१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मध्य तराईका किसान टनेल खेति प्रविधितर्फ आकर्षित

सर्लाही– टनेल प्रविधिमार्फत ग्रिन हाउसमा तरकारी खेती गर्ने क्रम काठमाडौं उपत्यकाबाट अब तराइसम्म पनि विस्तार हुन थालेको छ। मध्य तराईको सलार्ही जिल्लामा टनेल खेतिले व्यापकता पाएको हो ।

सर्लाहीमा हालसम्म ३५ स्थानमा ३५ जना किसानले टनेल प्रविधिमार्फत ग्रिन हाउसमा तरकारी खेती विस्तार गरिसकेका छन्। ‘तराईका किसान पनि टनेल खेतिप्रति निकै नै उत्साहित बनेका छन्,’ राजघाट–७ बिहानी चोकस्थित जयकाली एग्रिकल्चर प्रालिका सञ्चालक दीपेन्द्र मैनालीले भने। 

हालसम्म उनले नै जिल्लाका ३५ जना किसानलाई टनेल निर्माण गरी ग्रिन हाउसमा खेती गर्न सिकाइ सकेका छन्। ‘टनेल निर्माण गरी ग्रिन हाउसमामा खेती गर्दा मौसमी प्रतिकुल प्रभाव विरुवाले भोग्नु पर्दैन, राम्रो उत्पादन लिन सकिन्छ,’ उनले भने, ‘मैले मात्रै ३० भन्दा बढी कृषकलाई टेनेल प्रविधि मार्फत ग्रिन हाउसमा खेती गर्न सिकाइ सकेको छु, अझै कतिपय किसान टनेल खेती विस्तार गर्ने तयारी गर्दै हुनुहुन्छ।’ 

इजरायलमा टनेल खेती प्रविधिबारे सिकेर आएका युवाहरुले काठमाडौंमा खोलेको कृषि फारममा करिब २ वर्ष काम गरेका जयकालिका सञ्चालक दीपेन्द्रले करिब ३ वर्षदेखि आफ्नै गाउँ सर्लाहीको राजघाटमा कृषि फार्म सञ्चालमा ल्याएका हुन्। सुरुमा उनलाई स्थानीय कृषकहरुले खासै विस्वास गरेका थिएनन्। ‘सुरुमा त मेरो फार्मबाट मैले फाइदा लिन सक्छु भन्ने स्थानीयमा विश्वास नै थिएन,’ उनले भने, ‘मेरो फार्म सफल रुपमा चलेको देखेपछि अहिले कृषकहरु टनेल प्रविधितर्फ आकर्षित हुनुभएको छ।’ 

स्थानीय कृषकको आकर्षण र आवश्यकता अनुसार नै उनले हाल टनेल खेति प्रविधि, थोपा सिँचाई प्रविधि, आधिनिक कृषि औजार, विउविजनजस्ता कृषिजन्य वस्तु तथा सेवा उपलब्ध गराउने गरेका छन्। ‘जयकाली एग्रिकल्चर प्रालिमार्फत हामीले हाल टनेल निर्माणलाई आवश्यक प्लाष्टिक, ग्रिन नेट, थोपा सिँचाईका लागि आवश्यक मेसिन तथा सामग्री तथा टनेल निर्माण सेवा कृषकलाई उपलब्ध गराइरहेका छौं,’ उनले भने। सर्लाहीमा २०, पर्सामा ९, रौतहटमा ७, इलाममा ३ सिन्धुली गरी करिब ४० स्थानमा टनेल निर्माणका लागि आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउन माग आएको उनले बताएका छन्। 
जिल्ला कृषि विकास कार्यालय सर्लाही, गैरसरकारी संस्था, स्थानीय कृषि सहकारी संघसंस्थाको समन्वयमा जलकालीका सञ्चालक दीपेन्द्रले हालसम्म तराईका विभिन्न १२ स्थानमा टनेल खेति प्रविधिबारे तालिम प्रशिक्षण पनि दिइसकेका छन्। 

‘६ मिटर चौडाइ र २५ मिटर लम्बाइएको एउटा टनेलमा खेती गर्दा एउटा ८ जनासम्मको परिवारलाई आफ्नो प्रयोगका लागि तरकारी बजारमा किन्नु पर्दैन,’ उनले भने, ‘व्यवसायीक रुपमा खेती गर्ने हो भने कम्तिमा पनि १० ओटा टनेलमा खेति गर्नुपर्छ र एउटा टनेल निर्माणका लागि करिब २५ हजार रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ ।’ टनेलमा काउली, भेंडेखुर्सानी, खुर्सानी, काँक्रो, सागलगायत हरेक किसिमका तरकारी रोप्न मिल्ने उनले बताए। 

तरकारीजन्य उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउन र नेपाली युवालाई नेपालमै रोजगारीको अवसर प्रदान गर्न पनि तराईका समथर र उर्वर फाँटहरुमा टनेलप्रविधि मार्फत ग्रिनहाउस खेति उपयुक्त विकल्प भएको हुने उनले सुझाए। 

 

प्रकाशित: २३ भाद्र २०७३ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App