२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सिजनकै मुखमा चिनियाँ पाहुनाका लागि नेपाल खुल्यो, राहतको अपेक्षामा व्यावसायी

पोखरामा चिनियाँ पर्यटक। फाइल तस्बिरः नागरिक

पर्यटन व्यावसायीका अनुसार चिनियाँ पर्यटक नेपाल आउने मुख्य सिजन मार्च–अप्रिल हो। यही सिजनको मुखैमा चीनले आफ्ना नागरिकका लागि लक्षित पर्यटकीय गन्तव्यमा नेपाललाई पनि समेटेको छ। लामो समयदेखि चिनियाँ पर्यटकको पर्खाइमा रहेका पर्यटन व्यवसायी नेपाललाई चिनियाँ पर्यटकको पर्यटकीय गन्तव्यमा पार्ने शुक्रबारको निर्णयपछि खुसी भएका छन्।

चीनले नेपाललाई पर्यटकीय गन्तव्यमा समेट्नका लागि यहाँका व्यवसायीले माग गर्दै आएका थिए। कोभिड संक्रमण पछि चिनियाँ पर्यटक नेपाल आउन पाएका थिएनन्। चीनले यसअघि पहिलो चरणमा नेपाललाई आफ्ना नागरिकका लागि लक्षित पर्यटकीय गन्तव्यमा समेटेको थिएन। त्यसपछि पर्यटन व्यवसायीले नेपाललाई गन्तव्यमा समेट्न विभिन्न माध्यमार्फत चीनसँग आग्रह गर्दै आएका थिए।

तर, मार्च १५ देखि लागु हुने गरि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले चिनियाँ पर्यटकलाई बाहिरी मुलुकमा घुम्न जान पाउने गरि दोश्रोपटक सूँची प्रकाशित गरेको छ। चीनले पहिलो चरणमा प्रकाशित २० मुलुकमा नेपाल समेटिएको थिएन। पहिलो सूँचीमा दक्षिण एशियाका माल्दिभ्स र श्रीलंका मात्र समेटिएकोमा दोश्रोपटकको सूँचीमा नेपाल पनि थपिएको छ। सिजनको बेलैमा चिनियाँ पर्यटकलाई नेपाल आउने बाटो खुलेको भन्दै व्यवसायीले राहत मिल्ने अपेक्षा गरेका छन्।  

नेपाली पर्यटन बजारले दुई छिमेकी मुलुक चीन र भारतबाट भित्रिने पर्यटकबाट राम्रो लाभ कमाउँदै आएको थियो। चिनियाँ र भारतीय पर्यटक पर्याप्त आइदिने हो भने पर्यटन बजार सहजै धानिनेर र आन्तरिक सहित अरु मुलुकका पाहुना पनि थपिँदा पर्याप्त कमाई हुने हुँदा व्यवसायी केहीवर्ष अघिसम्म दंग थिए। अझ चीन र भारतका पाहुना पोखरा घुम्न मरिहत्ते गर्दा त व्यवसायी झनै खुसी थिए।

तर, कोरोना भाइरस संक्रमण सुरु भएपछि बाह्य पर्यटक आगमनमा एकाएक गिरावट आयो। संक्रमणको केही समयसम्म त तेश्रो मुलुकका पाहुनाको आगमन मासिक दुइ अकंमा झरेको थियो। तर, संक्रमण कमजोर हुँदै जाँदा अरु मुलुकका पाहुना नेपाल भित्रिन थालेपनि छिमेकी मुलुक चीनका पर्यटक भने भित्रिन पाएका थिएनन। भारतीय पाहुनाका लागि नेपाल घुमघाममा कुनै रोकतोक नरहेपनि चिनियाँ पाहुनाका लागि भने चीनले नै फुकुवा गरेको थिएन। तर, अब भने व्यवसायीले चिनियाँ पर्यटनबाट लाभ मिल्ने अपेक्षा गरेका छन्।  

‘चिनियाँ पर्यटक आउन पाउनु हामी पर्यटन व्यवसायीका लागि निकै नै खुसीको कुरा हो,’ पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी च्याप्टरका अध्यक्ष धर्मराज पन्थीले भने, ‘सिजनको बेला पारेर चिनियाँ पर्यटकलाई नेपाल आउन पाउने गरि चीनले फुकुवा गरिदिएको छ। यो निकै नै सकारात्मक छ।’  

व्यवसायीका अनुसार पोखरा भित्रिएका चिनियाँ पर्यटक छोटो दूरीको पदयात्रामा जान्छन। त्यसबाहेक यहाँका प्याराग्लाइडिङ र अल्ट्रालाइटमा चिनियाँ पर्यटकको निकै नै रुची हुने गरेको छ। पोखरा भित्रिएका चिनियाँमध्ये करिब ९० प्रतिशतले प्याराग्लाइडिङ गर्ने गरेको व्यवसायीले बताउने गरेका छन्। ‘भारतीय पाहुना त आएका थिए नै, अब चिनियाँ पनि आउन सक्ने गरि फुकुवा भएको छ। यसले पर्यटनमा राहत मिल्ने अपेक्षा छ,’ पन्थीले भने।  

