१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा दोस्रो औद्योगिक तथा पर्यटन मेला हुने

आउँदो चैत १४ देखि १८ गते सम्म ताप्लेजुङको फुङलिङमा दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला आयोजना हुने भएको छ। 

नेपालकाे मुख्य तथा प्रदेश १ का १४ जिल्लाका पहिचान झल्कने व्यावसायिक उत्पादन सो औद्योगिक कृषि तथा पर्यटन मेलाका मुख्य आकर्षण हुने भएका छन्। 

नेपाल घरेलु तथा साना उद्योग महासंघ र घरेलु कार्यालय ताप्लेजुङकाे मुख्य आयोजक रहने मेलाका मुख्य प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड,फुङलिङ नगरपालिका सहितका ताप्लेजुङका सबै स्थानीय तह र १ नं प्रदेशको खेलकुद विकास बोर्ड रहेका छन्। 

नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका सचिव हर्कराज गुरुङका अनुसार मेलामा परम्परागत पेसा व्यवसायको प्रत्यक्ष अवलोकन, मौलिक खाद्य महोत्सव, अन्तर्राष्ट्रिय कञ्चनजंघा फोटो प्रदर्शनी, ताप्लेजुङ जिल्लाका पर्यटकीय गन्तव्यको जानकारी र कृषि,पशु,वन तथा जडीबुटीजन्य उत्पादनको प्रदर्शनी रहनेछन्। 

यस्तै पर्यटन प्रवर्द्धनमा केन्द्रित रहेर कविता प्रतियोगिता र दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागितामा सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम हुने भएका छन्। महोत्सवका बेला होमस्टे प्रवर्द्धन कार्यक्रमलाई विशेष प्राथमिकता दिइने र नव आगन्तुकलाई होमस्टेमा खाने बस्ने प्रबन्धन गर्ने आयोजक संस्थाको तयारी रहेको छ।

यस्तै दोस्रो डोको क्यारी रन प्रतियोगिता आयोजना गरिने भएको छ। डोको क्यारी रनमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार,२० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउने छन्। कविता प्रतियाेगितामा प्रथम,द्वितीय र तृतीय हुनेले क्रमशः५ हजार,३ हजार र २ हजार रुपैयाँ पुरस्कार पाउने छन्। 

लघु उद्यम सृजनालाई प्रोत्साहन गर्न डोको र टपरी बुन्ने प्रतियोगिता समेत हुनेछ। डोको बुन्ने प्रतियोगिताका विजेताले १० हजार,उज विजेताले ५ हजार र फस्ट रनरअपले २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा सहभागी सबैले नगद ५ सयका दरले प्रोत्साहन रकम पाउने भएका छन्। 

यस्तै टपरी बुन्ने प्रतियोगितामा प्रथम हुनेले २ हजार, द्वितीय हुनेले १ हजार र तृतीय हुनेले नगद ५ सय रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने भएका छन्। गत जेठ २६ गते देखि ३० गते सम्म ताप्लेजुङमा पहिलो औद्योगिक तथा पर्यटन मेला आयोजना भएको थियो। 

घरेलु कार्यालय ताप्लेजुङका निमित्त प्रमुख युवराज घोर्साइले स्थानीय उत्पादनप्रति आकर्षण वृद्धि, रोजगारी सृजना, उद्यम विकास र उत्पादनको बजारीकरण गर्ने प्रमुख उद्देश्यका साथ औद्योगिक तथा पर्यटन मेला आयोजना गर्न लागिएको बताए।

प्रकाशित: ९ फाल्गुन २०७९ १०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App