२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

तीन महिनाभित्र दुई जलविद्युत् आयोजनामा तोडफोड र आगजनी

गत मंसिर २४ गते चेपे खोला जलविद्युत् आयोजनामा जनप्रतिनिधिसहित स्थानीयको आगजनी र तोडफोड। फाइल: तस्बिर।

स्थानीय तहका जनप्रतिनिधिसहितका अराजक भीडले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवस्थित ३५ मेगावाटको न्यासिम खोला जलविद्युत् आयोजनामाथि तोडफोड र आगजनी गरेका छन्।

जुगल गाउँपालिका वडा नम्बर ३ का जनप्रतिनिधिसहितका समूहले सोमबार गुम्बाको मानेभञ्याङमा नेपाल विद्युत् प्राधिकरणको वितरण लाइनमा करेन्ट सर्ट भई स्थानीय एक बालिकाको मृत्यु भएपछि अराजक भीडले योजनाबद्ध ढंगले जलविद्युत् आयोजनामाथि सांघातिक रूपमा आक्रमण गरेका थिए।

सो समूहको आक्रमणबाट जलविद्युत् आयोजनाको आयोजनाको आवास गृह, कार्यालय भवन, एक्स्काभेटर, निर्माण उपकरण र अन्य सामग्रीमा गरेर १२ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ। 

न्यासिम खोला जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी सीता हाइड्रोपावर प्रालिका अध्यक्ष सीताराम तिमल्सिनाले जनप्रतिनिधिसहित स्थानीयको आक्रमणबाट क्षति पुर्‍याएको बताए। ‘बालिकालाई करेन्ट लागेर मृत्यु हुनुमा आयोजनाको कुनै गल्ती छैन। जनप्रतिनिधिसहितका स्थानीयको तोडफोड र आगजनीको कारणले आयोजनाको १२ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको छ,’ उनले भने ‘निजी क्षेत्रले ऋणधन गरेर जलविद्युत् आयोजना निर्माण गर्दा स्थानीयबाट तोडफोड र आगजनीको कारणले निजी क्षेत्रका प्रवर्द्धक कम्पनी असुरक्षित महसुस गर्दै आइरहेका छन्।’

यो तोडफोड र आगजनीका कारणले आयोजनामा कार्यरत इन्जिनियरसहित सात जना घाइते भएका छन्। घाइते ६ जना उपचारपछि घर फर्किएका छन् भने एक जना इन्जिनियर अझै उपचाररत छन्। 

अध्यक्ष तिमिल्सनाले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर जलविद्युत् आयोजनामाथि तोडफोड र आगजनीका घटनामा संलग्नलाई तुरुन्तै पक्राउ गरेर आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

‘स्थानीयको तोडफोड र आगजनीको कारणले आयोजनाको ठुलो क्षति भएको छ,’ उनले भने ‘घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडाभन्दा कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दछौँ।’

जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीले प्राधिकरणको विद्युत् लाइनसँग आयोजनाको कुनै पनि सम्बन्ध नरहेको जनाएको छ।

अध्यक्ष तिमिल्सनाले जलविद्युत् आयोजनामा आक्रमणपछि साइटमा समेत जान नसकेको बताए। ‘असुरक्षाको कारणले अहिले पनि हामी क्षतिग्रस्त भएको आयोजनाको साइटमा जान सकेका छैनौँ,’ उनले भने ‘क्षति उपलब्ध गराइ आयोजनाको काम फेरि सुरु गर्न कम्तिमा पनि एक वर्षभन्दा धेरै समय लाग्ने देखिन्छ। यो घटनाकै कारणले आयोजनाको निर्माण कार्य एक वर्षभन्दा धेरै धकेलिने सम्भावना बढेको छ।’ प्रवर्द्धक कम्पनीले अहिलेसम्म यो आयोजनामा ८० करोड रुपैयाँ खर्च गरिसकेको छ। २०७७ सालमा विद्युत् विकास विभागबाट उत्पादन अनुमति पत्र लिएर २०७८ जेठदेखि आयोजनाको निर्माण कार्य सुरु गरिएको थियो। यो आयोजनाले २०८९ असार १५ गतेभित्रै व्यापारिक उत्पादन गर्ने लक्ष्य राखेको थियो। अहिलेसम्म आयोजनाको भौतिक प्रगति २५ प्रतिशत भएको छ। आयोजनामा करिब तीन सय जना दक्ष तथा अदक्ष कामदार कार्यरत थिए। पछिल्लो समय निर्माणाधीन जलविद्युत् आयोजनामाथि तोडफोड र आक्रमणका घटनामा वृद्धि भएका छन्।

