१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

एकै वर्ष दुईपटक स्याउ फल्यो

जुम्ला- यसपालि जुम्लामा एकै वर्ष दुईपटक स्याउले फल्यो। एकपटक राम्रो फल दियो, दोस्रोपटक फल हुर्कन पाएन। यहाँ स्याउको मौसम माघदेखि असोजसम्म हो। यहीबीचमा स्याउ फुल्ने, फल्ने र पाक्ने गर्छ। तर, यसपालि कात्तिकमै स्याउ फुलेर फल दिएपछि किसान छक्क परे।

किसानले असोज पहिलो साता स्याउ टिपेर बिक्री गरेका थिए, महिनादिन नपुग्दै स्याउ फुलेर फल दिएपछि उनीहरु आश्चर्यमा परे। स्याउ पाक्ने/नपाक्ने, पाक्ने भए कहिलेसम्म पाक्ने भन्ने कुतूहलता सबैलाई थियो। स्थानीय पुस्तक धराला भन्छिन्, 'कात्तिकमा फलेको स्याउ कात्तिकमै सुक्यो। चिसो र तुषारोले स्याउ पाक्न दिएन।'

एकै वर्षमा दुईपटक स्याउ फलेपछि किसान बीचमै विभिन्न टीका–टिप्पणी हुने गरेको उनले सुनाइन्। 'कसैले बेमौसममा स्याउ फलेकाले जुम्लामा अनिष्ट हुन्छ भन्थे। कसैले जलवायु परिवर्तनको असरले यस्तो भएका भन्थे,' उनले भनिन्, 'बेमौसममा स्याउ फल्दा अनिष्ट हुने धार्मिक विश्वासका कारण किसान चिन्तित थिए।' अहिले स्याउ सुकेपछि किसान मौन छन्।

 चन्दननाथ नगरपालिका–१२ का विर्षबहादुर धरालाले भने जन्मेदेखि हालसम्म यस्तो कहिल्यै नदेखेको बताउँछन्। 'कात्तिकमा फलेको स्याउ पाकेपछि टिपेर चिनोको रूपमा राख्ने सोचेको थिएँ,' उनले भने, 'तर, चिसो र तुषारोदेखि जोगाउन नसक्दा फल हात लागेन।'

कृषि विकास कार्यालय जुम्लाले भने कात्तिकमा स्याउ फुलेर फल्दैमा कुनै अनर्थ नहुने बताएको थियो।

चन्दननाथ नगरपालिका–१२ का अधिकांश किसानको बगैंचामा स्याउमा फूल लाग्नुका साथै दाना लागेर रंग दिइसकेको थियो। स्थानीय किसान भक्तबहादुर रोकायाको चार सय बोटको बगैंचामा अधिकांशमा फूल फुलेको थियो। आधा दर्जनभन्दा बढीमा दाना लागेको थियो।

बेमौसममा फलेको स्याउले अनिष्ट गर्ने भ्रमले पनि किसानले स्याउको जर्गेना गर्नतिर लागेनन्। ६० वर्षीय भक्त धराला भन्छन्, 'बेमौसममा स्याउको फुल निस्कनु र फल दिनुको अर्थ हुँदैन। बेमौसममा स्याउ फलेको देख्दा अचम्म लागेको थियो।'

स्याउ फुल्ने समयमा पानी नपरेको र साउनमा अत्यधिक वर्षा भएर स्याउको काण्डकाण्ड हुँदै जरासम्म पानी पुगेपछि कात्तिकमा फल दिएको तर्क उनको छ।

कृषि अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक वसन्त चालिसले जलवायु परिवर्तनका कारण स्याउले फल दिएको हुन सक्ने बताए। 'कात्तिक र फागुनमा एकैनाशको तापक्रम हुँदा फूल लागेर फल दिएको हो,' उनले भने।

वरिष्ठ वैज्ञानिक चालिसेले स्याउमा लागेको फूल र फल टिपेर फालिदिए उत्तम हुने सुझाएका थिए। तर आगामी वर्ष अहिले फलेको स्याउले फल नदिने उनको भनाइ छ। जिल्लाका अधिकांश स्याउ किसानको बगैंचामा स्याउ फुलेको र फलेको देखिएको थियो।

प्रकाशित: ११ मंसिर २०७३ ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App