा स्थायी रुपमा हुनेगरी सडक बन्नेछ,’ उनले भने, ‘त्यसैले कतिपय ठाउँमा नयाँ ट्र्याक खोलेर रुट नै परिवर्तन हुन सक्छ । तलबाटै पर्खाल लगाएर पनि सडकलाई बलियो बनाउनुपर्ने हुन सक्छ ।
जोमसोम–लोमान्थाङ खण्डमा सात वर्षअघि नै ट्र्याक खुलाए पनि समर–भियनाको अप्ठेरो भीरमा गाडी वारपार गर्न नसक्दा सम्पर्क टुटेको थियो । केही महिनाअघि मात्र नेपाली सेनाले समर–भियना खण्डको ट्र्याकलाई केही सहज बनाएको थियो । मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन सडक स्तरोन्नती हुँदा पर्यटन क्षेत्रमा यसले सबैभन्दा बढी प्रभाव पार्ने बताउँछन् । ‘धार्मिक पर्यटकीय क्षेत्रमा सडकले उथलपुथल ल्याउनेछ । अहिले स्वदेशी पर्यटकको आगमनलाई सडक विस्तार हुँदा झनै सहज हुनेछ,’ उनले भने, ‘पर्यटन क्षेत्रमा त यसले निकै महŒव राख्नेछ । चीनसँगको अहिलेको व्यापारलाई पनि बढाउनेछ ।
उनका अनुसार यो सडक स्तरोन्नती भएर कोरला नाका खुलेपछि माउन्ट कैलाश जाने धार्मिक पर्यटकलाई अहिलेभन्दा आधा छोटो बाटो पर्छ । चिनियाँ पक्षसँग अहिले सहमतिको व्यापार मात्र भइरहेकोमा भविश्यमा वृहत रुप लिने उनले बताए । ‘हामीले अहिले निर्यात गर्न पाएका छैनौं, आयात मात्र गरेका छौं । सडक बनेपछि हाम्रो निर्यात पनि बढ्नसक्छ, व्यापार बढाउनेमा कुनै द्विविधा रहँदैन,’ उनले भने, ‘माथिल्लो मुस्ताङ पूरै तिब्बती व्यापारीसँग निर्भर छ । तल्लो मुस्ताङ पोखरासँग निर्भर रहन्छ । यो सडक स्तरोन्नती भएको खण्डमा पूरै मुलुकलाई नै सहज हुन्छ,’ उनले भने, ‘हामीले धेरै पहिलेदेखि सडक स्तरोन्नती गर्नका लागि आवाज उठाइरहेका छौं ।’

 

प्रकाशित: २७ मंसिर २०७३ ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App