२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सुधार हुँदै कारोबार

कोभिडले खस्किएको घरजग्गा कारोबारमा केही सुधार हुने संकेत देखिएको छ। कोरोनाका कारण खुम्चिएकोमा क्रमशः सुधार हुँदै गएको हो। भूमिसुधार तथा मालपोत कार्यालय बाँकेमा आर्थिक वर्ष २०७५/७६ मा ४४ करोड ८९ लाख ७० हजार ६९ रूपैयाँ रजिष्ट्रेसन शुल्क उठेको थियो।

उक्त शुल्क असुली घटेर २०७६/७७ सालमा ३४ करोड एक लाख आठ हजार तीन सय ८५ रूपैयाँमा पुग्यो। सबैभन्दा खराब हालत २०७७/७८ मा रह्यो। उक्त वर्ष रजिष्ट्रेसन शुल्क अघिल्लो वर्षभन्दा झण्डै चार भाग घटेर मात्र आठ करोड ३९ हजारमा सीमित भयो।

गत आर्थिक वर्षमा यो शुल्क बढेर ७६ करोड ८५ लाख चार हजारमा चढेको छ। रजिष्ट्रेसन शुल्कले जग्गाको कारोबारलाई इंगित गर्ने गर्दछ। चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्म अर्थात् पुस मसान्तसम्म १९ करोड ५२ लाख आठ हजार रजिष्ट्रेसन शुल्क उठेको छ।

यो गत वर्षको वार्षिक असुलीको तुलनामा निकै कम भए पनि मंसिरबाट फेरि जग्गाको कारोबार उकालो लागेको मालपोतको तथ्यांकले देखाउँछ। मंसिर महिनाअघि दुई करोड बढी मात्र असुली भइरहेकोमा त्यसपछि पुनः रजिष्ट्रेसन शुल्क वृद्धि हुन थालेको मालपोतको लेखा शाखाले जनाएको छ।

यस वर्ष सुरुका केही महिनामा कित्ताकाट रोकिनुका साथै चुनाव लगायतका कारणले जग्गा कारोबार प्रभावित भएको बताइएको छ। यसका साथै स्थानीय तहले जमिनलाई कृषि र गैरकृषिमा वर्गीकरण गर्ने बेलामा बैंकहरूले घरजग्गामा लगानी गर्न नमानेपछि पनि कारोबार कम भएको व्यवसायीहरू बताउँछन्।

टक्सार रियल स्टेट तथा बाँके बर्दिया घरजग्गा व्यवसायी समितिका अध्यक्ष ईश्वर पोखरेल पनि कोरोनापछि ओरालो झरेको घरजग्गाको कारोबार फेरि उकालो लाग्न थालेको बताउँछन्। उनले अहिले पनि घरजग्गा कारोबार मन्दीबाट बाहिर आइनसकेको भए पनि उकालो लाग्ने क्रममा रहेको बताए।

उनले टक्सारले विभिन्न प्याकेजहरू बनाएर मन्दीको अवस्थामा पनि राम्रो कारोबार गरेको उल्लेख गरे। पछिल्लो समय बैंक मर्जरपछि निश्चित कर्जाको निश्चित कोटा छुट्याउन थालेपछि कारोबार थप सुधार हुने अवस्थामा रहेको उनको भनाइ छ।

प्रकाशित: ३ फाल्गुन २०७९ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App