१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बेमौसमी तरकारी खेतीमा जुट्दै महिला

आफ्नो बारीमा लगाएको खुर्सानी गोड्दै एक किसान। तस्बिर: नागरिक।

कमलामाई नगरपालिका ४ की रेनुका स्याङतान बेमौसमी तरकारी खेती गरेर मनग्य आम्दानी लिने किसान हुन्। आफ्नो बारीमा लगाएको खुर्सानी गोड्दै गरेकी रेनुका बेमौसमी तरकारी खेतीले आफ्नो जीवनशैलीमै परिवर्तन आएको बत्ताउँछिन्।

थोरै बारी भए पनि मिहिनेत गर्न सके जीविका चलाउन मात्रै नभएर सहज रुपमा घर खर्च चलाउन सकिने उनको अनुभव छ। बारीमा बन्दा खुर्सानी, काँक्रो सहित ढकमक्क तरकारी लगाएकी रेनुका तरकारीले दिएको आम्दानीले हर्षित छिन्।

केही वर्ष अघि वर्ल्ड नेवर्सको आर्थिक सहयोगमा जिल्लाकै सिड्स नेपाल नामक गैरसरकारी संस्थाले तरकारी खेतीमा सहयोग गरेपछि उनी तरकारी खेती गर्ने व्यवसायीक किसान बनिन्। 

'व्यवसायीक तरकारी खेती गर्दै गएपछि सफलता मिल्दै गयो', उनले भनिन्, 'सिजनमा सातामै दश हजार बढी आम्दानी गर्छु मासिक तीस/चालिस हजार आम्दानी हुन्छ।'

आफ्नो थोरै बारी भए पनि आम्दानी राम्रो भएको उनी बत्ताउँछिन्। 'छोराछोरीलाई जिल्लाकै उत्कृष्ट बोर्डिङ तथा होटल म्यानेजमेन्ट पढाउन तरकारी खेतीको आम्दानीले सघाएको छ', उनले भनिन्, 'दिनभरि खेतबारीमा काम गर्न पनि रमाइलो लाग्छ।' उनले जैविक मललाई प्राथमिकता दिएको बताइन्।

'तरकारी खेतीमा हामीले गँड्यौलाबाट उत्पादन भएका जैविक मललाई प्राथमिकता दिएका छौ', उनले भनिन्, 'हाम्रो बारीमा भएको तरकारी विषादी रहित हुन्छ।'

उसो त रेनुका मात्रै नभएर ज्यामिरेका गाउँ भरीका महिलाहरू तरकारी खेतीमा लागेका छन्। समूह नै बनाएर व्यवसायीक तरकारी खेतीमा विशेष गरी महिलाहरू जुटेका हुन्।

गाउँ नजिकै निर्माणाधीन रहेको सुनकोसी मरिण बहुउद्देश्यीय आयोजनाको निर्माण कम्पनीमै धेरै तरकारी बिक्री हुने उनीहरू बत्ताउँछन्। मिहिनेत गर्न सके तरकारी खेतीबाट आम्दानी राम्रो लिन सकिने किसानहरुको बुझाई छ।

'अरुले दश कण्ठामा लगाएको बराबर म पाँच कण्ठाबाटनै आम्दानी लिन सक्ने भएकी छु', उनले भनिन्, 'मल चाहिन्छ मल भयो भने, अग्लो हुने तरकारी ढिलो फल्छ त्यो भित्र अरू तरकारी लगाउँदै गर्दा आम्दानी भइरहन्छ।'

त्यसका साथै मदन भण्डारी राजमार्ग निर्माण भएसँगै राजमार्गमा खुलेका होटलहरुलाईनै तरकारी पुर्‍याउन हम्मे हम्मे छ, अर्की किसान लीला श्रेष्ठले भनिन्, 'मैले लगाएको तरकारी गाउँमै बिक्री भएको छ, बजार पनि लैजानु पर्दैन।'

व्यवसायीक तरकारी खेती गरेका किसानलाई अहिले बजारको समेत अभाव नभएको किसानहरु बत्ताउँछन्। 'धान लगाउन खेतमा तरकारी लगाउँदै आएका छौ, गाउँघर तथा आफन्त कहाँ बिहे लगायतका सुभ कार्यमा कोसेली लैजान तथा दक्षिणा दिनका लागि समेत पैसा घरका ग्राजेनसँग माग्नु परेको छैन, आम्दानी राम्रो छ', श्रेष्ठले सुनाइन्।

जिल्लामा पछिल्लो समय तरकारी खेतीमा किसानहरु जुटेका छन्। व्यवसायीक तरकारी खेतीमा घर खर्च चलाउन सहज हुने भएपछि किसानहरु व्यवसायीक खेतीमा जुटेका हुन्। सिजन अनुसारको तरकारी तथा बेमौसमी तरकारीले किसानको जिवनस्तरनै परिवर्तन हुन थालेपछि किसान तरकारी खेतीमा जुटेका हुन्।

जिल्लाको महाभारत क्षेत्रमा विशेष गरी तरकारी खेती हुँदै आएको छ। जिल्लामा व्यवसायीक तरकारी खेती गर्ने किसान बढ्दै गए पनि हालसम्म जिल्ला तरकारी खेतीमा आत्मनिर्भर हुन नसक्दा तराईका विभिन्न जिल्लाबाट सिन्धुलीमा तरकारी आयात हुने गरेको छ।

प्रकाशित: ५ चैत्र २०७९ ११:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App