२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

आर्थिक विकासमा इलामको सूर्याेदय सर्वाेत्कृष्ट

नयाँ अवधारणा र कार्यक्रममा चर्चा कमाइरहेको इलामको सूर्याेदय नगरपालिका स्थानीय आर्थिक विकासमा देशकै सर्वाेत्कृष्ट घोषित भएको छ। चालु आर्थिक वर्ष देशभरका २९३ नगरपालिकामध्ये सूर्याेदयले सर्वाेत्कृष्ट भई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको छ।  

नेपाल नगरपालिका संघद्वारा सोमबार आयोजित समारोहमा सूर्याेदयलाई अवार्ड प्रदान गरिएको हो। काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले सूर्याेदयका मेयर रणबहादुर राईलाई अवार्ड हस्तान्तरण गरे।  

प्रशासनविद् काशीराज दाहाल नेतृत्वको मूल्यांकन समितिले देशभरका नगरपालिकाले गरेका कार्यका पाँच क्षेत्रको अध्ययन गरी मूल्यांकन प्रतिवेदन तयार गरेको थियो। आर्थिक विकासतर्फ सूर्याेदयले देशका सबै नगरपालिकालाई उछिनेको हो। नगरले सार्वजनिक सेवा सुदृढ गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायी बनाउने प्रयास गरेको मेयर राईले बताए।

‘सूर्योदय नगरपालिका आफ्ना सबै क्षेत्र परिष्कृत गर्दै चौतर्फी विकासको मार्गमा अघि बढेको छ,’ उनले भने, ‘आर्थिक रचना र प्रणालीले मानिसको विधिपद्धति, मानव सम्बन्धमा परिवर्तन ल्याउन सक्छ। हाम्रो नगरले आर्थिक रचना र प्रणालीलाई आफ्नो कार्यप्रवीणता ठानेको छ। आफ्नो विकासको अवधारणाका रूपमा लिएको छ।’  नगरपालिका पुरस्कृत हुनुले आफूहरूको काममा हौसला थपिएको भन्दै मेयर राईले नगरलाई यो अवस्थामा ल्याउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दललगायत सबै सरोकारवालालाई धन्यवाद दिए। उनले परिवर्तन अनुभूत गर्न समय लाग्ने भन्दै सूर्योदयको मार्ग स्पष्ट रहेको र स्पष्ट चित्र देखिन पनि थालेको जनाए।  

नगरले नागरिकको गुनासो सुन्न वडावडामै ‘गुनासो चौतारी’ कार्यक्रम सञ्चालन गरिरहेको छ। नगरपालिकाको एप्स पनि सञ्चालनमा छ। ठुलो लगानीका दर्जनौं आयोजना सञ्चालन गरिरहेको नगरपालिकाले सामाजिक विकासका क्षेत्रमा गरेको कामले पनि प्रशंसा बटुलिरहेको छ। ‘नगरवासीको चाहना र इच्छालाई अधिकतम सम्बोधन गर्न, सघन अन्तरसम्बन्धमार्फत विकास गर्न यस्ता धेरैभन्दा धेरै सुझावका औजारसमेत व्यवस्था गरेका छौं,’ मेयर राईले भने, ‘हामी निरन्तर नागरिकको सेवामा जुटेका छौं, जुटिरहनेछौं।’

प्रकाशित: ३० फाल्गुन २०७९ ००:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App