२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

चितवनमा त्रिशुलीको नागबेली स्वरुप र राजमार्ग नियाल्दै प्याराग्लाइडिङमा उड्न पाइने

चितवनको भरतपुर महानगरपालिका–२९ चौकीडाँडाबाट उडान गरेको प्याराग्लाइडिङका पर्यटक त्रिशुली नदीको आकाशमा रमाउँदै। तस्बिरः नागरिक

पर्यटकीय गन्तव्य चितवनको सौराहा जंगल सफारीका लागि चर्चित छ। जंगलमा सफारी गर्दै जंगली जनावर हेर्ने त्यहाँ पुगेका जोसुकै पर्यटकको चाहना हुन्छ। त्यही अनुसार त्यहाँ पूर्वाधार पनि तयार छन्। तर, अब चितवनको आकाशमा हवाई गतिविधि पनि गर्न पाइने भएको छ। चितवनमा नयाँ पर्यटकीय प्रडक्टको रुपमा प्याराग्लाइडिङ थपिएको छ।  

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हिमालय फन्टियर्स प्याराग्लाइडिङ कम्पनिलाई चितवनमा व्यवसायिक रुपमा मनोरञ्जनात्मक हवाई गतिविधिका रुपमा प्याराग्लाइडिङ उडानका लागि अनुमति दिएको छ। कम्पनिले चितवनको भरतपुर महानगरपालिका–२९ चौकीडाँडाबाट उडान गर्न पाउने गरि प्राधिकरणबाट अनुमति पाएको छ। चितवनमा प्याराग्लाइडिङ उडान गर्न पाउनेगरि अनुमति पाएको यो नै पहिलो कम्पनि हो।

हिमालय फन्टियर्सका संचालक शैलेन्द्र रावतका अनुसार आगामि चैत १५ देखि चितवनमा व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु हुँदैछ। ‘टेण्डम (व्यवसायिक) उडानका लागि हामीले प्राधिकरणबाट अनुमति पाएका छौं। चैत १५ देखि व्यवसायिक उडान थाल्दैछौ, चितवनको पर्यटन क्षेत्रका लागि नयाँ प्रडक्ट भित्रिएको छ,’ रावतले भने, ‘चितवनको पर्यटन व्यवसाय अब जंगलका गतिविधिमा मात्र सिमित रहेन, आकाशमा हुने साहसिक हवाई मनोरञ्जनात्मक खेलकुद गतिविधिमा पनि उत्तिकै अब्बल हुनेछ।’

रावतका अनुसार मुग्लिन–नारायणगढ राजमार्गबाट चौकीडाँडा नजिक पर्छ। चैकीडाँडा राजमार्गमा पर्ने दासढुंगामाथिको डाँडा हो। कम्पनिले समुन्द्री सतहको ११ सय मिटरको चौकीडाँडा र ५८० मिटर उचाईको कविलासबाट टेकअफ गराउने व्यववस्था मिलाएको छ। अवतरण भने त्रिशुली नदी किनारको २५० मिटर उचाईमा हुनेछ। ‘ल्याण्डिङ जोन’ त्रिशुली किनार भने तनहुँको देवघाट गाउँपालिकामा पर्छ। कविलासस्थित त्रिशुलीमाथि पक्कि पुल तरेपछि देवघाट जान सकिन्छ। चितवनबाट उडेर त्रिशुली नदी पार गरेर तनहुँमा अवतरण गर्न पाइने उनले बताए।  

चौकीडाँडा र कविलासबाट उडान भरेपछि एक नटिकल माइल (१.८५ किलोमिटर) सम्म चारैतिर उड्न पाउनेगरि कम्पनिले अनुमति पाएको छ। त्यस्तै आकाशमा ५ हजार फिटसम्म माथि जान पाइने पनि उनले बताए। चौकीडाँडाको टेकअफ प्वाइन्ट राजमार्गबाट १४ र कविलास ६ किलोमिटर दूरीमा पर्ने उनले सुनाए।  

‘पर्यटन क्षेत्रमा प्याराग्लाइडिङको निकै नै सम्भावना बोकेको गन्तव्यको रुपमा चौकीडाँडा रहेछ। मुग्लिन–नारायणगढ राजमार्ग र त्रिशुली नदीको नागबेली स्वरुप आकाशबाट नियाल्दा उड्न पाइन्छ,’ रावतले भने, ‘तराईको समथर देखि पहाडी डाँडाकाँडा, जंगल अवलोकन गर्न पाइने भएकोले निकै नै आकर्षक गन्तव्यको रुपमा पहिचान भएको छ।’ त्यत्तिमात्र नभई चौकीडाँडाबाट लम्जुङ हिमाल लगायतका हिमाली श्रृंखला पनि अवलोकन गर्न पाइने उनले बताए। 

