१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

त्रियुगाको पूर्वाधार निर्माणमा विश्व बैंकले सघाउने

त्रियुगा नगपालिका। तस्वीर: महेश्वर/नागरिक

सदरमुकाम त्रियुगा नगपालिकाका विभिन्न ४ वडाको भौतिक पूर्वाधार निर्माणतर्फ विश्व बैंकको सहयोगमा झण्डै दर्जन योजना निर्माण हुने भएका छन्।

नगरपालिकाका १०, ११, १२ र १३ नं. वडामा वल्र्ड बैंंकको सहयोगमा पूर्वाधार निर्माणका योजनाहरू सञ्चालन हुन लागेका हुन्। त्रियुगा नगरप्रमुख बसन्त बस्नेतका अनुसार ती ४ वडामा विभिन्न ९ वटा फरकफरक भौतिक पूर्वाधार संरचना निर्माणका योजनामा विश्व बैंकले लगानी गर्ने भएको छ। सहरी विकास मन्त्रालयमार्फत ‘सहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम (युजीआईआईपी)’अन्तर्गत सदरमुकाम क्षेत्रका वडाहरूमा काम गर्न सर्वेक्षण काम सुरु भएको बस्नेतले बताए।

उनका अनुसार ‘बोटेक बस्फरस टेक्निकल कन्सल्टिङ कर्पोरेसन’ नामक कन्सल्टेन्सीले विभिन्न योजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गर्ने काम थालिसकेको छ। सोही अनुसार नगरका बजारक्षेत्रमा सडक स्तरोन्नति, नाला निर्माण तथा कालोपत्रेको काम हुनेछ। नगरपालिकाको गाईघाट बजारक्षेत्रको टाउन प्लानिङभित्र पर्ने सडकलाई एकापसमा जोडेर स्तरोन्नतिसहितको कालोपत्रे गर्ने काम वल्र्ड बैंककै सहयोगमा हुने मेयर बस्नेतले बताए।

नगर उपप्रमुख महेश्वरी राईले वल्र्ड बैंकको सहयोगले गाईघाटको विकासमा स्वरूप नै परिवर्तन हुने अपेक्षा गरिएको बताइन्। आधारभूत विकासका कामहरू यसअघि नै भइसके पनि पूर्णरूपमा विकास गर्न बाँकी रहेको गाईघाटका लागि निकै ठूलो लगानीको खाँचो भएकाले वल्र्ड बैंकले लगानी गर्नु उत्साहप्रद रहेको उपमेयर राईले बताइन्।

नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले मुख्य रूपमा बजारको पुरानो टाउन प्लानिङ क्षेत्रभित्र पर्ने सडक सञ्जाललाई जोड्ने गरी लिंक रोड निर्माण गर्ने योजना रहेको बताए। त्यस्तै कन्सल्टेन्सीले मध्यगाईघाटको टाउन प्लानिङदेखि बोक्से जाने सिटीहल–सिमलटार सडक, बाबारानी–डिएम गेट, पिजी चोक–फुलचोक–बोटे टोल हुँदै त्रियुगा करिडोर सडक तथा शिवालय टोल–करमगाछी जोड्ने खण्डको सडक निर्माण गर्नेछ।

त्यसैगरी प्रगतिटोल–साकेला टोल, सगरमाथा कृषि बजार पश्चिमतर्फबाट जनप्रेमी टोल हुँदै बिसनपुर जोड्ने त्रियुगा करिडोरसँग जोड्ने सडक पनि वल्र्ड बैंकको छनौटमा परेका छन्। कन्सल्टेन्सीले तयार गर्ने डिपिआर प्रतिवेदन अनुसार नगरपालिकाले सभाबाट पारित गर्दै आगामी वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी योजना अघि बढाउने छ। नगरसभाबाट पारित गरेर सहरी विकास मन्त्रालयमा सिफारिस भएका योजनाहरू मन्त्रालयमार्फत वल्र्ड बैंक पुगेपछि सञ्चालनमा आउनेछन्।

नगरपालिका पूर्वाधार विकास समिति संयोजकसमेत रहेका १६ नंं. वडाध्यक्ष मानबहादुर राईले गाईघाटलाई पूर्णरूपमा विकास गर्न करोडले नभएर अर्बौं लगानी चाहिएको हुनाले वल्र्ड बैंकसँग सहयोग मागिएको बताए। नगरपालिकाको आग्रह अनुसार वल्र्ड बैंकले गाईघाट बजार क्षेत्रको सहरी विकासमा ३ अर्ब हाराहारी लगानी गर्ने प्रारम्भिक सम्झौता भईसकेको राईले बताएका छन्।  

सदरमुकाम रहेको वडा नं. ११ का वडाध्यक्ष सुमन्त कोइरालाका अनुसार सदरमुकाम भए पनि सीमित स्रोत साधनका कारण बजार क्षेत्रलाई भनेजस्तो विकास गर्न सकिएको छैन। ०२८/२९ सालमा तत्कालीन जिल्ला पञ्चायतले बजारमा टाउन प्लानिङ गरेर जमिन वितरण गरे पनि पर्याप्त बजेट अभावमा त्यसको व्यवस्थापन गर्न नसकिएकाले अझै पनि थुप्रै संरचना निर्माण गर्न बाँकी रहेको कोइरालाले बताए।

साविक वैकल्पिक लोकमार्ग धरान–चतारा–गाईघाट–कटारी हुँदै सिन्धुली हेटौडा जोड्दै हाल पूर्वमा झापाको बाहुनडाँगीदेखि पश्चिममा डडेलधुराको रूपालसम्म जोड्ने १ हजार २ सय किलोमिटर लामो मदन भण्डारी लोकमार्ग गाईघाट बजारको बीच भएर अघि बढेको छ। तर, सो सडकसँग दायाँ बायाँ जोडिएका शाखा सडकहरू कतिपय ग्राबेल मात्र र कालोपत्रे नहुँदा बजारक्षेत्रकै स्वरूप धमिलो देखिएको स्थानीय बताउँछन्।

नगरभित्रका योजना निर्माणका लागि वल्र्ड बैंकले के कति लगानी गर्ने भन्ने यकिन भने भएको छैन। मेयर बस्नेतका अनुसार आवश्यकता र औचित्यको आधारमा करोड होइन अर्बौं लगानी गर्न विश्व बैंक तयार रहेको छ। डिपिआरको आधारमा, स्थानीय सहभागिता र नेपाल सरकारको साझेदारीमा जति पनि लगानी गर्न सक्ने मनसाय बैंकले व्यक्त गरेको उनको भनाइ छ। ‘यति उति भन्ने छैन, आवश्यकताको आधारमा जति पनि लगानी गर्न सक्छ’ बस्नेतले भने ‘डिपिआर र प्राविधिक एस्टिमेटको आधारमा लगानी गर्ने हो, त्योसँगै स्थानीय सहभागिता र नेपाल सरकारको साझेदारीले पनि लगानी रकम निर्धारण हुन्छ।’

प्रकाशित: २२ फाल्गुन २०७९ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App