१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएकी छन्।

गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने  थाहा पाएपछि उनले कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बाणीबाट गड्यौला ल्याएर मल उत्पादनमा लागेका हुन्। ‘दुई वर्षअघि बैंकबाट पाँच लाख रुपैयाँ ऋण लिएर गड्यौला मल उत्पादन र बाख्रापालन सुरु गरेकी थिएँ’, उनले भनिन्, ‘अहिले गड्यौला मलको माग धेरै बढेको छ, माग धान्नै सकस छ।’

जोशीले अहिले मल बिक्रीबाटै आत्मनिर्भर भएको बताइन्। मल उत्पादनका लागि उनले बाख्रापालनसमेत गरेकी छन्। रासायनिक मलको विकल्पका रूपमा गड्यौला मलको प्रयोग गर्दा उत्पादन पर्याप्त हुने भएकाले पछिल्लो समय किसानले गड्यौला मल प्रयोग गर्न थालेका छन्। ‘रासायनिक मलले भन्दा गड्यौला मलले उत्पादन राम्रो हुन्छ।’ उनले भनिन्,‘केही समयअघिसम्म यसबारे ज्ञान नभएर प्रयोग गर्न डराउँथे।’

पछिल्लो समय केही किसानले धान, गहुँ, उखु र तरकारीखेतीमा गड्यौला मल प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएको देखेपछि यसको माग बढेको जोशी बताउँछिन्। ‘अहिले मलको माग धेरै छ, मागअनुसार उपलब्ध गराउन सकेकी छैन’, उनले भनिन्, ‘तरकारी र फूलमा प्रयोग गर्नका लागि यो मल बढी लैजाने गरेका छन्।’

उनले मल र बाख्राबाट वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताइन्।

गोबर तथा खेतबारीबाट निस्कने कुहिने फोहरबाट मल उत्पादन गर्न सकिने जोशीले बताइन्। ‘कुहिने फोहरबाट समेत गड्यौला मल उत्पादन गर्न सकिन्छ’, उनले भनिन्, ‘बेलाबेलामा सिँचाइ गर्नुपर्छ, धेरै मेहनत लाग्दैन।’

गड्यौला मलले माटोको उर्वराशक्ति बढाउनुका साथै थोरै लागतमा धेरै उत्पादन गर्न सकिन्छ। यसका साथै मानवीय स्वास्थ्य र वातावरणीय सुधारका लागि पनि गड्यौला मलको प्रयोग गर्नु उपयुक्त हुन्छ। गड्यौला मल प्रतिकिलो ३५ रुपैयाँका दरले बिक्री हुने गरेको जोशीले बताइन्।

उनले भनिन्, ‘गड्यौला प्रतिकिलो तीन हजार रुपैयाँका दरले बिक्री हुन्छ।’

जोशीले गड्यौला र मल दुवै बेच्दै छिन्। पछिल्लो समय यहाँका अन्य किसानले पनि गड्यौला मलको उत्पादन गर्न थालेका छन्। ‘यसमा धेरै मेहनत लाग्दैन, एकपटक गड्यौला ल्याएर राखे पुग्छ’, जोशीले भनिन्। रासस  

प्रकाशित: २६ फाल्गुन २०७९ ०४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App