चितवन कृषिका लागि उर्वर भूमि मानिन्छ। विगतमा कृषिबाटै जीविकोपार्जन गर्न पहाडी क्षेत्रबाट मानिसहरू बसाइँसराइ गरी आउँथे। चितवनको खाद्यान्न नेपालका विभिन्न जिल्लादेखि भारतीय बजारसम्म पुग्ने गरेको थियो। तर पछिल्ला वर्षमा चितवनमा खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ।
कृषि ज्ञान केन्द्र चितवनको तथ्यांकअनुसार चितवनमा १९ हजार २ सय १७ मेट्रिक टन खाद्यान्न बाहिरी मुलुकबाट गरेको छ। ७ लाख २२ हजार जनसंख्या रहेको जिल्लामा ९६ हजार ६ सय ४८ मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ। जसमा १ लाख १६ हजार ८ सय ९५ मेट्रिक टन आवश्यक पर्ने ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे बताउँछन्।
तीव्र सहरीकरणका कारण जनसंख्या वृद्धि, जग्गाको खण्डीकरण, युवाहरू विदेश पलायन लगायत कारण यहाँ खाद्यान्न आयात गर्नुपरेको उनको भनाइ छ। आयात हुने खाद्यान्नमध्ये सबैभन्दा बढी मकै नै रहेको छ। २१ हजार मेट्रिक टन मकै उत्पादन हुने जिल्लामा ७० प्रतिशत बाहिरी मुलुकबाट आयात हुने गरेको छ। यहाँ खपत चामलमध्ये ३० प्रतिशत चामल बाहिरी मुलुकबाट आउने गर्दछ। विशेषगरी जिल्लामा मसिनो चामल बढी आयात हुने गरेको छ। त्यससँगै गहुँ, कोदोसमेत आयात हुने गर्दछ।
यहाँ अन्नबाली, दलहन तथा तेलहन बाली तरकारी तथा फलफूल, माछापालन प्रमुख कृषि क्षेत्र हुन्। चितवनमा २ लाख २१ हजार ८ सय हेक्टर जमिनमध्ये ४६ हजार ८ सय ९४ हेक्टर खेतीयोग्य जमिन छ। ३२ हजार २ सय १८ हेक्टर सिञ्चित क्षेत्र छ। आंशिक सिञ्चित क्षेत्र ८ हजार २ सय ९८ हेक्टर रहेको छ। तर प्रत्येक वर्ष खेतीयोग्य जमिन घटिरहेको छ। चितवन जिल्लामा खेती गरिने अन्नबालीमध्ये क्षेत्रफल र उत्पादन दुवैको हिसाबले धान प्रथम स्थानमा आएको छ। धानखेती हुने क्षेत्र पनि घट्दो अवस्थामा छ।
पछिल्लो चार वर्षकै अवधिमा धान खेती हुने ४ सय १५ हेक्टर क्षेत्रफल घटेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ चितवनको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति पुस्तिकामा उल्लेख छ। आव २०७४/७५ मा ३२ हजार ६ सय ३५ हेक्टर क्षेत्रफलमा धानखेती भएको जिल्लामा गत आव ३२ हजार २ सय २० हेक्टरमा खेती भएको पाइन्छ। क्षेत्रफलसँगै धानको उत्पादन पनि घटेको देखिन्छ। आव २०७४/७५ मा १ लाख २७ हजार ९ सय ६२ मेट्रिक टन धान उत्पादन भएको थियो।
गत आवमा १ लाख २४ हजार १ सय ६६ मेट्रिक टन धान उत्पादन भएको छ। धान खेतीयोग्य जमिन घटिरहेको समयमा चैते धान विस्तार गरेर आयातित धानलाई विस्थापित गर्न सकिन्छ। तर यसका लागि सिँचाइको व्यवस्थापन गर्नुपर्ने हुन्छ। तर चैते धानको क्षेत्रफल बढ्न सकेको छैन। गत आव ४ हजार ४ सय १५ हेक्टर क्षेत्रफलमा चैत धान रोपाइँ भएको जिल्लामा २० हजार ७ सय ५० मेट्रिक टन धान उत्पादन भएको थियो।