तीन महिना दुई जलविद्युत् आयोजना तोडफोड

गत मंसिर २४ गते जनप्रतिनिधिसहित स्थानीयको तोडफोडको कारणले गोरखा र लमजुङ जिल्लामा निर्माणाधीन ७ मेगावाटको चेपेखोला जलविद्युत् आयोजनाको आयोजनास्थल तथा क्याम्पमा तोडफोड गर्दा साढे तीन करोड रुपैयाँ बराबरको क्षति भएको थियो। जलविद्युत् आयोजना निर्माण गर्दा खोलाको पानी नहरमा नजाने भन्दै स्थानीयबासीले आयोजनाको क्याम्प तथा अन्य निर्माण उपकरणमा आगजनी तथा तोडफोड गरेर ३ करोड ४० लाख रुपैयाँ बराबरको क्षति पुर्‍याएका थिए। 

राईनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनालसहितका राई नास सिँचाइ योजना जल उपभोक्ता समिति र स्थानीयबासी समेतको संलग्नतामा आयोजनाको विद्युत् गृह निर्माण स्थल र साइट अफिसमा सयौँ मानिसहरू गएर तोडफोड र आगजनी गरेका थिए। पछिल्लो दुई महिनाको अवधिमा दुई वटा निर्माणाधीन जलविद्युत् आयोजनामा स्थानीय जनप्रतिनिधिसहितको अराजक समूहले आगजनी तथा तोडफोड गरेका छन्। निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनामा एकपछि अर्काै गर्दै आक्रमण हुन थालेपछि निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धन स्थानीयबाटै असुरक्षित महसुस गर्दै आइरहेका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका उपाध्यक्ष गणेश कार्कीले स्थानीय जनप्रतिनिधिसहितका स्थानीयको आक्रमण तथा तोडफोडका घटनाले जलविद्युत् प्रवर्द्धकहरू असुरक्षित महसुस गरेको बताए। ‘पछिल्लो दुई महिनाको अवधिमा जनप्रतिनिधिसहितका स्थानीयको संलग्नतामा दुई वटा जलविद्युत् आयोजनामाथि तोडफोड तथा आगजनीका घटना भएका छन्,’ उनले भने ‘यस्ता खालका घटनाले दूरदराजका जलविद्युत् आयोजना निर्माण गर्ने निजी कम्पनी असुरक्षित महसुस गरिरहेका छन्। यस्तै घटना बारम्बार दोहोरिने हो भने निजीक्षेत्रले जलविद्युत् आयोजना बनाउन सक्दैनन्। त्यसैले त्यस्ता घटनामा सरकारले तत्कालै छानबिन समिति गठन गरेर दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन जरुरी भइसकेको छ।’

उपाध्यक्ष कार्कीले सरकारले विदेशी जलविद्युत् कम्पनीलाई मात्रै नभएर स्वदेशी जलविद्युत् कम्पनीलाई पनि उचित सुरक्षा प्रदान गर्न माग गरेका छन्। ‘सरकार छ भन्ने खालको प्रत्याभूति नगरेसम्म निजी क्षेत्रले मुलुकको दूरदराजमा रहेका जलविद्युत् आयोजनामा लगानी गर्न सक्ने अवस्था छैन,’ उनले भने ‘यदि सरकारले निर्माणाधीन जलविद्युत् आयोजनाको सुरक्षा गर्न सक्दैन भने निजी क्षेत्रले आयोजनाको तालाचाबी बुझाउनुको विकल्प छैन।’

इप्पानका उपाध्यक्ष आशिष गर्गले बुधबार एक प्रेस विज्ञप्ति जारी गरेर न्यासिम खोला जलविद्युत् आयोजनामाथि तोडफोड र आगजनी गर्नेलाई तुरुन्तै पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन्।

‘परियोजनाको कार्यस्थलमा हुने गरेका यस्ता घटनाहरूलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत् आयोजनामा यस्ता कार्यहरू निरुसाहित गरी सुरक्षाको प्रत्याभूति गर्न अनुरोध गर्दछौँ,’ उनले भने ‘घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न माग गरेका छन्।’

प्रकाशित: १८ फाल्गुन २०७९ १०:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App