१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बैंक विरुद्ध २८ उद्योग वाणिज्य संघ सडकमा

विरोध प्रदर्शनमा सहभागी उद्योग वाणिज्य संघका प्रतिनिधिहरू।

बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर कायम गरेको र अनावश्यक दुःख दिएको भन्दै बागमती प्रदेशका २८ वटा उद्योग वाणिज्य संघ सडकमा उत्रिएका छन्। बुधबार उनीहरुले प्रदेशको राजधानी हेटौंडामा विरोध प्रदर्शन गरेका हुन्।

विरोध प्रदर्शनमा सहभागी उद्योग वाणिज्य संघका प्रतिनिधिहरू।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा बागमती प्रदेशका २८ वटा जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिले विरोध प्रदर्शन गरेका हुन्। बैंक तथा वित्तीय संस्थाको चर्को व्याज र अनावश्यक दबाबका कारण प्रताडित हुनुपरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।

बुधबार २८ वटा संघले हेटौंडामा प्रदर्शन गरेका हुन्। उद्योग वाणिज्य संघको पल्पसा हलबाट सुरु भएको र्‍याली हेटौंडा बजार परिक्रमा गर्दै बुद्ध चोकमा पुगेर धर्नामा परिणत भएको थियो।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठले राज्यको कारण उद्योगी व्यवसायी अनेक समस्याबाट गुज्रिँदै आएकोमा बैंकको ब्याजदर वृद्धिले थप पीडित हुनुपरेको जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्योगी व्यवसायी अर्थतन्त्रका चालक भएको स्मरण गराउँदै व्यवहारिक मौद्रिक नीति लागू गर्न सरकारलाई सुझाव दिए। महासंघका अर्का उपाध्यक्ष दिनेश श्रेष्ठले अर्थतन्त्र असहज भएको समयमा निक्षेपमा व्याज बढाउनु गलत भएको धारणा राख्दै राष्ट्र बैंक र अर्थ मन्त्रालयले आवश्यक पहलकदमी नलिएको बताए।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताले बैंकका कारण उद्योगी व्यवसायीले भोग्दै आएको समस्या समाधानमा दबाब दिने उद्देश्यले शान्तिपूर्ण आन्दोलन गरिएको जानकारी दिए।

‘ब्याजदर बढाउने, अनावश्यक दुःख दिने, जग्गा लिलामीको चेतावनी दिने लगायतका कार्यले उद्योगी व्यवसायी धेरै प्रताडित हुनुपरेको छ’, गुप्ताले भने, ‘हामी शान्तिपूर्ण आन्दोलन गरिरहेका छौँ। हामीले उठान गरेका मुद्दाहरूको सुनुवाई हुनेछ भन्ने विश्वास लिएका छौँ।’

धर्नामा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसहित मकवानपुर र विभिन्न जिल्लाका संघका प्रमुख प्रतिनिधिहरू सहभागी थिए। जारी आन्दोलनका कार्यक्रम अन्तर्गत बिहीबार  बैंकमा १ घण्टा धर्ना, २६ गते बैंकमा २ घण्टा धर्ना, २८ गते बैंकमा डिपोजिट बन्द, २९ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द र ३० गते शान्तिपूर्ण बैंक बन्द गराउने कार्यक्रम रहेको मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोदसिंह रानाभाटले जानकारी दिए।

विरोध कार्यक्रममा प्रदेशका उद्योग वाणिज्य संघहरु सहित मकवानपुरमा क्रियाशील नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ, होटल एसोसिएसन, कपडा तथा तयारी पोसाक व्यवसायी संघ, मकवानपुर फर्निचर व्यवसायी संघ, मकवानपुर सुनचाँदी व्यवसायी संघ, मकवानपुर मदिरा व्यवसायी संघ लगायत संस्थाका प्रतिनिधिहरू समेत ब्यानर सहित उपस्थित भएका थिए।

प्रकाशित: २४ फाल्गुन २०७९ १२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App