१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ट्यांकर मजदुर तीन दिनदेखि हड्तालमा : पूर्वमा पेट्रोलियम अापूर्ति ठप्प

विराटनगरस्थित निगमको क्षेत्रीय डिपो। तस्विरः अजित

विराटनगर— ट्यांकर मजदुरहरूले ‘असम्बन्धित’ माग राखेर हड्तालमा उत्रिँदा नेपाल आयल निगमको विराटनगरस्थित क्षेत्रीय डिपोबाट ३ दिनदेखि पेट्रोलियम पदार्थ आपूर्ति हुन सकेको छैन।

पेट्रोलियम पदार्थको प्राविधिक कुरामा अड्डी कसेर हड्तालमा उत्रिएका ट्यांकर मजदुरको आन्दोलनका कारण इन्धन अभाव हुन थालेको हो।

कात्तिक १ मा निगमसित १५ बुँदे माग राखेका ट्यांकर मजदुरले सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकेका छन् । पटक–पटकको छलफलपछि अधिकतर माग पूरा भएपनि उनीहरूले पेट्रोलियम पदार्थको प्राविधिक कुरामा निहुँ झिक्दै ढुवानी प्रभावित पारेका हुन्।

 हड्तालले सोमबार र मंगलबार बजारमा एक थोपो पनि पेट्रोलियम पदार्थ गएको छैन।  हड्तालका कारण इन्धन अभाव हुन थालेको हो।

डिपो खाली गर्दा होस् वा पार्टी जाँदा, पहुँचको आधारमा नभएर सबैलाई समान रूपले क्रमसः ट्यांकर सञ्चालन गर्नुपर्ने, पेट्रोलियम पदार्थको तापक्रम लिने–दिने सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएसम्म पहिले चलेको प्रक्रियाअनुसार पाइपलाइन खाली गरी चेम्बर २० लिटरका तेल झारी कम्पोजिट स्याम्पल लिइ तापक्रम मापन गर्नुपर्ने र डिपोबाट बिल बनेर बाहिर डिलरसम्म पुग्दा नापजाँचको क्रममा तेल घटबढ हुने हुँदा तापक्रम हेरी अनलोड गर्ने व्यवस्था हुनुपर्ने उनीहरूको मागमा सहमति हुन सकेको छैन।

‘यो प्राविधिक कुरा हो, हामीले यहाँ सहमति गरेर हुनेवाला पनि होइन,’ आयल निगमका क्षेत्रीय प्रमुख दिनेशकुमार यादवले भने, ‘तर, पनि उहाँहरूको माग सम्बोधन हुनु प¥यो भनेर निगमको केन्द्रीय कार्यालयमा लेखेर पठाएको छु ।’

ट्यांकर मजदुरहरूका यी प्राविधिक माग पेट्रोलियम डिलर एसोसिएसनसँग पनि सम्बन्धित रहेकाले आयल निगमले सबैको सहमतिमा पेट्रोलियम पदार्थ आपूर्तिमा देखिएको समस्या समाधान गर्न पहल गरिरहेको यादवले जानकारी दिए ।
ट्यांकरको मुनिबाट तापक्रम मापन गर्नुपर्ने मजदुरको माग अव्यावहारिक रहेको निगमको भनाइ छ । ‘नेपालमा कहीं पनि ट्यांकरको मुनिबाट तापक्रम लिइएको छैन,’ यादवले भने, ‘कि मध्य, कि माथिबाट नै तापक्रम मापन भइरहेको छ, हुँदै नभएको नियम मैले मात्र लागू गरेर हुँदैन ।’ ट्यांकरमा इन्धन लोड गरिएकै दिन निगमसम्म पेट्रोलियम पदार्थ आइपुगे त्यसको पनि तापक्रम मापन गर्नुपर्ने मजदुरको मागमा पनि कुरा मिलेको छैन ।

पेट्रोलियम डिलर्स एसोसिएसन कोसीका उपाध्यक्ष अरबिन्द शर्माले ट्यांकर मजदुरको आन्दोलनले पटक–पटक पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता सधैँका लागि अन्त्य गर्नेगरी छलफल हुनुपर्ने माग गरे।

‘पेट्रोलियम पदार्थ अति आवश्यक सेवा हो, जति बेला मन लाग्यो ठप्प पारिदिने काम गर्नुभएन,’ शर्माले भने, ‘ट्यांकर मजदुरको हड्तालले बजारमा इन्धनको अभाव हुन थालेको छ।’

ट्यांकर मजदुरका अन्य मागमध्ये पार्किङ निर्माणको काम भइरहेको, शौचालय र विश्रामगृहको मर्मतसम्भार भइरहेको निगमले जनाएको छ।निगमको क्षेत्रीय डिपो विराटनगरले दैनिक ८ सय किलोलिटर डिजेल र ३ सयदेखि ३ सय ५० किलोलिटरसम्म पेट्रोलको बिक्री–वितरण गर्छ। ट्यांकर मजदुरको हड्तालले सोमबार र मंगलबार बजारमा एक थोपो पनि पेट्रोलियम पदार्थ गएको छैन। मजदुरले भने आयल निगममा सूचना टाँसेर आफूहरूका सम्पूर्ण माग पूरा नभएसम्म हड्ताल कायमै रहने जनाएका छन्।

    

 

प्रकाशित: ८ मंसिर २०७३ ०५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App