१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चितवन विशेष: पर्यटकका लागि थपिँदै नयाँ गन्तव्य

चितवनलाई नेपालकै तेस्रो प्रमुख पर्यटकीय गन्तव्यका रूपमा लिने गरिन्छ। काठमाडौं, पोखरापछि तेस्रो स्थानमा सौराहालाई लिने गरिएको छ। चितवन राष्ट्रिय निकुञ्ज, दुर्लभ एकसिंगे गैंडा, हात्ती, पाटे बाघ, विभिन्न चराचुरुंगी हेर्न तथा जंगल सफारीको आनन्द लिन पर्यटकहरू यहाँ आउने गरेका छन्। चितवनमा आउने अधिकांश पर्यटक सौराहा नै जाने गर्दछन्। तर पर्यटकको बसाइ अवधि लम्ब्याउन भने व्यवसायीलाई कठिन हुने गरेको क्षेत्रीय होटल व्यवसायी संघ सौराहाका अध्यक्ष दीपक भट्टराई बताउँछन्।

‘सौराहा आउने पर्यटक दुई दिनभन्दा बढी बस्दैनन्,’ उनले भने, ‘एक दिन निकुञ्ज घुम्ने र अर्को दिन फर्किन्छन्।’ चितवन राष्ट्रिय निकुञ्जले एक दिनभन्दा प्रवेशको अनुमति नदिँदा पर्यटकको समयावधि बढाउन नसकिएको उनको भनाइ छ। चितवन विशेष गरी जंगल सफारीका लागि प्रसिद्ध ठाउँ हो। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष भट्टराई २ लाखभन्दा बढी पर्यटकले सौराहा घुमफिर गरेको बताउँछन्। सौराहा घुम्न आउने अधिकांश पर्यटक मेघौली, पटिहानी लगायत ठाउँमा न्यून मात्र जाने गरेका छन्। पर्यटन व्यवसायीबीच समन्वय नहुँदा समस्या भएको स्वयं व्यवसायी बताउँछन्। तर पछिल्लो समय चितवनमा नयाँ पर्यटकीय गतिविधि थप गर्दै व्यवसायी पर्यटकको समय अवधि थप गर्दै आएका छन्। चितवनको पर्यटन आजभोलि सौराहा मात्रै केन्द्रित छैन, विकेन्द्रीकरण भइसकेको छ। स्थानीय सरकारले विकास गरेका पर्यटकीय गन्तव्य पनि रोजाइमा छन्।

मेघौली, देवघाटधाम, पटिहानी, सोमेश्वरगढी, बीसहजारी ताल, चौकीडाँडा, जलवीरे झरना, सिन्ती झरना, परेवाकोट, गोद्धकधाम, वैकुण्ठधाम, सिराइचुली, उपरदाङगढी, इच्छाकामना, कुरिनटार, बाघमारा सामुदायिक वन, कंकाली सामुदायिक वन, ज्ञानेश्वर सामुदायिक वनजस्ता घुुमफिरका गन्तव्य चितवनमा छन्। अहिले नारायणी नदीमा मिनि क्रुज सिप, नारायणी तिरमा बोटिङ, पटिहानीमा अम्रेला स्टेट, जिप सफारी, विभिन्न फर्न पार्क आन्तरिक पर्यटक तथा विदेशी पर्यटकका लागि उपयुक्त स्थल बनेका छन्।