‘तराइ, पहाड र हिमाल देख्न पाइने भएकोले आकर्षक ठाउँ छ,’ उनले भने, ‘तराई र पहाडको संगमस्थल पनि हो। जसले गर्द फरकफरक दृष्य आकाशबाट नियाल्न पाइन्छ।’  

उनका अनुसार राजमार्गबाट नजिक पर्ने र आउजाउ सहज हुँदा एकघण्टाभित्रै उडान सम्भव हुन्छ। ‘राजमार्गबाट उक्लेर उडान भरेर राजमार्ग नजिकै नै अवतरण गर्न पाइने भएकोले पनि निजी सवारीमा आउजाउ गर्ने जो कोही पर्यटकले आकाशमा उड्ने अवसर लिन सक्नेछन,’ उनले भने। चितवन घुमेर पोखरामा प्याराग्लाइडिङ उडन् जान नभ्याउने पाहुनाले अब चितवनमै प्याराग्लाइडिङ उडानको मज्जा पाउन सक्ने उनले बताए। ‘त्रिशुलीमाथि प्याराग्लाइडिङमा फनफनि घुम्न पाउँदा पाहुना अवश्यक खुसी हुनेछन,’ उनले भने।

यो कम्पनिले पोखरामा पोखरामा ६ जना र चितवनमा १० जनासम्म पाइलट राख्न पाउने गरि अनुमति पाएको छ। पोखरामा यसअघि नै उडान गरिरहेको हिमालय फन्टियर्सले नयाँ शाखाको रुपमा चितवनमा सेवा बिस्तार गरेको उनले बताए। ‘कतैको पनि हवाई रुट पर्दैन। प्राधिकरणले अनुमति पनि दिइसकेको छ। चितवनको पर्यटनमा नयाँ प्रडक्ट थपिएको हो,’ उनले भने, ‘पोखराजस्तै पर्यटनको अर्काे महत्वपूर्ण गन्तव्य सौराहाले अब आकाशमा हुने हवाई गतिविधिमा पनि पाहुनालाई सेवा दिन सक्नेछ।’  

राजमार्ग हुँदै आउजाउ गरेको र त्रिशुलीको नागबेली दृष्यले धेरैलाई लोभ्याउने अपेक्षा रहेको उनले बताए। चितवनमा प्याराग्लाइडिङ उडान गर्नका लागि कम्पनिले लामो समयदेखि अध्ययन गरिरहेको थियो। चौकीडाँडा पहाड र तराईको संगमस्थलमा पर्ने भएकोले प्याराग्लाइडिङ उडानका लागि आवश्यक पर्ने मौसम पनि उपयुक्त हुने उनले बताए। ‘पोखरामा भन्दा राम्रो थर्मल चौकीडाँडामा रहेछ। किनकी तराईसँग नजिक भएकोले तातो हावा चल्छ,’ उनले भने, ‘उडानमा सहज छ। बाह्ै्रमास उडान गर्न सकिन्छ।’ परीक्षणका क्रममा एकवर्ष अवधिमा कम्तिमा एकसय उडान गरेको रावतले बताए।  

कविलासमा सुविधासम्पन्न रिसोर्ट पनि रहेकोले पाहुनालाई खान र बसोबास गर्न सहज रहेको उनले सुनाए। ‘जुन ठाउँ (कविलास) बाट हामी उडान भर्नका लागि राजमार्गबाट उकालो लाग्छौ, त्यही ठाउँमा सुविधासम्पन्न रिसोर्ट छन, त्यसैले उडानमा आउने पाहुनालाई असुविधा छैन,’ उनले भने। यही कम्पनिले प्याराग्लाइडिङ पछि छिटै नै नारायणीमा मोटरबोट र चौकीडाँडासम्मको पहाडीबाटोमा एटिभी (अल टेरेन भेइकल) चलाउने पनि तयारी गरेको उनले सुनाए। ‘आकाश, जमिन र पानीमा हुने साहसिक गतिविधि बिस्तारमा हामी जुटेका छौ,’ उनले भने, ‘यसले चितवनको सौराहा आएका पर्यटकमा नयाँ स्वाद थप्ने विश्वास छ।’ 

प्रकाशित: १९ फाल्गुन २०७९ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App