उत्पादन र क्षेत्रफलकै हिसाबले चितवन जिल्लामा उत्पादन हुने अन्नबालीमा मकै दोस्रो स्थानमा रहेको छ। जिल्लामा वार्षिक ९८ हजार ६ सय ४४ मकै उत्पादन हुँदै आएको छ। धानखेती गर्ने जमिन घटे पनि मकै खेती गर्ने क्षेत्रफल घटेको छैन। यसको मुख्य कारण मकै खेतीप्रतिको बढ्दो आकर्षण र उन्नत र हाइब्रिड जातको प्रयोग गर्नु हो। चितवनको हावापानीमा बाह्रै महिना मकै खेती गर्न सकिनु र पोल्ट्री फिडका उद्योगको संख्यामा वृद्धि हुनुले किसान मकैखेतीप्रति आकर्षित भएका हुन्। चार वर्षको अवधिमा ५ सय ७५ हेक्टर क्षेत्रफल बढेको छ। जिल्लामा २६ हजार १९ हेक्टरमा मकै खेती हुने परियोजनाले जनाएको छ। चितवनमा बर्खे, हिउँदे र बसन्ते मकै लगाइन्छ। त्यसमध्ये हिउँदे मकै बढी उत्पादन हुन्छ।
धान, मकै, कोदोभन्दा उत्पादकत्व बढी रहेको गहुँ पनि चितवनमा आयात हुने गरेको छ। चितवनमा गहुँको उत्पादकत्व ४ दशमलव २१ प्रतिशत छ। गत वर्ष यहाँ २३ हजार २ सय ४८ मेट्रिक टन गहुँको उत्पादन भएको तथ्यांकमा देखिन्छ। त्यसैगरी कोदो १४ हजार ९३, फापर ९ सय २०, जौ ४६, दलहन बाली ५ हजार २ सय र आलु ३६ हजार १ सय १३ मेट्रिक टन उत्पादन भएको छ।
नगदेबालीको अवस्था
चितवन जिल्लामा खेती गरिने नगदेबालीअन्तर्गत तेलहन बालीमा तोरी पहिलो स्थानमा र त्यसपछि तिल र आलस रहेका छन्। तर तोरीका लागि प्रसिद्ध जिल्ला चितवनमा घट्दो अवस्थामा छ। अहिले व्यवसायीले बाहिरी मुलुकबाट तोरी ल्याउने गर्दछन्। हाल १२ हजार २ सय ६० हेक्टर क्षेत्रफलमा करिब १२ हजार २ सय १८ मेट्रिक टन तोरी उत्पादन भएको देखिन्छ। त्यसैगरी दलहन बालीतर्फ पहिलो स्थानमा मुसुरो र त्यसपछि क्रमशः राज्मा, भटमास र मास रहेका छन्। मुसुरोको क्षेत्रफल करिब २ हजार ५ सय र उत्पादन २ हजार ८ सय रहेको छ। मुसुरोको उत्पादन पनि घट्दो अवस्थामा देखिन्छ। यसको क्षेत्रफल समेत तीव्र रूपमा घटिरहेको छ। चार वर्षअघि ३ हजार ५ सय हेक्टरमा खेती हुँदै आएको मुसुरो गत आवमा २ हजार ५ सयमा झरेको थियो। यो अवधिमा १ हजार हेक्टर क्षेत्रफल घटेको देखिन्छ। अर्को नगदे बाली उखुको क्षेत्रफल र उत्पादन न्यून रहेको छ।
फलफूल तथा तरकारी खेतीमा आकर्षण
खाद्यान्नबालीको उत्पादन घट्दै गए पनि जिल्लामा फलफूल तथा तरकारीको उत्पादन बढ्दै गएको छ। परम्परागत खेती अँगाल्दै आएका किसान व्यावसायिकतर्फ उन्मुख भएको देखिन्छ। विशेष गरेर चितवनका किसान सुन्तला, आँप, केरा, मेवा, चिउरी लगायत खेतीतर्फ उन्मुख भएका छन्। १ सय ५९ वटा फर्म त केरा जोनअन्तर्गत नै सूचीकृत भइसकेका छन्। जिल्लामा २ हजार ५ सय ४५ हेक्टरमा फलफूल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र चितवनको तथ्यांकमा उल्लेख छ। त्यसमा वार्षिक ३२ हजार ६ सय ७४ मेट्रिक टन उत्पादन भएको छ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेका अनुसार चितवनमा वार्षिक १० हजार ७ सय २८ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ। जसमध्ये ३ हजार ४ सय ८२ हेक्टर क्षेत्रफल हिउँदे तरकारीले ओगटेको छ। हिँउदे तरकारी बाली मात्र ७४ हजार ८ सय ६३ मेट्रिक टन उत्पादन हुने पाण्डेले बताए।
