१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

मुगुको रारा भिलेज रिसोर्ट सञ्चालनमा

तस्वीरहरु सौजन्य ः इन्जिनियर कृष्णभक्त दुवाल

मुगु जिल्लाको रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा आएको छ । शुक्रबार धार्मिक मान्यता अनुसार पूजाआजा गरी रिसोर्ट सञ्चालनमा ल्याइएको जनाइएको छ ।  

मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटक भित्राउन व्यवस्थित पहल जरुरी रहेको र आन्तरिक तथा बाह्य पर्यटकका लागि खाना तथा बसोवासका लागि स्तरीय होटल निर्माण गरी पर्यटकका लागि सुविधा प्रदान गर्न जरुरी रहेको विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याइएको जनाइएको छ । स्थानीय जनताको समेत जीवनस्तर एवं दैनिकीमा सुधार ल्याउन योगदान गर्ने लक्ष्य रहेको जनाइएको छ ।

रारा भिलेज रिसोर्ट प्रालिका अध्यक्ष अनुप विक्रम शाहले हाललाई ५ करोडको पुँंजीमा रिसोर्ट सञ्चालनमा ल्याइएको जनाए । मुर्मा कोटमा २० कोठाको हलसहित रिसोर्ट सञ्चालनमा ल्याइएको अध्यक्ष शाहले जनाए । मुगुको रारामा  २० रोपनी जग्गाको क्षेत्रफलमा रिसोर्ट रहेको अध्यक्ष शाहले जानकारी गराए । मगुको रारा ताल लगायतको पर्यटन प्रबद्र्धन गरी स्थानीयको जीवनस्तरलाई उकास्न सहयोग पुयाउने उद्देश्यले रिसार्ट सञ्चालनमा ल्याएको उनले जनाए ।

रिसोर्ट सञ्चालक मध्येका एक इन्जिनियर कृष्णभक्त दुवालका अनुसार रारामा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सख्या बर्षेनी उल्लेख्य रुपमा बढ्दै गएको तथ्यांक छ । यो क्रम अत्यधिक रुपले बृद्धि हुदै गएको पनि देखिन्छ । अत्यन्त मनोरम र प्राकृतिक दृष्यहरुले राराको भ्रमणलाई पटकपटक जान मन गर्ने भएकोले सख्या पनि उल्लेख्य देखिन्छ । विदेशी पर्यटकका लागि त यो लामो बसाईको रोजाइमा पर्ने स्थान पनि हो । यही विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याइएको उनले जनाए ।

रारा तालको भ्रमणमा जानेहरुलाई बसोवास र खानाका लागि हाल ताल किनारमा रहेका अस्थाई प्रकृतिका होटलहरु रहेका कारण पनि उपलव्ध सेवाहरु गुणस्तरीय र सुलभ हुन सकेका छैनन् भने पर्यटकका लागि आवश्यक अन्य सेवाहरु त शून्य प्राय रहेका छन् । बर्षेनी बढ्दो दरमा रहेका पर्यटकका लागि थप होटलको व्यवस्था आवश्यक भैसकेको छ । यही आवश्यकता र श्रृजित अवसरका कारण रारा भिलेज रिसोर्ट कम्पनीको सक्रियतामा रारातालवाट नजिकमा रहेको गाउँ मुर्माको कोट भन्ने स्थानसहित तीन ठाउँंमा होटल निर्माण गरी सेवा सुरु गरेको जनाइएको छ ।

नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म रहेका विभिन्न पेशामा आवद्ध रहेकाहरुको लगानी लगाई एउटा सुशासित, पारदर्शी र नमूना होटल प्रारम्भ गर्ने योजना तथा कायक्रम रहेको सञ्चालकहरुले जनाएका छन् । सानो लगानीवाट प्रारम्भ गरी यसैको आम्दानीवाट क्रमश लगानी थप्दै जाने र बिस्तार गर्ने योजना रहेको उनीहरुले जनाए । यसअघि रिसोर्ट भबनको बैशाख ६ गते शुक्रबार शिलान्यास गरिएको थियो ।

प्रकाशित: १९ फाल्गुन २०७९ १५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App