नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमान अवतरण (ल्याण्ड) गर्दा एक हजार फिट माथि जनै सबै व्यवस्थापन गर्नुपर्ने नियम ल्याइएको बताएका छन्।
उनले पोखरामा भएको दुर्घटनामा विमान धेरै नै तल आइसकेपछि ल्याण्डिङ प्रक्रिया सुरु भएको भन्ने गूनासोलाई सम्बोधन गर्न यस्तो नियम लाइएको बताएका हुन।
आईतवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै महानिर्देशक अधिकारीले भने, ‘पोखरामा भएको दुर्घटनामा विमान धेरै नै तल आइसकेपछि ल्याण्डिङ प्रक्रिया शुरु भएको भन्ने गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न एक हजार फिट माथि नै सबै व्यवस्थापन गरेर मात्रै ल्याण्डिङ गर्नुपर्ने नियम ल्याइएको छ।’
यती एयरको ९ एन एएनसी कल साइनको एटिआर–७२ जहाज माघ १ गते पोखरामा दुर्घटना भएको हो। दुर्घटनामा ६८ जना यात्रु र चालकदलका अन्य चारसहित ७२ जना निधन भएको थियो। जहाज पोखरा महानगरपालिका–७ र १५ को बीचमा पर्ने मितेरी पुल नजिकै सेतीखोँचमा खसेर दुर्घटनाग्रस्त भएको थियो।
महानिर्देशक अधिकारीले नियमित मौसम सूचना उपलब्ध नहुने हिमाली तथा उच्च पहाडी क्षेत्रमा मौसमी क्यामेराहरु जडान भइसकेको जानकारी पनि दिए। उनले भने, ‘जोमसोममा भएको दुर्घटनापछि प्राधिकरण राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर पोखरादेखि जोमसोम रुटका सबै ठाउँमा अहिले लाइभ वेदर क्यामेरा जडान गरिसकेको छ। अब चाँडै नै लुक्ला र सिमिकोटमा जडान गर्ने तयारी छ।’
अधिकारीले लाइभ वेदर क्यामेरा जडानपछि पाइलटले उडान गर्नुपूर्व नै रुटको सम्पूर्ण जानकारी लिनसक्ने बताए। उनले भने, ‘उडानपूर्व बाध्यकारी रुपले उडान सुरक्षा जोखिम मूल्यांकन गर्नुपर्ने, त्यो नियम हामीले तारा एयर दुर्घटना पछि हामीले सुरक्षित भएको ग्यारेन्टीपछि मात्रै उडान गर्ने नियम राखेका थियौँ। त्यो सफ्टवेयर नै छ, सेफ्ट छ भने मात्रै उसले उडान गर्न पाउनेछ।’ अधिकारीले दुर्गममा सबै इण्डोर वेदर खराब भएका कारण दुर्घटना भएको निष्कर्ष आएको बताए।
प्रकाशित: २९ माघ २०७९ १०:४२ आइतबार