१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

राजस्वमा उच्च योगदान गर्नेलाई परिसंघको सम्मान

नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा नेपाल सरकारबाट सम्मानित भएका आफ्ना सदस्यहरूलाई सम्मान गरेको छ।

सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ संस्था तथा व्यक्तिलाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो। सम्मानित मध्ये ४ वटा सरकारी लगानी रहेका कम्पनीहरू छन् भने १२ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन्।

१२ मध्ये ८ जना नेपाल उद्योग परिसंघका सदस्य हुन्। निर्यात कारोबार मध्येबाट सबैभन्दा बढी कर तिर्ने करदाता शिव शक्ति घ्यू उद्योग प्रालि, विशेष उद्योग मध्येबाट सबैभन्दा बढी कर तिर्ने राजेश मेटल क्राफ्टस प्रालि, कृषि एवं पशुपन्छीजन्य उद्योग मध्येबाट सबैभन्दा बढी कर तिर्ने ओसिबी फुड्स एण्ड फिड्स प्रालिलाई परिसंघले सम्मान गरेको हो।

यसैगरी, बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने नबिल बैंक लिमिटेड, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने मनकामना दर्शन प्रालि, रेमिटेन्स तथा मनि ट्रान्सफर मध्येबाट सबैभन्दा बढी कर तिर्ने आईएमई लिमिटेड, व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने सूर्य नेपाल प्रालिलाई परिसंघले सम्मान गरेको छ।

परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च कर तिर्ने परिसंघका सदस्यहरूलाई सम्मान गरे। सरकारबाट सम्मानित उच्च करदातामा निजी क्षेत्रमध्येबाट करिब ७० प्रतिशत परिसंघ सदस्यहरू रहेकोमा परिसंघले गर्व महसुस गरिरहेको बताए।

व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने परिसंघ गभर्निङ काउन्सिलका सदस्य विजयकुमार शाहले कोभिड महामारी, तरलताको अभाव, चुनौतीपूर्ण अर्थतन्त्रका बाबजुद सरकारलाई उच्च कर बुझाउन सकेकोमा आफूले गौरव महसुस गरिरहेको बताए।

कार्यक्रममा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोर, गभर्निङ काउन्सिल सदस्यहरू शिवरतन शारडा, उपाध्यक्षहरू राजेश अग्रवाल, वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, मानार्थ उपाध्यक्ष अनुज अग्रवाल, परिसंघको विभिन्न समिति, काउन्सिल तथा फोरमका सभापतिहरूको सहभागिता थियो।

प्रकाशित: १० फाल्गुन २०७९ ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App