नारायणी नदी, माडी, पटिहानी र मेघौली उदाउँदो पर्यटकीय गन्तव्य हुन्। माघदेखि राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले नदीकिनारमा व्यावसायिक रूपमा क्रुज सिप सञ्चालनमा ल्याएको छ। यो पनि चितवनका लागि पर्यटकीय प्रमुख गनतव्य बनेको बताउँछन् कम्पनीका कार्यकारी निर्देशक दीपक ढुंगेल। ‘चितवनको प्रमुख गनतव्य चितवनको सौराहा थियो,’ उनले भने, ‘क्रुजसिपसहित अन्य स्थानमा पनि पर्यटक घुम्न गइरहेका छन्।’ तीन किलोमिटरसम्म क्रुजसिप सञ्चालन हुने गर्दछ। कम्पनीले एक घण्टाको प्याकेज राखेको छ। सात सय रूपैयाँ टिकट तोकिएको छ। त्यसभित्र खानाको व्यवस्थासमेत छ। चितवनका होटेल व्यवसायी र पर्यटन एजेन्सीसँग जोडिएर काम गर्ने योजना रहेको कम्पनीका प्रबन्धक रामचन्द्र कँडेल बताउँछन्। त्यसपछि अझ पर्यटकको संख्या बढ्ने अनुमान उनको छ। अहिले क्रुजसिप ज्ञानेश्वर सामुदायिक वनको क्षेत्रमा सञ्चालित छ। तर पानीको सतहलाई व्यवस्थित गर्ने हो भने देवघाटदेखि गोलाघाटसम्म सञ्चालन गर्न सकिने उनको भनाइ छ।

चितवनमा वार्षिक करिब २ लाख पर्यटक चितवन आउने गरेको तथ्यांक छ। नेपाल आउने पर्यटकमा २० प्रतिशत हो। पर्यटकीय गतिविधिलाई बढाउन सक्ने हो भने चितवनमा पर्यटकको संख्या बढाउन सकिने ठाउँ प्रशस्त रहेको भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्वराज सुवेदी बताउँछन्। सौराहाका अलावा पटिहानी, मेघौली, देवघाटजस्ता क्षेत्र पनि यहाँका प्रमुख पर्यटकीय केन्द्र हुन्। तराईका जिल्लामा बसेर पनि हिमाल देख्न पाइने उनले बताए। यहाँ सयौं मिटर अग्ला डाँडामा अति सीमान्तकृत चेपाङ समुदायदेखि नदी तटीय क्षेत्रमा बस्ने बोटे, थारु, मुसहर जातिसम्मको संस्कृति र मौलिक रहनसहन देख्न पाइन्छ।

भौगोलिक विविधतासहित अग्ला पहाड, घना जंगल, नदी, ताल, फराकिला फाँट, सिमसार क्षेत्र, दुर्लभ वन्यजन्तु, वनस्पति, चराचुरुंगी एवं जैविक विविधता चितवनका मानक बनेका छन्। प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदाले मात्रै नभई कृषि, उद्योग, वाणिज्य, शिक्षा एवं स्वास्थ्य क्षेत्रको केन्द्रका रूपमा पनि विकास हुँदै गएको छ। नारायणी नदी किनार, विभिन्न सामुदायिक वन, मदन भण्डारी र जीवराज आश्रितको निधन भएको दासढुंगा, नेपालकै पहिलो बखान सहकारी संस्था र निर्माणाधीन संग्रहालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, विभिन्न गुम्बा पनि यहाँका आकर्षणका केन्द्र हुन्। चितवनको सौराहा, पटिहानी, मेघौली विशेष गरी जंगल सफारीका लागि उपयुक्त ठाउँ हो। यी क्षेत्रमा थारु, दराई, कुमाल संस्कृतिको समेत अवलोकन गर्न सकिन्छ। सौराहाबाट सूर्योदय हेर्न सकिन्छ भने मेघौलीको गोलाघाटबाट सूर्यास्त हेर्न उपयुक्त ठाउँ हो। अहिले पटिहानीमा अम्रेला स्ट्रिड, कसरामा घडियाल गोही प्रजनन केन्द्र छ। सौराहा मध्यवर्ती क्षेत्र अन्तर्गतका बाघमारा सामुदायिक वन, कुमरोज सामुदायिक वनमा जंगल सफारीका लागि पर्यटक आउने गर्दछन्। त्यहाँ हात्ती सफारी, हात्ती प्रजनन केन्द्र, बाघ, एक सिंगे गैंडा, भालु, गोही, चराचुरुङ्गी लगायत हेर्न सकिन्छ।