केन्द्रको तथ्यांकअनुसार जिल्लामा दैनिक ४ सय ९९ मेट्रिक टन तरकारी उत्पादन भए पनि १ सय २५ मेट्रिक टन खपत हुन्छ। दैनिक ३ सय ७४ टन तरकारी बढी हुने र किसानहरूले काठमाडौं, पोखरा, हेटौंडा पठाउँदै आएको पाण्डेले बताए। उत्पादन नै उच्च रहेको समयमा भारतबाट काँक्रो, करेला, गोलभेँडा, खुर्सानीलगायत तरकारी आयात हुँदा किसानले उत्पादन लागत पनि पाउन नसकेको उनले बताए। ‘उत्पादन बढी छ, त्यसमा पनि आयात भइरहेको छ, हाम्रा किसानले भारतसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन,’ पाण्डेले भने। किसानले गरेको विरोधबारे जिल्ला प्रशासन कार्यालयमा जानकारी गराइएको पनि कृषि ज्ञान केन्द्रका प्रमुख पाण्डेले बताए। किसानले मूल्य नपाएपछि कहिले बारीमै तरकारी जोत्छन् भने कहिले सडकमै फाल्ने गर्दछन्।
जिल्लामा २ सय ७८ हेक्टरमा सुन्तला खेती हुने गरेको छ। विशेष गरेर इच्छाकामना गाउँपालिकामा यसको खेती हुँदै आएको छ। गत वर्ष जिल्लामा वार्षिक १ हजार ६ सय ३६ मेक्ट्रिक टन सुन्तला उत्पादन भएको थियो। जिल्लामा सुन्तलाको उत्पादकत्व ५ दशमलव ८९ प्रतिशत रहेको छ। चार वर्षको अवधिमा सुन्तला खेती गर्ने क्षेत्रफलसमेत बढेको छ। २०७४/७५ मा २ सय ७४ हेक्टरमा सुन्तला खेती हुँदै आएको छ।
चितवनमा तीव्र विस्तार भएको बालीमध्ये एक केरा खेती हो। प्रत्येक वर्ष केराको क्षेत्रफल बढिरहेको छ। यहाँका किसान जग्गा नपाएर बाहिरी जिल्लामा समेत गएर खेती गरिहरेका छन्। चार वर्षको अवधिमा २ सय ६६ हेक्टर क्षेत्रफल बढेको छ। चितवनमा सुरुआतमा रत्ननगर क्षेत्रमा केरा खेती हुने गरे पनि यसको विस्तार पिठुवा, जुटपानी, पदमपुर, चैनपुर हुँदै जिल्लाभर फैलिँदै गएको छ। चितवनमा केराको जोन क्षेत्रसमेत स्थापना भएको छ। चितवनमा हाल २ हजार ७८ हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ। चार वर्षअघि १ हजार ८ सय १२ हेक्टरमा केरा खेती हुँदै आएको थियो। जिल्लामा गत वर्ष ४४ हजार ८ सय ८२ मेट्रिक टन केरा उत्पादन भएको थियो। यहाँ उत्पादित केरा अधिकांश बाहिरी जिल्लामा जाने गरेको छ। देशको कुल मागको २० प्रतिशत चितवनको केराले धान्ने गरेको छ। आँप पनि चितवनमा राम्रै उत्पादन हुने गरेको छ। ३ सय २१ हेक्टर क्षेत्रफलबाट गत वर्ष ३ हजार ७ सय ४० मेट्रिक टन उत्पादन भएको थियो।
