भौगोलिक रूपमा कठिन दुर्गम जिल्लाले चिनिने कालिकोटमा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन्। तर प्रचार र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा छन्। स्थानीय सरकार आएपछि केही परिवर्तन भने हुन थालेको छ। प्रचारको अभावमा ओझेलमा परेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि यहाँका स्थानीय तहले सक्रियता देखाएका छन्।
पालिकाभित्र सम्भावना बोकेका पर्यटकीय क्षेत्रलाई प्रचारप्रसार गर्न केन्द्र र प्रदेश सरकारसँग स्थानीय तहले समन्वय गरिरहेको छ। स्थानीय तहले छिमेकी जिल्ला अछाम, बाजुरा, दैलेखसहित जिल्लाका विभिन्न पालिकासँग जोडिएका महत्वपूर्ण गन्तव्यको पहिचान र प्रचार गरी पूर्वाधार निर्माण गर्न थालेको हो।
कर्णाली करिडोरलगायत सीमा क्षेत्रमा सडक सञ्जालले जोडिएपछि ओझेलिएका गन्तव्य पनि प्रचारमा आउन थालेका छन्। पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलको गुरुयोजना बनाउने र तिनीहरूको प्रचार र विकासका लागि गाउँपालिका योजनाबद्ध रूपमा लागेको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए। सिंहले चर्चामा आएका गन्तव्यको पूर्वाधारमा जोड दिने र ओझेलमा रहेका स्थलको प्रचारलाई तीव्रता दिने बताए। उनी भन्छन्, ‘कालिकोटमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन्, कति हामीले पहिचान गरेका छौं, कति त पहिचान गर्न बाँकी नै छन्, पहिचान र प्रचारका लागि निरन्तर लागिरहेका छौं, पहिचान भइसकेका स्थलमा पूर्वाधार निर्माण गर्ने र प्रचार गर्ने कार्यमा जुटेका छौं।’
विशेष गरी महावै गाउँपालिका दैलेखसँग जोडिएको प्रसिद्ध महाबुधाम पर्यटकीय क्षेत्रको पहिचान गरी प्रचारमा जुटेको अध्यक्ष सिंहको भनाइ छ। यस्तै त्रिवेणी क्षेत्र कालिकोटको सिमानामा पर्ने बडिमालिका, त्रिवेणी पाटनजस्ता पर्यटकीय क्षेत्रको विकासका लागि कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका र बाजुराको बडिमालिका नगरपालिकाले दुवै पालिकाका जिल्ला र प्रदेश सरकारसँग सहकार्य गरेर विकास गर्ने कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंहले बताइन्। ‘यहाँ थुप्रै परम्परागत धार्मिक कला, संस्कृतिसँगै प्राकृतिक सौन्दर्यले भरिएका ठाउँ छन्। धेरैजसो पर्यटकीय तथा धार्मिक क्षेत्र विभिन्न जिल्लाका सिमानामा रहेका छन्। त्यसले गर्दा दुवै पक्षले समन्वय सहकार्य गरेर विकास गर्दा राम्रो हुने हुँदा छलफल गरिरहेका छौं र आ–आफ्नो सिमानामा पर्ने स्थलको आफैं योजना बनाउने उपाध्यक्ष सिंहले बताइन्।
देशका एक सय गन्तव्यभित्र एसियाकै अग्लो भनेर दाबी गरिएको पचाल झरना रहेको छ। सँगै प्रचारप्रसारको अभावमा ओझेलमा परेका प्रसिद्ध पर्यटकीय क्षेत्र बडिमालिका, तिलागुफा, रुरुबन्चु, पञ्चदेवललगायत क्षेत्र पनि रहेका छन्।
पहिलो चरणमा सम्भावना बोकेका ठाउँको पहिचान गरिरहेको र त्यसको विकास गर्ने पालिकाको दायित्व भएकाले नागरिकको पर्यटन व्यवसायबाटै जीवनस्तर उकास्ने कोसिसमा पालिका लागिपरेको सान्नी त्रिवेणी गाउँपालिकाले जनाएको छ।
पर्यटन प्रवद्र्धनका लागि यस वर्ष सबै पालिकाले बजेट विनियोजन गरेको तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले बताए। अबको प्राथमिकतामा पर्यटन प्रवर्धन रहेको भन्दै त्यसका लागि आठ लाख विनियोजन गरेको उनको भनाइ छ। पर्यटकीय ठाउँमा संरचना निर्माणका लागि प्रदेश सरकारबाट पनि केही बजेट माग गरेको र नगरपालिकाले थप बजेट व्यवस्थापन गरेर नयाँ गन्तव्यको प्रचारमा जोड दिने उनको भनाइ छ।
प्रकाशित: २५ माघ २०७९ ०१:१८ बुधबार