व्यवसायीका अनुसार कोभिड संक्रमण सुरु हुनुअघि पोखराको पर्यटनमा चिनियाँ पाहुनाको हिस्सा निकै नै राम्रो थियो। भारतीय पनि थपिँदा व्यवसाय सहजै चलेको थियो। भारत र चीन बाहेक तेश्रो मुलुक र आन्तरिक पाहुना पनि भित्रिँदा पर्यटक क्षेत्रले वर्षेनी आकार बढाईरहेको थियो। तर, कोरोना संक्रमण सुरु भएपछि भने चिनियाँ पर्यटक आउन पाएका थिएनन। भारतीय र आन्तरिकको भरमा व्यवसाय धान्न सकस भईरहेको व्यवसायीको गुनासो थियो। अब त्यो गुनासो कम हुने अपेक्षा व्यवसायीको छ।  

होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन, ‘पहिलो पटक नेपाललाई पर्यटकीय गन्तव्यमा समेटिएको थिएन। त्यसपछि हामीले नै दुतावासमा गुनासो गरेका थियौ। किनकी चिनियाँ पाहुना हाम्रा लागि पर्यटन व्यवसाय टिकाउने आधार हो। दूतावासले हामीलाई दोश्रोपटकमा समेट्ने आश्वासन पनि दिएको थियो, त्यही अनुसार भएको छ।’  

चिनियाँ पाहुना नेपाल भित्रिनु पर्यटन क्षेत्रका लागि निकै नै सुखद पक्ष रहेको संघका अध्यक्ष सुवेदीले बताए। ‘हामीले चाहेका पनि थियौ। किनकी चिनियाँ पर्यटक ठुलो आकारमा आउने र उनीहरु भित्रिँदा सबैखाले पर्यटनलाई राहत मिल्ने थियो। त्यही भएर हामीले पहल गरेका थियौं,’ उनले भने। चिनियाँ पर्यटकीय गन्तव्यमा नेपाल समेटिएसँगै अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म चीनको कुनै एउटा सहरबाट सिधा हवाई सम्पर्क बढाउने हो भने पोखराले साच्चै चिनियाँ पर्यटनबाट लाभ पाउने उनले बताए। ‘विमानस्थल चिनियाँ कम्पनिले नै बनाईदिएको हो। त्यसबाहेक ऋण पनि चीनले नै दिएको हो। अब चीनको कुनै एउटा सहरबाट पोखरासम्म सिधा हवाई उडान राखिदिने हो भने त्यसले थप राहत दिलाउँछ,’ उनले भने।  

पर्यटन मन्त्रालयको तथ्यांक अनुसार सन् २०१८ मा नेपालमा १ लाख ५३ हजार ६३३, २०१९ मा १ लाख ६९ हजार ५४३, २०२० मा १९ हजार २५७, २०२१ मा ६ हजार १९८ र २०२२ मा ९ हजार ५२४ जना चिनियाँ पर्यटक नेपाल आएका थिए। सन् २०२३ को पहिलो महिना जनवरीमा नेपाल भित्रिने चिनियाँ पाहुनाको संख्या १४ सय ३१ र फेब्रुअरीमा २२ सय ६६ थियो । मार्चमा यो आकार अझ बढ्ने व्यवसायीको अपेक्षा छ।

सन् २०१४ मा एकलाख २४ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए। त्यो संख्या भूकम्पका कारण घटेर सन् २०१५ मा ६५ हजारमा झरेकोमा सन् २०१६ र २०१७ मा आगमन बढेर एकलाख चार हजारमा उक्लिएको थियो। व्यावसायीका अनुसार चिनियाँ पाुहना समूहमा हिँड्छन्। अधिकांश प्याकेजमा मात्र यात्रा गर्छन्। किनमेल र आकाशमा हुने साहसिक गतिविधि (अल्ट्रालाइट, प्याराग्लाइडिङ) मा निकै नै रमाउँछन्। पोखरामा अहिले चिनियाँ पर्यटकलाई मात्र सेवा दिने होटल र रेस्टुरेन्ट झन्डै डेढदर्जन छन्।

चीनले आफ्ना नागरिक घुम्न जाने देशका लागि विशेष अनुमति दिने गरेको छ। चिनियाँको ‘एप्रुभ्ड डेस्टिनेसन स्टाटस (एडिएस)’ मा नेपाल पनि छ। एडिएसमा पर्नु भनेको त्यो मुलुकमा घुम्न जान आफ्ना नागरिकलाई अनुमति दिएसरह हो। न्यून संख्यामा चिनियाँ नागरिक नेपाल भित्रिरहेको बेला चीनले सन् २००२ मा नेपाललाई ‘एडिएस’मा राखेको थियो। एडिएस मुलुकमा घुम्न चीनले नागरिकलाई विशेष प्रोत्साहन दिन्छ। एडिएस नपाएको देशमा घुम्न जान चिनियाँ नागरिक अलि हिच्किचाउँछन्।

सन् २००२ मा नेपालले एडिएस पाएपछि मात्र चिनियाँ नागरिकले पर्यटकको रुपमा नेपाल आउन थालेका थिए। सन् २००० अघि चिनियाँ नागरिकलाई पर्यटकको रुपमा नेपाल घुम्ने अनुमति थिएन। सन् २००० अघि ‘अफिसियल’ भ्रमणमा सीमित चिनियाँ नेपाल आउने गरेका थिए।

प्रकाशित: २७ फाल्गुन २०७९ १०:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App