५ पुस २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चितवनमा यान्त्रिकरणको बिस्तारले खेती गर्न सहज

चितवनमा यस वर्ष चैते धानको रोपाईंमा कृषि यान्त्रिकरणको प्रयोग बढेको छ। गत वर्ष करिब जम्मा ६० विगाह क्षेत्रफलमा पुग्ने गरी आधुनिक कृषि प्रविधिमार्फत मेसिनबाट चैते धान रोपेकोमा यस वर्ष बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवनले जनाएको छ। परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख एवम् वरिष्ठ कृषि विकास अधिकृत धनबहादुर थापामगरका अनुसार यसवर्ष चितवनमा १३० विगाह क्षेत्रफलमा रोप्न पुग्ने गरी बिउ राखिएको छ।

खैरहनी नगरपालिकाको वडा नं. १० र ११ मा पर्ने साविकको कठार क्षेत्र र कुमरोज क्षेत्रमा पर्ने वडा नं. १२ र १३ मा यसको प्रयोग बढेको छ। यस्तै रत्ननगर नगरपालिकाको वडा नं. ५, ६ र ७ पर्ने झुवानी र बछौली क्षेत्रमा पनि यस वर्ष आधुनिक प्रविधिमार्फत धान रोप्ने किसान बढेको उनले बताए।

गत वर्षको अभ्यासले कृषकहरूलाई यान्त्रिकरणतर्फ आकर्षित गराएको उनले बताए। कृषिमा आधुनिकीकरण गराउँदा किसानको लागत मूल्य घट्नुका साथै उत्पादन बढ्ने हुँदा किसानले यसतर्फ विशेष चासो देखाउने क्रम बढ्दै गएको उनको भनाइ छ।

कृषि यान्त्रिकरण र प्रविधिबाट धान उत्पादनको लागत २५ प्रतिशतले घटेको थापाको दाबी छ। ‘प्रतिबिघामा ४० बिघा बिउ लाग्ने ठाउँमा मेसिनबाट धान रोप्दा प्रतिबिघा १२ केजी धान राखे पुग्छ, थापाले भने, ‘परम्परागत तरिकाबाट रोपाइँ गर्दा र थन्काउँदासम्म प्रतिबिघा १२ हजार रूपैयाँ खर्च हुन्छ तर मेसिनबाट ५ हजार रूपैयाँमै किसानले रोपाइँ गर्नुहुन्छ।’ अहिले चितवनमा धान रोप्ने मेसिनको माग बढेको थापाले बताए। ‘हामी पहिले किसानलाई आधुनिक तरिकाबाट धान रोप्नुभन्दै अनुरोध गर्नुपर्थ्याे। अहिले जुन टोलमा पुगे पनि धान रोप्ने मेसिनको माग गर्नुहुन्छ’, उनले भने।

खेती गर्न सहज हुँदै गएपछि किसानहरू आधुनिक प्रविधिमा विस्तारै अभ्यस्त हुँदै गएका छन्। खैरहनीको कठारमा महिला साना किसान कृषि सहकारी संस्थाले ३० बिघा क्षेत्रफलमा रोप्न मिल्ने गरी एकै ठाउँमा सामुदायिक नर्सरी बनाएको छ।

यसले लगत मूल्य समेत कम पर्न जाने परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकारी एवम् कृषि अधिकृत इन्द्र शर्मा ढुंगाना बताउँछन्। मेसिनबाट धान रोप्नका लागि ट्रेमा बिउ राख्नुपर्दछ तर अहिले चितवनका किसानले प्लाष्टिकको म्याट बनाएर पनि बीउ राख्दै आएका छन्। ट्रे नभएको अवस्थामा लागत खर्च घटाउन प्लाष्टिकको म्याट उपयुक्त देखिएको उनले बताए।

मेसिनबाट धान रोप्दा उत्पादकत्व बढ्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेल बताउँछन्। ‘मेसिनबाट धान रोप्दा रोपाईं एक लाइनको हुन्छ। त्यसबाट हावा छिर्न पाउँदा रोग किरा कम लाग्ने हुन्छ,’ उनले भने, ‘गाँजको संख्या पनि बढी हुँदा उत्पादन बृद्धि हुन्छ।’ साधारण अवस्थामा पनि मेसिनबाट धान रोप्दा २० देखि ३० प्रतिशत उत्पादकत्व बृद्धि हुने योजना अधिकृत पौडेल बताउँछन्। चितवनको धान जोन क्षेत्रमा उत्पादकत्व ४ दशमलव ६७ प्रतिशत रहेको छ।

मेसिनबाट धान रोप्ने कार्यक्रम यस वर्ष यही फागुन १४ गतेदेखि रोप्न सुरू गरिएको छ। बछ्यौलीकी लक्ष्मी चौधरी पनि धान रोप्ने तयारीमा छन्। विगतमा परम्परागत रूपमा धान रोप्दै आएकी चौधरीले पहिलो पटक आधुनिक मेसिनबाट रोप्न लागेकी हुन्। ‘मेरो ४ बिगाहामा छ। पहिलो पटक मेसिनबाट धान रोप्न लागेकी हुँ। सरहरू आएर (कृषि प्राविधिक) सिकाइरहनुभएको छ,’ उनले भनिन् ‘४ विघामा ४ मुरी बीउ राख्नुपर्दथ्यो। अहिले दुई मुरी बीउ राखेकी छु। खेतला पनि कम लाग्ने हुँदा सजिलो भएको छ।’  

प्रकाशित: २५ फाल्गुन २०७९ ०१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App