४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

गाउँमा पर्यटक पल्काउन थुम्केरानी महोत्सव

माइजोगमाई गाउँपालिकाको पर्यटकीयस्थल थुम्केरानीमा आयोजना गरिएको महोत्सव १४ हजारभन्दा बढीले अवलोकन गरेका छन्। महोत्सवमा सहभागी हुन पूर्वी जिल्लासहित भारतीय पर्यटकसमेत आइपुगेका छन्।  

आइतबार सुरु महोत्सवमा स्थानीय कृषि उत्पादन प्रमुख आकर्षण थिए। लेकाली क्षेत्रमा पाइने मालिङ्गो, कोदो, सिताके च्याउ, आलुलगायत स्थानीय परिकारमा पर्यटक आकर्षित भएको गाउँपालिकाका निवर्तमान अध्यक्ष जितबहादुर राईले जानकारी दिए। ‘महोत्सवमा १५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको अनुमान छ,’ उनले भने, ‘यहाँको पर्यटन प्रवद्र्धन गर्न महोत्सवले सघाएको छ।’

गाउँमा पर्यटकीय पूर्वाधार अभाव भएपनि महोत्सव अवलोकन गर्न टाढा–टाढाबाट आगन्तुक सहभागी भए। उनीहरू खाद्यमात्र नभइ स्थानीय उत्पादनका अन्य स्टलसमेत अवलोकन गरेका छन्। पर्यटकलाई स्थानीय २० घरमा होम–स्टे व्यवस्था गरिएको थियो। होम–स्टेमा पनि स्थानीय परिकार र उत्पादनलाई नै जोड दिइएको छ।  

थुम्केरानीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै प्रचार गर्न थुम्केरानी तुम्लिङ, मेघमा संरक्षण तथा पर्यटन प्रवद्र्धन समितिले महोत्सव आयोजना गरेको हो। पर्यटकहरू सहरमा मात्रै घुम्ने चलन अन्त्य गर्दै गाउँमा पनि उनीहरूलाई लोभ्याउने दर्जनौं पर्यटकीयस्थल छन् भन्ने देखाउन महोत्सव आयोजना गरिएको आयोजक समितिले जनाएको छ। विश्वमै दुर्लभ वन्यजन्तु रेडपान्डाको मुख्य बासस्थान मानिने थुम्केरानी क्षेत्र लेकाली भेगमा पर्छ। यहाँ आएका पर्यटकले तुम्लिङ मेघमालगायत उच्च पहाडी भू–भागबाट कञ्चनजंघा, कुम्र्भकर्णलगायत हिमाल अवलोकन गरेका छन्। यीसहित दर्जनौं हिमशृङ्खला यहाँबाट दृश्यावलोकन गरिएको पर्यटकले बताए। कृषिमा आधारित जीवनशैली, गाईवस्तु पालन तथा रैथाने खेतीपाती यो क्षेत्रका विशेषता हुन्।  

महोत्सव उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले थुम्केरानी क्षेत्रलाई गाउँपालिकाले एक प्रमुख पर्यटकीयस्थलका रूपमा विकास गर्ने बताए। ‘माइजोगमाई गाउँपालिकामा दर्जनौं पर्यटकीयस्थल अझै ओझेलमै छन्,’ उनले भने, ‘थुम्केरानीसहित यहाँका पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा गाउँपालिकाले प्राथमिकता दिएको छ।’ उनले स्थानीय तहको स्रोत–साधन अपुग हुँदा प्रदेश र संघीय सरकारबाट पनि यहाँको पर्यटन पूर्वाधारमा बजेट ल्याउन आफू लागिपर्ने प्रतिबद्धता जनाए।  

यसै क्षेत्रबाट निर्वाचित १ नम्बर प्रदेशकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री खिनु लङ्वा लिम्बूले पर्यटन प्रवद्र्धनका लागि आफूले पनि पूर्वाधार विकासमा जोड दिएको बताइन्। ‘पर्यटन विकास गर्न पूर्वाधार नै पहिलो आवश्यकता हो,’ उनले भनिन्, ‘अहिले यो क्षेत्रका केही सडक प्रदेश सरकारकै अग्रसरतामा स्तरोन्नति भइरहेका छन्, सडकमात्र होइन, अन्य पूर्वाधार विकासमा पनि स्थानीय, प्रदेश र संघीय सरकारको समन्वय आवश्यक छ।’  

प्रकाशित: २४ माघ २०७९ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App