चितवन तरकारीका लागि आत्मनिर्भर छ। यहाँबाट बाहिरी जिल्लामा समेत निर्यात हुँदै आएको छ। तरकारी खेतीतर्फ किसानको आकर्षण पनि बढ्दो छ। प्रत्येक वर्ष तरकारी खेतीको क्षेत्रफल पनि बढ्दो अवस्थामा देखिन्छ। जिल्लामा ७ हजार २ सय ५२ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको छ। चार वर्षअघिसम्म ६ हजार ३ सय १५ हेक्टरमा तरकारी खेती भएको सरकारी तथ्यांकमा उल्लेख छ। गत वर्ष जिल्लामा ९५ हजार ५ सय ३२ मेट्रिक टन तरकारी उत्पादन भएको थियो। तरकारीको सिजनमा यहाँका किसानले तरकारी नबिकेर तरकारीसँगै बारी जोत्ने समेत गर्दछन्। लसुन, प्याज, बोडी, काउली वर्गका तरकारी, मुला र सिमीको पनि उल्लेख्य उत्पादन हुन्छ।
चितवन जिल्ला कृषिको सम्भावना बोकेको जिल्ला हो। यहाँ कृषि विश्वविद्यालयदेखि मकैबाली, माछा, गाईलगायत अनुसन्धान केन्द्रसमेत छन्। अर्कोतर्फ कृषिको विकासका लागि सरकारले खोलेका विकासे अड्ढा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मौरी विकास कार्यक्रम, किम्बु नर्सरी केन्द्र, मत्य विसकास कार्यक्रम, कृषि व्यवसाय प्रवद्र्धन तथा कृषि तालिम केन्द्रजस्ता कार्यालय चितवनमै छन्। तर, जिल्लाले खाद्यान्न आयात गरिरहनुपरेको छ। यस्तो अवस्थामा यी कार्यालय पनि आयात कम गर्नका लागि लाग्नुपर्ने अवस्था आएको छ।
चितवनको सभ्यतामा मोड २०१२ सालपछि आएको मानिन्छ। सरकारले नै ‘राप्ती दुन विकास योजना’ बनाएर चितवनमा बस्ती बसाउने योजना बनाएको थियो। त्यसपछि पहाडी क्षेत्रबाट यहाँ मानिसको चाप बढेको पाइन्छ। पछिल्लो कृषि गणनाअनुसार ६६ दशमलव ६० प्रतिशत परिवार कृषि पेसामा रहेका छन्। अर्थात् जिल्लामा ८८ हजार २ सय ४२ परिवार रहेका छन्। त्यसमध्ये जिल्लामा ३३ प्रतिशत मुख्य कृषक महिला रहेका छन्। तर कुनै समय जिल्लाबाट निर्यात हुने खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको छ। यसको कारण तीव्र जनसंख्या वृद्धि औद्योगिकीकरण तर्फ उन्नमुख रहेको मान्न सकिन्छ।
चितवन जिल्लामा विभिन्न कृषिजन्य उत्पादन मुख्य गरी धान, मकै, तरकारी, फलफूल, मौरी आदि व्यावसायिक रूपमा विस्तार हुँदै गइरहे पनि चुनौती थुप्रै छन्। प्राकृतिक रूपमा उर्वर मानिने यहाँको कृषियोग्य जमिन बढ्दो सहरीकरणका कारण आवासीय प्रयोजनमा परिणत भइराखेको छ। यसको निराकरणका लागि प्रचलित कानुनमा भएकाले जग्गाको वर्गीकरण र तिनको प्रयोगलाई पालना गर्नुपर्ने देखिन्छ। अर्कोतर्फ कृषि क्षेत्रमा युवा आकर्षित हुन सकेका छैनन्। कृषिजन्य उत्पादनका लागि चाहिने सामग्री बिउबिजन, रासायनिक मल, प्रांगारिक मल, विषादी र अन्य कृषिजन्य सामग्रीको समुचित उपयोग, प्रसार र निरीक्षण गर्नुपर्ने देखिन्छ। सँगसँगै कृषिलाई आवश्यक पूर्वाधारहरू कृषि सडक, कृषि बिमा, भण्डारण आदिको संरचनाहरूको निर्माण, विस्तार र मर्मतसम्भारको तर्जुमा गर्नुपर्ने हुन्छ। जसले कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने देखिन्छ।
प्रकाशित: १९ फाल्गुन २०७९ ०१:२८ शुक्रबार