coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सेयरबजारमा 'कामचोर' कर्मचारी

काठमाडौं- सिंगो बैंकिङ क्षेत्रको अनुगमन तथा नियमन गर्ने जिम्मेवारी बोकेको नेपाल राष्ट्र बैंकका कर्मचारी नै कार्यालय समयमा सेयर कारोबारमा संलग्न हुने गरेको भेटिएको छ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुगमनका क्रममा बैंकका सहायक निर्देशक दण्डप्रसाद खरेलसहितका कर्मचारी सेयरबजारमा संलग्न भएको भेटिएको हो। केन्द्रले बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म अनुगमन गर्दा बैंकका सहायक निर्देशक खरेल, महालेखापरीक्षकको कार्यालयका निर्देशक जयराम घिमिरेसहितका कर्मचारी संलग्न थिए।

समयमा काम नगर्ने, सेवाग्राहीको काम लम्ब्याउने गुनासो आएपछि केन्द्रले दुई साताअघि एनआइडिसी क्यापिटल मार्केटलगायत मर्चेन्ट बैंकमा अनुगमन गरेको थियो। केन्द्रका अनुसार स्वास्थ्य सेवा विभाग, टेकुका जनस्वास्थ्य अधिकृत सञ्जयकुमार दाहाल, पशुपक्षी मन्त्रालयका नासु खुमानन्द ज्ञवाली सेयर कारोबार गरिरहँदा भेटिएका थिए।

यस्तै, सूचना तथा सञ्चार मन्त्रालयका कम्प्युटर अपरेटर श्रीप्रसाद गौतम, सिँचाइ विभागका कम्प्युटर अपरेटर प्रदीप शाह, कर्मचारी सञ्चय कोष ठमेलमा पाँचौं तहकी कर्मचारी संगीता लुइँटेल, उद्योग विभागका कार्यालय सहयोगी रमेश महर्जन, नन्दी रात्रि माविका निमावि शिक्षक श्रीप्रसाद ढुंगानासमेत सेयर कारोबारमा संलग्न भेटिए।

सरकारी कर्मचारी कार्यालय समयमै दिनभर सेयरबजारमा लाइन लाग्ने प्रवृत्तिले गर्दा नै सेवाग्राहीले हैरानी बेहोर्नुपरेको गरेको पुष्टि हुन्छ। जिम्मेवार तहमा काम गर्ने कर्मचारी सेयर कारोबारमा उपस्थित भएकालेे प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरी त्यसको जानकारी पठाउन सम्बन्धित कार्यालयलाई केन्द्रले लेखी पठाएको छ। अनुगमन र कारबाही सिफारिसको जानकारी मुख्य सचिव सोमलाल सुवेदीलाई गराइएको छ।

केन्द्रले उक्त जानकारीको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई दिएको छ। सम्बन्धित कार्यालयलाई कारबाही सिफारिस गरे पनि कारबाही भएको भन्ने जानकारी अहिलेसम्म नआएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले बताए। 'केन्द्रले सिफारिस गर्ने हो, कारबाही नै गर्ने अधिकार हुँदैन,' उनले नागरिकसँग भने, 'कुन कर्मचारीलाई के कारबाही भयो भन्ने सूचना आएको छैन।'

राष्ट्र बैंकका खरेल विदेशी विनिमय व्यवस्थापन विभागको लगानी शाखामा कार्यरत छन्। विदेशी विनियमयजस्तो संवेदनशील शाखाको कर्मचारी कार्यालय समयमा सेयर बजारमा तानिनु गम्भीर विषय भएको बैंकका एक उच्च अधिकारीले जनाए। 'हरेक घन्टामा अमेरिकी डलरसहित विदेशी मुद्राको लगानी दरबारे जानकारी लिइरहनुपर्छ,' ती अधिकारीले भने, 'काम छाडेर सेयर कारोबार गर्नु भन्ने कर्मचारी विनियमावलीमा छैन।'

