२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

‘दुग्ध व्यवसायी अप्ठ्यारो अवस्थामा छन्’

किशोर बगाले, अध्यक्ष, दुग्ध उत्पादक सहकारी संघ

चितवन जिल्लामा दुग्ध व्यवसायीको अवस्थाबारे दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेसित गरिएको कुराकानी:

चितवन जिल्लामा दुग्ध व्यवसायीको अवस्था कस्तो छ?

दुग्ध व्यवसायीको हालको अवस्था अप्ठ्यारो अवस्थामा छ। लागत मूल्य बढेर गएको छ। पहिलाको जस्तो कच्चा पदार्थ सस्तोमा पाइँदैन। जसले गर्दा दुग्ध व्यवसायी अप्ठ्यारो अवस्थामा भएको कारणले दूधको मूल्य बढाउन पर्छ भनेर दबाब दिएको अवस्था छ।

किन दूधको मूल्य बढाउनुपर्‍यो?

किसानले प्रयोग गर्ने कच्चा पदार्थ पहिलाको भन्दा ३० देखि ४० प्रतिशत वृद्धि भएर आएको छ। नेपाल सरकारले तोकेको दूधको मूल्य दुई वर्षअघिकै कायम छ। कच्चा पदार्थ जुन रफ्तारमा वृद्धि भएकाले मूल्य बढाउन परेको हो।

किसानहरू मूल्यवृद्धिका लागि पहल गरिरहने तर लागत मूल्य घटाउनतर्फ ध्यान दिएको पाइँदैन नि?

लागत मूल्य घटाउने विषयमा किसान पनि लाग्नु पर्दछ। घाँस खेतीमा जाने र दाना चोकरको प्रयोगलाई कम गर्नुपर्दछ। सँगसँगै किसानले प्रयोग गर्ने कच्चा पदार्थको मूल्यलाई राज्यले कम गर्नुपर्दछ। सधैं मूल्य बढाउँदैमा किसानलाई फाइदा हुन्छ भन्ने होइन। हामी पनि त्यो पक्षमा छैनौं। तर हामीले प्रयोग गर्ने कच्चा पदार्थलाई राज्यले नियन्त्रण गर्नुपर्दछ। धान किन्दा २० रूपैयाँ किलो, ढुँटो किन्दा ३५ देखि ४० रूपैयाँ किलो छ। यसलाई त राज्यले नियन्त्रण गरिदिनु पर्‍यो नि? हामीले अघिल्लो पटक दूधको मूल्य बढाउँदै गर्दा मकैको मूल्य २५ रूपैयाँ किलो थियो। त्यो बेलाको दूधको मूल्य ५६ रूपैयाँ थियो। आज मकैको मूल्य ५० रूपैयाँ पुग्दा पनि दूधको मूल्य ५६ रूपैयाँ नै छ। भनेपछि नाफा कसरी हुन्छ। त्यो २५ लाई नै ब्यालेन्स मिलाएर राखेको भए हुन्थ्यो। हामीले सोही मूल्यमा दूध बेच्न सक्ने थियौं। कच्चा पदार्थको मूल्य बढ्दै गर्दा दूधको मूल्य नबढ्ने अनि किसानचाहिँ घाटामा जानुपर्ने अवस्था आएको छ। यसलाई किसान आफैंले पनि कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा सोच्न जरुरी छ। राज्यले पनि यसको मूल्यलाई नियन्त्रण गर्न जरुरी छ।

मूल्य नियन्त्रण गर्न संघको तर्फबाट केकस्ता काम भइरहेका छन्?

जिल्ला प्रशासन कार्यालय चितवनसँग समन्वय गरेर काम गरिराखेका छौं। सम्बन्धित र कच्चा पदार्थ उत्पादन गर्ने उद्योगीसँग परामर्श गरेका छौं। गहुँभन्दा भुस महँगो हुने। धानभन्दा ढुटो महँगो हुने। यसलाई राज्यले किन नियन्त्रण गर्न सक्दैन। जिल्ला प्रशासनलाई भेटेरै ज्ञापनपत्र बुझाउने काम गरेका छौं। तर राज्य जुन रूपमा लाग्नुपर्ने हो, त्यो देखिँदैन। राज्यका संयन्त्र नलाग्दा समस्या छ। ढुटोको मूल्य दैनिक बढाउन पाइएको छ। दूधको मूल्य कहिले राज्यले बढाउँछ भनेर कुरेर बस्नुपरेको छ।

अन्तिममा राज्यलाई के भन्न चाहनुहुन्छ?

दूधको मात्र नभई अन्य किसानलाई राज्यले नजिकबाट नियालेर किसानको व्यवसायलाई व्यवस्थित ढंगबाट अगाडि बढाउनुपर्दछ। हाम्रो अर्थतन्त्र धराशायी बन्दै जान्छ। उत्पादन गर्ने व्यक्तिलाई संरक्षण गरेर भोक लाग्दा आफ्नै भकारीबाट निकालेर खाने वातावरण बनाउनुपर्दछ। अन्यथा हामी आर्थिक संकटमा पर्न सक्छौं।  

प्रकाशित: १९ फाल्गुन २०७९ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App