७ वैशाख २०८१ शुक्रबार
अर्थ

लामा खोला र ज्यामिरे पुलको एप्रोच सडक कालोपत्रे

लामा खोलामा निर्मित पुलको एप्रोच सडक कालोपत्रे गर्दै। तस्बिरः महेश्वर

राष्ट्रिय महत्त्व बोकेको ‘मदन भण्डारी लोक मार्ग’को गाईघाट–बसाहा खण्डमा पर्ने लामा खोला र ज्यामिरे खोलामा निर्मित पक्की पुलको एप्रोच कालोपत्रे काम सकिन लागेको छ। भर्खरै निर्माण सकिएर सञ्चालनमा आएको चौदण्डीगढी नगरपालिका ४ बसाहा बर्खेडाँडास्थित लामा खोला र चौदण्डी गढीकै ९ को हडियास्थित ज्यामिरे खोला पुलको एप्रोच सडक कालोपत्रे काम सकिने चरणमा पुगेको हो।

८० मिटर  लामो २ स्पानको लामा खोला पुलको दुवैतर्फ एप्रोच सडकको कालोपत्रे कार्य भर्खरै सकिएको मदन भण्डारी लोक मार्ग योजना कार्यालय प्रमुख (सिडिई) गोपाल खकुरेलले बताए। उनका अनुसार लामा खोलाको एप्रोच कालोपत्रे ३ दिनअघि नै सम्पन्न भईसकेको छ भने ४० मिटर लामो १ स्पानको ज्यामिरे पुलको एप्रोच कालोपत्रे पनि ९० प्रतिशत सकिइसकेको छ। यो एप्रोचको काम साता दिनभित्र सकिने उनले बताए। दुवै पुलका दुवैतर्फ करिब २ सय मिटर एप्रोच सडक कालोपत्रे भएको सिडिई खकुरेलले बताए।  

यता सोही खण्डमा पर्ने थप २ वटा पुल भने निर्माण सम्पन्न हुन बाँकी छन्। सदरमुकाम त्रियुगा नगरपालिका १३ स्थित असारी खोलाको पक्की पुलको काम सम्पन्न भईसके पनि एप्रोच सडक कालोपत्रे हुन बाँकी छ। त्यसको एप्रोच कालोपत्रे गर्ने तयारी भइरहेको छ। ३५ मिटर लम्बाइको १ स्पानको असारीमा एप्रोच कालोपत्रेका लागि रिटेनिङ वाल निर्माण अन्तिम चरणमा पुगिसकेको छ। सो पुलको एप्रोच सडक आउँदो फागुनभित्र कालोपत्रे गरिसक्न गरी धमाधम काम भइरहेको छ। 

उता चौदण्डी गढीकै ९ नं। वडाको खैराहा खोलामा निर्माणाधीन पुलका लागि पिल्लर उठाएर स्ल्याब ढलानको तयारी भइरहेको छ। सो ठाउँको पुल पनि यसअघि नै सक्ने गरी निर्माण थालिए पनि जग खन्ने क्रममा चट्टान भेटिएपछि केही माथि सारेर जग राख्नुपर्दा ढिला हुन गएको हो। पहिला पिल्लर उठाउनका लागि जग खन्ने क्रममा कडा चट्टान फेला परेपछि अर्को ठाउँ सार्नुपरेकाले पुलको काम थाल्न झण्डै ६ महिना ढिला भएको कार्यालयले जनाएको छ।

गाईघाट–चतारा ७२ किलोमिटर दूरीको गाईघाट–बसाहा खण्डका दर्जन हाराहारी खोला खहरेमध्ये लामा र ज्यामिरेमा पुल नहुँदा वर्षा याममा सवारी आउजाउ गर्न अत्यन्त कष्टकर अवस्था थियो। भर्खरै ती दुवै पुल बनेपछि वर्षा याममा सहजसँगै गाईघाटदेखि धरान, बिराटनगर आउजाउ गर्न झण्डै आधा घण्टा समय छोटिएको छ। एकैचोटी सबै खोलामा पुल निर्माण गर्ने लोक मार्ग आयोजना कार्यालयले ठेक्का लगाए पनि विविध प्राविधिक कारणले ती २ सहित ४ वटा खोलामा पुल बन्न ढिलाई भएको थियो।  

योजना कार्यालयका सूचना अधिकारी प्रभात किरण राईले चालु आर्थिक वर्षको अन्तिम अर्थात आउँदो असारभित्रै दुवै पुल निर्माण गरिसक्ने गरी काम भइरहेको बताए। बसाहा– गाईघाट खण्डमा दोस्रो चरणमा निर्माण गरिएका ८ वटा पुलहरूमध्ये सुन्दरी, लामा र ज्यामिरे खोलाका पुल निर्माणको जिम्मा सपना–हिन्दुङ–थोकर निर्माण कम्पनीले लिएकोमा सुन्दरी ६ महिनाअघि नै एप्रोच कालोपत्रेसमेत निर्माण भईसकेको छ। त्यस्तै असारी, खैराहा, मौवासी र अर्ने खोला पुल बनाउने ठेक्का भने लामा–शर्मा जेवीले पाएको इन्जिनियर राईले बताए। 

मौवासी र अर्ना खोलाका पुलहरु भने गाईघाट–कटारी खण्डमा निर्माणाधीन हुन्। जसमध्ये मौवासीको पुलको स्ल्याब ढलान भइरहेको छ भने अर्नामा पिल्लर गाड्न जग खन्ने काम भइरहेको छ। कटारी–गाईघाट खण्डमै पर्ने अन्य २ वटा पुलहरु धराप र रातु खोलाका पुलहरु पनि स्ल्याब ढलान सकिएर अन्य काम सुरु भएको छ। कटारी–गाईघाट खण्डका धराप र रातु तथा कटारी–सिन्धुली खण्डमा पर्ने सुनखानी, पँधेरे र थनाहा खोलाका पुलहरु बनाउने ठेक्का चाहिँ लुम्बिनी–खानी–समानान्तर जेवीले लिएको इन्जिनियर राईले बताएका छन्। 

प्रकाशित: २३ माघ २०७९ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App