१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

वित्तीय साक्षरता राष्ट्रिय अभियान सुरु

नेपाल लघुवित्त बैंकर्स संघले वित्तीय साक्षरता राष्ट्रिय अभियान थालनी गरेको छ। नेपाल लघुवित्त बैंकर्स संघको आयोजनामा कालिका नगरपालिकाबाट सो अभियान सुरु गरिएको हो।

अभियानको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शनिबार शुभारम्भ गर्दै वित्तीय अनुशासन भए आर्थिक रूपमा समस्या नआउने बताए। आफ्नो आवश्यकताभन्दा विलासिताका वस्तुमा बढी खर्च हुँदा वित्तीय दुर्घटना निम्त्याएको उनको भनाइ थियो।

उनले भने, ‘कारोबार गर्ने बेलामा आँखा नदेख्ने पछि रुवायो भन्दै नारा लगाउनु उचित होइन, ऋण लिएपछि तिर्नुपर्छ।’ लगानीकर्तालाई समेत उनले मर्यादित र व्यवस्थित गर्न आग्रह गर्दै सदस्यको वित्तीय साक्षरतामा ध्यान नदिंदा समस्या उत्पन्न भएको तर्क गरे।

नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष वसन्तराज लम्सालले आर्थिक मन्दीले वर्तमान अवस्था सिर्जना भएको बताउँदै संघ र सेवाग्राही जिम्मेवार नबन्दा पनि समस्या उत्पन्न भएको बताए।

लघुवित्तले नियमविपरीतका कार्य गरे राष्ट्र बैंकले नियमन गर्ने बताउँदै अफवाहको पछि नलाग्न उनले आग्रह गरे। लघुवित्त वित्तीय संस्थाले बढी ब्याज लिएको भन्ने सन्दर्भमा उनले अहिले १५ प्रतिशत ब्याज र १.५ प्रतिशत सेवा शुल्क लिएको जनाउँदै त्योभन्दा बढी लिएको भए संघमा खबर गर्न आग्रह गरे।

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले संघको सञ्जाल विस्तार गरी गाउँठाउँमा नै गुनासो सुन्ने र समाधान गर्ने व्यवस्था मिलाउन लागिएको बताए।

लघुवित्तको क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले समेत चासो दिएको र वार्ता भइरहेको जनाउँदै उनले नेपाल राष्ट्र बैंकले समस्या अध्ययन र समाधान समिति गठन गरिसकेकाले त्यहाँ छलफल भइरहेको बताए।

अहिले सदस्यले ऋण तिर्न नसक्ने अवस्था आएको बताउँदै नेपाल राष्ट्र बैंकले अनुमति दिएको खण्डमा म्याद बढाउने, पुनर्ताजगीकरण एवं नवीकरणका प्रक्रिया अघि बढाउने योजनामा रहेको उनले बताए।

लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिका उपाध्यक्ष समेत रहेकी सामाजिक अभियान्ता एलिमा मियाँ खातुनले ऋण लिएपछि स्वभाविक रूपमा तिर्नुपर्ने बताउँदै लघुवित्तका कमजोरी र कर्मचारीका व्यवहार सच्याउन आग्रह गरिन्। यसअघि गत पुसमा लघुवित्त बैंकर्स संघ र संघर्ष समितिबीच १२ बुँदे सहमति भएको उल्लेख गर्दै कतिपय कार्यान्वयनमा पनि आएको उनले बताइन्।

लघुवित्त संस्थाले नै महिला सशक्तीकरण र आत्मनिर्भर बनाउन ठूलो योगदान गरेको बताउँदै दुःख पर्दा संस्थाले पनि सुन्नुपर्ने उनले तर्क गरिन्।

कार्यक्रममा उपकार लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा खत्री, लघुवित्तका ऋणी सदस्यका तर्फबाट हिमादेवी भुसाल भट्टराई, मीना गौतम, कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष दिव्यराज सापकोटा र सुवास पोख्रेलले बोलेका थिए।

सबै जिल्लामा रहेका स्थानीय निकायमा शाखा कार्यालय खोली ६४ लघुवित्त वित्तीय संस्थामार्फत घरदैलोमै वित्तीय सेवा पुर्‍याउँदै आएका छन्। साठी लाख घरधुरी सदस्यले १३ लाख ६७ समूहमार्फत काम गर्दै आएको संघले जनाएको छ। महिलाको वित्तीय साक्षरता, महिला सशक्तीकरण र स्वरोजगार बनाउन ३० वर्षदेखि लघुवित्तको ठूलो योगदान रहेको दाबी गर्दै आएको छ। संघले हरेक जिल्लामा वित्तीय साक्षरता प्रदान गर्न राष्ट्रिय अभियान सुरु गरेको हो। रासस

प्रकाशित: २८ फाल्गुन २०७९ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App