कर्णाली प्रदेशमा माछा उत्पादन न्यून हुने गरेको छ, जसका कारण लुम्बिनी प्रदेशबाट माछा आयात गर्नुपर्ने अवस्था छ। प्रदेश सरकारले माछापालन क्षेत्रमा ठोस कार्ययोजना नल्याउँदा किसान आकर्षित हुन सकेका छैनन्। जसले गर्दा कर्णालीमा उत्पादन गरेको माछा अपुग हुने गरेको छ। माछापालन गर्ने किसानको संख्या न्यून हुँदा माछा उत्पादन कम भएको हो।
कर्णालीमा गरिएको उत्पादन र यहाँका खोला, नदीबाट मारेर बिक्रीका लागि ल्याइने माछा कर्णालीमा अपुग हुने गरेको एक तथ्यांकले देखाएको छ। कर्णालीमा प्रदेशमा लुम्बिनी प्रदेशको बाँके र बर्दियामा किसानले उत्पादन गरेको विभिन्न जातका माछा ल्याएर बिक्री हुने गरेको छ। उपभोक्ताले कार्प जातका माछा बढी मन पराउने गरेको अध्यायनले देखाएको छ।
कर्णालीमा कार्प, पगांसियस जातको माछा उत्पादन गरिन्छ। यहाँको हावापानी र नजिकै पानीका मूल भएको जग्गा भएका कारण पछिल्लो समय यहाँको ट्राउट जातको माछा पालन भइरहेको छ, तर नेपालमा १० जातका माछापालनका लागि विज्ञहरूले सिफारिस गरेका छन्। कर्णालीमा उत्पादन भएको माछा अपुग भएर बाँके र बर्दियाबाट दैनिक दुई सय केजी माछा भित्रिने गरेको कर्णाली प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार कृषि कर्णालीमा २ सय ६५ रोपनी क्षेत्रफलमा माछापालन गरिएको छ। सुर्खेतमा १ सय ४५ रोपनी, सल्यानमा ७५ रोपनी, रुकुम (पश्चिम) मा २७ रोपनी, जाजरकोटमा १० रोपनी र दैलेखमा ८ रोपनी क्षेत्रफलमा माछापालनका लागि पोखरी निर्माण गरिएको छ।
कर्णालीमा वार्षिक १ सय ६६ टन माछा उत्पादन हुने गर्दछ। सबैभन्दा बढी सुर्खेतमा ८० मेट्रिक टन रहेको छ भने सबैभन्दा कम जुम्लामा १ मेट्रिक टन रहेको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको हटिया लाइनमा धेरै माछा बिक्री हुने स्थानका रूपमा रहेको छ। प्रदेश सरकारले माछापालन व्यवसायीका लागि पोखरी क्षेत्र विस्तार गर्न नयाँ पोखरी निर्माणका लागि कार्यक्रम ल्याएको छ। पोखरीबाहेक यहाँका ठूला तथा साना खोलाबाट समेत माछा मार्ने गरिन्छ, जसमा भेरी, बबई, कर्णाली, रामघाट खोला, छामघाट, लोहोरे, हिमा, तिला र सिंजा, छेडागाड, सानो भेरी, नलगाड, शारदा, बालिगाड, खल्लागाड, हुम्ला कर्णाली, दोजान खोला, सर्केगाड, जगदुल्लाभेरी, ठूली भेरी, उत्तरगंगा खोला, खत्याड खोला र लुम्सा खोलालगायतका रहेका छन्। यी खोलाबाट माछा मारेर जीविकोपाजन गर्ने समुदाय रहेका छन्। खोलाबाट माछा मारेर स्थानीय बजार मुख्य बजार हुने गर्दछन्।
कर्णालीमा न्यून जलाशय क्षेत्रफल ९ सय ३३ हेक्टर रहेको छ। कर्णालीमा न्यून माछा उत्पादन ९ सय ७७ मेट्रिक टन हुने गरेको छ। माछापालनका लागि कर्णालीमा उच्च सम्भावना भए पनि सरकारबाट प्राथमिकतामा पर्ने गरेको छैन। यहाँ सरकारी तथा निजी मत्स्य ह्याचरी नभएकाले मत्स्य विज आपूर्तिमा कृषकलाई कठिनाइ हुने गरेको छ। प्राकृतिक जलाशयमा मत्स्यपालनका सम्भावित क्षेत्र कर्णालीमा धेरै भए पनि सरकारी तवरबाट पहिचान हुन सकेको छैन।
प्रकाशित: १९ माघ २०७९ ०१:१५ बिहीबार