खरेललाई कारबाही गर्नू भन्ने निर्णयसहितको पत्र सतर्कता केन्द्रले राष्ट्र बैंक थापाथली कार्यालयमा पठाएको थियो। थापाथलीले मंसिर १२ मा बालुवाटारस्थित केन्द्रीय कार्यालयको विदेशी विनिमय विभागमा पठाएको थियो। कर्मचारीकै कार्यशैलीमा ध्यान नदिने व्यवस्थापनले पछिल्लो समय बैंकिङ क्षेत्रका समस्या केलाउन नसकेको राष्ट्र स्रोतको ठहर छ।

खरेलमात्र नभई राष्ट्र बैंकका दर्जनौं कर्मचारी दिउँसो काम छाडेर सेयर कारोबारमा लाग्ने गरेको त्यहीँका कर्मचारीको आरोप छ। दिनहुँ सेयरबजारमा लाग्दा कार्यालयको काम प्रभावित हुने हुँदा तत्कालीन गभर्नर दीपेन्द्रबहादुर क्षत्रीले २०६५ माघमा कर्मचारीले सेयर स्वघोषणा गर्नुपर्ने नियम बनाएका थिए तर उनी पदबाट हटेपछि त्यो नियम पालना हुन नसकेको बैंक अधिकारी नै बताउँछन्।

बैंकको नियमावलीअनुसार सेयरको दोस्रो बजारमा लगानी गर्न पाइँदैन। प्राथमिक सेयर किन्न भने हरेक कर्मचारीलाई छुट छ। तर, कार्यालयको काममा असर पर्न गरी बजारमा खेल्न पाइँदैन। पहिलो बजारमा कारोबार गर्न इच्छुक कर्मचारीले कार्यालय बिदा लिएर मात्र कारोबार गर्न पाउँछन्।

एनआइडिसीबाहेक मर्चेन्ट बैंकरमा समेत अनुगमन भइरहेकाले त्यसको जानकारी केही दिनमा आउने लामिछाने बताए। 'सरकारी पदमा बसेर कार्यालय समयमा दोस्रो बजारमा सेयर कारोबार गर्न हिँड्दा सर्वसाधारण सेवाबाट वञ्चित हुनुपर्छ। सम्बन्धित निकाय यस विषयमा संवेदनशील हुनुपर्छ,' केन्द्रका प्रवक्ता लामिछानेले भने।

सर्वसाधारण वा सरकारी कर्मचारी जोसुकैले प्राथमिक बजारमा निष्कासन हुने सेयर खरिद गर्न पाउने राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए। 'खरेललाई कारबाही गर्ने भन्ने पत्र बैंकमा नआएको र आए पनि मैले जानकारी पाएको छैन,' उनले शनिबार नागरिकसँग भने, 'आचारसंहिताअनुसार दोस्रो बजारमा कारोबार गर्न पाइँदैन तर उहाँ तोकिएको मर्चेन्ट बैंकमा बोनस सेयर संकलन गर्न, हकप्रद सेयरको आवेदन दिन वा अन्य के कामले जानुभएको हो जानकारी भएन।'

राष्ट्र बैंक नियमावली दफा १३० को उपदफा (५) अनुसार बैंकका कर्मचारीले आफ्नो वा आफ्नो एकाघरका नाममा बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको सेयरमा गरेको लगानी विवरण प्रत्येक वर्ष भदौ मसान्तभित्र जनशक्ति व्यवस्थापन विभागमा पेश गर्नुपर्नेछ। तर, बैंक कर्मचारीले नियमावली मिचेर काम गरिरहेको केही असन्तुष्ट कर्मचारीको तर्क छ।

यस्तै, धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीका अनुसार सरकारी कार्यालयका कर्मचारीले गर्ने सेयर कारोबारको विषयमा बोर्डले हेर्दैन। उनले यस्ता गतिविधिमाथि सम्बन्धित  कार्यालयले नै आ–आफ्नो आचारसंहिताअनुसार कारबाही गर्ने पनि बताए। निजामती कर्मचारी बिदा नलिई कार्यालय समयमै सेयर कारोबार  गर्न जान नमिल्ने पनि उनले बताए।

प्रकाशित: २६ मंसिर २०७३ ०१:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App