coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आर्थिक राहतको व्यवस्था गर्न माग

साना तथा मझौला व्यवसायीले कोरोना महामारीबाट पीडामा परेका व्यवसायीलाई आर्थिक राहतको व्यवस्था गर्न माग गरेका छन्।

उद्योगी तथा व्यवसायीको छाता संगठनले आइतबार यहाँ संयुक्त पत्रकार सम्मेलन गरी कोरोना महामारीबाट समस्यामा परेका व्यवसायीलाई आर्थिक राहतको व्यवस्था गर्न माग गरेका हुन्। सो अवसरमा व्यवसायी नरेश कटुवालले मुलुकको अर्थतन्त्र जोगाउन देशभरबाट नयाँ आन्दोलनको जमर्को सुरु भएको बताए। उनले मुलुकको अर्थतन्त्र साना उद्योगी तथा व्यवसायीले जोगाएको जनाउँदै साना उद्योगीलाई सरकारले सहयोग गर्नुपर्ने उल्लेख गरे।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले भूकम्प, कोरोना महामारी लगायतका प्राकृतिक विपत्तिका कारण देशको अर्थतन्त्र धराशायी बनेको बेला त्यसको प्रत्यक्ष मारमा साना तथा मझौला व्यवसायी परेको बताए। उनले बैंक तथा वित्तीय संस्थाको गलत नीतिका कारण व्यवसायीले आत्महत्याको बाटो अवलम्बन गर्ने अवस्था आएको उल्लेख गरे।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले पछिल्लो अवस्थामा बैंक फाइदामा र लगानीकर्ता घाटामा गएको बताए। सबैको पेसा व्यवसाय बामे सरेको अवस्थामा बैंक तथा वित्तीय संस्थाको मारमा व्यवसायी परेको उनको भनाइ थियो।

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले सरकारले अहिले हरेक क्षेत्रका व्यवसायीमाथि परेको पीडालाई बुझ्नुपर्ने बताए। साना तथा मझौला व्यवसायी कोरोना महामारीको मारबाट माथि उठ्न नसकिरहेको बेलामा बैंक तथा वित्तीय संस्थाले एकतर्फी रूपमा व्याजदर बढाएको उनको भनाइ थियो।

ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवाल, नेपाल निर्माण व्यवसायी महासंघ काठमाडौंका अध्यक्ष अच्युतम कटुवाल लगायतले बैंक तथा वित्तीय संस्थाको चर्को व्याज दरका कारण कयौं उद्योग बन्द हुने अवस्थामा पुगेको जनाउँदै त्यस्ता उद्योगलाई बचाउन सरकारले विशेष नीति अगाडि सार्नुपर्ने बताएका थिए। रासस

प्रकाशित: १ फाल्गुन २०७९ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App