१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

लेकसाईडका होटल/रेस्टुरेन्ट आचारसंहिताले बाँधेर चौबिसै घण्टा खोल्न दिने तयारी

पोखराको लेकसाईडलाई चौबिसै घण्टा खोल्न दिने तयारी भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको निर्देशन र पर्यटन व्यवसायीको माग अनुसार फेवाताल लेकसाईडलाई चौबिसै घण्टा खोल्न दिने तयारी भएको हो। 

तर त्यसका लागि पर्यटन व्यवसायी आचारसंहितामा भने बाँधिनु पर्नेछ। चौबिसै घण्टा खोल्नुअघि कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रोहवरमा सर्वदलीय/सर्वपक्षीय बैठक बसेर आचारसंहिता बनाइने बताइएको छ।

लेकसाईडका पर्यटन व्यवसायीहरुले प्रहरीले दश नबज्दै होटल/रेस्टुरेन्ट बन्द गर्न निर्देशन दिने, लेकसाईड प्रवेशका नाकाहरुमा मादक पदार्थ सेवन (मापसे) चेकिङ गर्ने गरेर दुःख दिँदा व्यवसाय चौपट भयो भन्दै मुख्यमन्त्री खगराज अधिकारी समक्ष गुनासो गरेका थिए। पटक/पटकको गुनासोपछि मुख्यमन्त्री अधिकारीले कार्यक्रम स्थलबाटै सिडिओ टेकबहादुर केसी र एसपी अजय केसीलाई फोन गरेर लेकसाईडका व्यवसाय चौबिसै घण्टा खोल्ने वातावरण बनाउन निर्देशन दिएका थिए। माघ २१ गते पोखरा पर्यटन परिषद्को कार्यक्रम स्थलबाट फोन गरेर पहिलो पटक दिएको निर्देशन कार्यान्वयन नभएपछि मुख्यमन्त्री अधिकारीले बिहीबार महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को कार्यक्रम स्थलबाटै एसपी र सिडिओलाई पुनः फोन गरेर निर्देशन दिए। लगत्तै उनले पर्यटन व्यवसायीहरुलाई छलफलका लागि आफूले पठाउने भन्दै उनीहरुका माग सम्बोधन गर्न पनि भने।

मुख्यमन्त्रीको निर्देशनपछि पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठसहितको पर्यटन व्यवसायीको टोली आइतबार एसपीलाई भेट्न पुगेको थियो। भेटमा एसपी अजय केसीले आचारसंहिता बनाएर मात्रै चौबिसै घण्टा खोल्न दिन सकिने बताएका थिए। त्यसका लागि सर्वदलीय/सर्वपक्षीय बैठक बसेर निर्णय गर्नुपर्ने उनको भनाई थियो।

त्यस लगत्तै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले सिडिओ केसीलाई सर्वदलीय/सर्वपक्षीय बैठक बस्नका लागि समय मागेका थिए। मुख्यमन्त्रीको फोनका कारण पहिल्यै अपडेट भएर बसेका सिडिओ केसीले तुरुन्तै हुन्छ भनेपछि सर्वदलीय/सर्वपक्षीय बैठकको समय तय भएको थियो।

पर्यटन व्यवसायीलाई एसपी केसीले व्यवसायमा अवरोध गर्ने प्रहरीको नियत नभएको प्रस्ट्याएका थिए। उनले आचारसंहितामा बाँधिएर व्यवसाय गर्नेलाई बाधा अवरोध नगरेको र आगामी दिनमापनि नगर्ने बताएका थिए। हामी जनताको सेवा र सुरक्षाका लागि खटिएका हौं,उनले भने, ‘जनतालाई शान्ति सुरक्षा दिने र अमन चयनका साथ बाँच्नसक्ने वातावरण बनाउने जिम्मेवारीमा हामी डटिरहनेछौं।’ तर व्यवसायपनि आचारसंहितामा बाँधिएर मर्यादित तरिकाले चल्नुपर्ने उनको भनाई थियो। उनले थपे, ‘चौबिसै घण्टा खुल्ला गर्नुपर्छ भनेर मात्र हुँदैन। व्यवसायपनि अनुशासित र मर्यादित रुपमा चल्नुपर्छ।’ मर्यादित रुपमा नचलेकालाई मात्र बन्द गराउने गरेको उनको आशय थियो। उनले कसैको फोन आयो भन्दैमा जनताको सुरक्षामा असर पर्ने गरी व्यवसाय खुल्ला गर्न नसक्ने जवाफसमेत दिएका छन्। 'कसैको फोनले डगमगाउने कुरा भएन। जनताले पनि त सुरक्षित महसुस गर्नुपर्‍यो नि ’–उनले भने।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले एसपीसँगको भेट सकारात्मक भएकाले चाँडै लेकसाईड चौबिसै घण्टा खुल्ने वातावरण बन्नेमा आशावादी भएको बताए। एसपीलाई आफूहरूले आग्रह गरेको कुरा उद्धृत गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘सुरक्षाको दृष्टिकोणबाट के–के मिलाउनु पर्ने हो मिलाउनुस् तर खोल्न पाउनुपर्‍यो’ भन्यौँ।’ उनले बाहिरबाट आएका पर्यटकलाई पोखरा खुल्ला छ, शान्त छ, सुरक्षित छ भन्ने सन्देश दिनुपर्नेमा जोड दिए।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य तथा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष टीकाराम सापकोटाले लेकसाईड चौबिसै घण्टा खोल्न प्रहरी प्रशासन सकारात्मक पाएको बताए। ‘सर्वदलीय/सर्वपक्षीय बैठकपछि आचारसंहिता बनाएर चौबिसै घण्टा खोल्ने वातावरण बन्छ भन्ने लाग्छ’–उनले भने।

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीका पूर्व अध्यक्ष हरि भुजेलले दश/एघार नबज्दै होटल÷रेस्टुरेन्ट बन्द गर्दा पर्यटकमा नराम्रो सन्देश गएको बताए। अझ पछिल्लो समय लेकसाईडमै ट्राफिक चेकिङ गर्दा पर्यटकहरू आतंकित भएकाले त्यसको समाधानका लागि मुख्यमन्त्री गुहार्नुपरेको उनको भनाई थियो। पर्यटनमा बल्ल सुधारको संकेत देखिन थालेको छ। यहिबेला दश÷एघार नबज्दै बन्द गर्न उर्दी जारी गर्ने, खान बसेका पर्यटकलाई ह्यारेसमेन्ट गर्ने, पर्यटक होटलमा छिर्न नपाउँदै होटल बन्द गर्दा खाना खानपनि नपाई बन्द गर्नुपर्नेजस्ता हर्कतले पर्यटनमा नराम्रो असर गरेको छ। त्यसको अन्त्य गर्न सर्वपक्षीय÷सर्वदलीय बैठक निर्णायक हुने अपेक्षा आफूहरूले गरेको उनको भनाई थियो।

प्रकाशित: २६ माघ २०७९ १२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App