चितवनमा नेपालकै प्रमुख धार्मिक क्षेत्रमध्ये एक देवघाट रहेको छ। तनहुँ, चितवन र नवलपुर जिल्लाको संगमस्थलमा त्रिशूली र कालिगण्डकी नदी मिसिएका छन्। यसले धार्मिक पर्यटकलाई आकर्षित गर्दै आएको छ। विशेष गरी यहाँ भारतबाट पर्यटक बढी आउने गर्दछन्। मुक्तिनाथसँग जोडेर पर्यटक तान्न सकिने क्षेत्र पनि हो। त्यस्तै नेपाल सरकारले छनोट गरेका १ सय पर्यटकीय गन्तव्यमा परेको माडीको सोमेश्वरगढी पनि धार्मिक दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो। प्राकृतिक मनोरम दृश्यहरू तथा समथर भू–भाग अवलोकन गर्दै धार्मिक उद्देश्य पूरा गर्न कालिका मन्दिरमा भारतदेखि समेत भक्तजनहरू आउँछन्।

माडी क्षेत्रमै पर्ने वाल्मीकि आश्रम पनि धार्मिक दृष्टिले महत्त्वपूर्ण छ। भारतसँग जोडिएको यस क्षेत्र ऐतिहासिक धार्मिक केन्द्र हो। यहाँ वाल्मीकि, लव, कुश, सीता, हरिहरनाथका मन्दिर, मन्दिरको भित्री पर्खालमा शिवलिंग, वराह अवतार, नवग्रह, विष्णु, लक्ष्मीनारायण, वामन अवतार, हनुमान आदिका प्रस्तर मूर्ति सजाएर राखिएका छन्। इच्छाकामना रहेको इच्छाकामना मन्दिर पनि धार्मिक रूपमा ऐतिहासिक छ। यसलाई पर्यटकीय रूपमा अगाडि बढाउन सकिन्छ। चितवन समथर भूभाग मात्र भएको जिल्ला होइन। यहाँ पहाडी क्षेत्र पनि छ। पहाडी क्षेत्रमा सिराइचुली, उपरदाङ्गढी प्रमुख स्थाल हुन्। सिराइचुली चितवन जिल्लाको सबैभन्दा अग्लो डाँडो हो। यो समुद्री सतहबाट १९४७ मिटर उचाइमा रहेको छ। प्याराग्लाइडिङ सञ्चालनको सम्भावना समेत रहेको बताउँछन् पर्यटनविज्ञ विश्व सुवेदी। ‘सिराइचुली, चौकीडाँडालगायत स्थानमा भ्युटावर राखेर हामीले चितवन निकुञ्ज, माडी क्षेत्रका समथर भागको पनि अवलोकन गर्न सक्छौं,’ उनले भने।

यस्तै चितवनको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढी ऐतिहासिक गढी हो। राजदरबार, मालअड्डा अदालत, प्रहरी एवं सैनिक आवास क्षेत्रको भग्नावशेष छ। यो किल्लाको चारैतिर पर्खालमा तोप राख्ने ९ वटा स्थान छन्। भरतपुर १ मा रहेको दियालो बंगलालाई पनि पर्यटकीय गन्तव्यका रूपमा हेरिएको छ। पर्यटनविद् विश्व सुवेदीका अनुसार चितवनमा ७० वटा गन्तव्य बनिसकेका छन्। जसमध्ये ५५ वटा गन्तव्यमा अझै पूर्वाधार अभाव छ। चितवनमा पर्यटकका लागि सुविधा सम्पन्न होटेल खोल्ने क्रम पनि जारी छ। भरतपुर महानगरपालिकाभित्र २५० होटल महानगरपालिकाभित्र छन्। त्यहाँ ६ हजार क्षमता रहेको होटल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुके बताउँछन्। सौराहा, गैंडाकोट लगायत ठाउँमा पनि सुविधासम्पन्न २ सयको हाराहारीमा होटेल रहेको उनले बताए। चितवनका होटेलले १५ हजार पर्यटकलाई धान्नसक्ने उनले बताए। अहिले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पनि भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०८० मनाउने भएको छ। त्यसमा १५ हजार पर्यटक भिœयाउनसक्ने लक्ष्य लिएको उनले बताए। 

प्रकाशित: १९ फाल्गुन २०७९ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App