६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

आइटिबी बर्लिनमा नेपालको पर्यटन प्रवद्धर्न

पाटा सम्मेलन पोखरामा हुने

जर्मनको बर्लिनमा भएको आइटिबि बर्लिनमा सहभागि नेपाली प्रतिनिधि छलफलमा जुट्दै। तस्बिरः नागरिक

यूरोपियन मुलका पर्यटक भित्र्याउने लक्ष्य सहित जर्मनीको बर्लिनमा आयोजित ‘आइटिबी बर्लिन’मा नेपालबारे प्रवद्धर्न गरिएको छ। कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा यूरोपियन मुलका पर्यटक भित्र्याउन यो प्रवद्धर्नले सघाउने व्यवसायीको अपेक्षा छ।  

जर्मनको बर्लिनमा आयोजित यो मेलामा नेपालका २४ वटा पर्यटन आवद्ध कम्पनिले सहभागिता जनाएका छन्। नेपालको तर्फबाट पर्यटन मन्त्रालय, पर्यटन बोर्ड सहित व्यवसायि सहभागि छन्। मार्च ७ देखि ९ सम्म यो फेयर संचालन भएको हो। फेयरमा सहभागि पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालका २४ कम्पनिले स्टल राखेर बजारीकरण गरेको बताए। ती मध्ये पोखरेली व्यवसायी समेत सहभागि रहेको उनले बताए। विश्वभरका पर्यटन क्षेत्रका टुर अपरेटर्सहरु आइटिबी बर्लिनमा सहभागि रहेको उनले बताए।

‘यूरोपियन बजारमा यो मेला निकै नै राम्रो हो। यस्ता फेयरमा भाग लिन सक्ने हो भने धेरै भन्दा धेरै यूरोपियन पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ,’ परिषद् अध्यक्ष श्रेष्ठले भने, ‘कोरोना भाइरस संक्रमणपछि पर्यटन क्षेत्र उकासिन सकेको छैन। यूरोपियन मुलुकका पर्यटकलाई नेपालसम्म आकर्षण गर्नका लागि यो बजारीकरण महत्वपूर्ण माध्यम हुने अपेक्षा गरिएको हो। यसले आगामि दिनमा पाहुना आगमन बढाउने अपेक्षा छ।’ 

श्रेष्ठका अनसार कोभिड संक्रमणपछि पहिलो पटक प्रत्यक्ष रुपमा यो फेयर आयोजना गरिएको हो। यसअघि भर्चअल माध्यमबाट सहभागिता जनाएको थियो।  

बर्लिनस्थित नेपाली राजदुतावासका अनुसार नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाल साँझ’ पनि आयोजना गरिएको छ। उक्त कार्यक्रममा नेपालको पर्यटन, कला र संस्कृतिका विविध पक्षको प्रवद्र्धन गरिएको थियो। कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालको पर्यटनका पक्षबारे बिचार राखेका थिए।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले पर्यटन, कला र संस्कृति, नेपालमा जर्मनीको लगानी, व्यापार लगायत द्विपक्षीय विषयमा बिचार राखेका थिए। सोही कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिृकत डा. धनन्जय रेग्मीले नेपालको पर्यटनका सम्बन्धमा प्रस्तुती राखेका थिए।  

पाटा सम्मेलन पोखरामा

यसैबीच एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक सम्मेलन र मार्ट आगामि मे २९ देखि जुन १ सम्म पोखरामा हुने भएको छ । यो सम्मेलन हरेक वर्ष फरकफरक ठाउँमा हुने गर्छ। नेपालमा पहिलोपटक यस्तो सम्मेलन हुन थालेको हो। यसअघि पाटा एडभेन्चर मार्ट भने केहीवर्ष अघि नै पोखरामा पनि भएको थियो। पहिलोपटक पोखरामा हुने यो मार्टले पर्यटन क्षेत्रका लागि विशेष अर्थ राख्ने व्यवसायीको भनाई छ।

वार्षिक सम्मेलन नेपालमै पहिलोपकटक हुन थालेको पाटाका अन्तर्राष्ट्रिय सदस्य समेत रहेका व्यवसायी टीकाराम सापकोटाले बताए। सापकोटाका अनुसार यो सम्मेलनमा विश्वभरका पर्यटनसम्बन्द्ध व्यवसायी, विज्ञ, संघसंस्था सहभागि हुन्छन्। पोखरामा हुने सम्मेलनमा पाटा कार्यसमिति, बोर्ड सदस्य, सल्लाहकार लगायतका सहभागि हुनेछन। पर्यटन बारेको पछिल्लो अवस्था, हवाई सुरक्षा र संचालन, समुदायमा आधारित ग्रामिण पर्यटन लगायतबारे सम्मेलनमा छलफल हुनेछ।

कम्तिमा चारसय अन्तर्राष्ट्रिय पाहुना त्यो सम्मेलनमा सहभागि हुन पोखरा आउने सापकोटाले बताए। ‘पोखराका लागि यो निकै नै महत्वपूर्ण अवसर हो। यसले विश्वभरमा पोखराको पर्यटन प्रवद्र्धन गर्न सघाउँछ,’ सापकोटाले भने, ‘बजारीकरणमा यस्तो सम्मेलनको विशेष महत्व राख्छ।’ पर्यटनसँग सम्बन्धित विज्ञ सहित ट्राभल तथा टुर अपरेटर पनि यो सम्मेलनमा सहभागि हुने हुँदा पर्यटन प्रवद्र्धनका लागि यो सम्मेलनले महत्वपूर्ण योगदान दिने सापकोटाले बताए।  

‘पोखरामा पहिलो पटक हुन थालेको यो कार्यक्रममा सामुहिक र भिन्दाभिन्दै छलफल हुनेछ । त्यसबाहेक विभिन्न सत्रमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेर्छन। व्यापक छलफल सहितको कार्यक्रम हो,’ उनले भने, ‘त्यही कार्यक्रममा सहभागि हुन अन्तर्राष्ट्रियस्तरका टुर अपरेटर्स पनि पोखरा आउने हुँदा यसको महत्व छ।’ संसारभरका टुर अपरेटर्सलाई पोखरामा भित्र्याउने गतिलो माध्यम बनेको उनले बताए। पोखरा र आसपासका पर्यटकीय गन्तव्यबारे विश्वको पर्यटन बजारमा चिनाउने महत्वपूर्ण मौका पनि यो सम्मेलन हुने उनले बताए। कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रको प्रवद्धर्नका लागि यो सम्मेलन निकै नै प्रभावकारी हुने सापकोटाले बताए। 

प्रकाशित: २५ फाल्गुन २०७९ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App