८ वैशाख २०८१ शनिबार
अर्थ

व्यवसायी भन्छन्ः घाँटीमाथि तरवार राखेर व्यवसाय गरेका छौं

पृथ्वी होटल व्यवसायी समिति पोखराको साधारण सभाको उद्घाटन शत्रमा सहभागि। तस्बिरः सन्देश/नागरिक

पर्यटन व्यवसायीहरुले घाँटीमाथि तरवार राखेर व्यवसाय गरिरहनुपरेको गुनासो गरेका छन्।

पोखराका विभिन्न क्षेत्रमा पर्यटन व्यवसाय गर्ने व्यवसायीको साझा संस्था पृथ्वी होटल व्यवसायी समितिको दशौं साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा बोल्ने व्यवसायीले कोरोना संक्रमणपछि देखिएको आर्थिक मन्दी, राज्यको बेवास्ता, बैंकको आतंक, घरधनीको किचकिचलगायतका कारण व्यवसाय संकटग्रस्त अवस्थामा पुगेको बताएका हुन्। त्यसबाहेक कामदारको अभाव, दक्ष कामदारको पलायन, चेक बाउन्सका नाममा दिइने शास्तीपनि आफूहरुले भोगिरहेको उनीहरुको भनाई छ।

कार्यक्रममा बोल्दै पृथ्वी होटल व्यवसायी समिति पोखराका पूर्व अध्यक्ष कमलप्रसाद न्यौपानेले बैंक, घरधनी लगायतको आतंकका कारण व्यवसायी त्रासैत्रासमा बस्नुपर्ने अवस्थामा रहेको बताए। घाँटीमाथि तरवार झुण्डाएर व्यवसाय गरिरहनुपरेको छ,उनले भने,‘कतिबेला घरबेटीले निकाल्ने हो, कतिबेला प्रशासनले दुःख दिने हो भन्ने त्रासैत्रासमा व्यवसायीले बस्नुपरेको छ।’

होटल व्यवसायी महासंघका गण्डकी प्रदेशका महासचिव देवेन्द्र लम्सालले बैंकको आतंकले व्यवसायीलाई मर्नु न बाँच्नुको स्थितिमा पु¥याएको गुनासो गरे। हरेक दिन चारपाँच पटक बैंकबाट फोन आउँछ,’ उनले भने, ‘पहिले कोभिडको आक्रान्त, अहिले पोष्ट कोभिडको असर देखिइरहेको छ। अर्कोतर्फ कर्जाको किस्ता तिर्न बैंकको ताकेताले सिर्जना गरेको आतंक, घरधनीको दवाब झेल्नै नसक्ने भइसकेको छ।’

चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यमनाथ पौडेलले पनि बैंक व्याजदर तथा किस्ता र व्याज तिर्नका लागि बैंकले गरेको ताकेताले व्यवसायी हैरानीमा परेको बताए। ‘मुटुमाथि ढुंगा राखि व्यवसाय गर्नुपरेको छ,’ उनले भने। भोलि केहि हुन्छ कि भनेर आजको दिन सहनुको विकल्प नभएको उनको भनाई थियो।

होटल संघ गोरखाका अध्यक्ष अञ्जनबाबु खत्रीले समस्यामा परेका पर्यटन व्यवसायीको समस्या समाधानका लागि राज्यले बेवास्ता गरेको आरोप लगाए। उनले भने, ‘भूकम्प, नाकाबन्दी, कोरोना र आर्थिक मन्दीले व्यवसाय ठप्प हुँदा पनि राज्यले हामीलाई हेरेन। साँच्चै भन्ने हो भने राज्यले हामीलाई दोश्रो दर्जाको नागरिकका रुपमा हेरेको महसुस हुन्छ।’

होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष भाईरत्न श्रेष्ठले व्यवसायीमाथि राज्यको नजर कहिल्यै नपरेको आरोप लगाए। पेशा व्यवसायलाई सम्मान गर्ने काम राज्यले कहिल्यै गरेन,’ उनले भने, ‘पर्यटक ल्याउने भन्छ तर सरोकारवाला हामीलाई कहिल्यै सोध्दैन। योजना बनाउँदा सुझाव माग्दैन। कार्यान्वयन गर्दा सँगसँगै लैजादैन।’ उनले कोभिडको असर अहिले देखिरहेको बताए। अहिले धेरै स्टाफ राखेर व्यवसाय सञ्चालन गर्दा तलब दिन गाह्रो अनि थोरै स्टाफ राखेर सञ्चालन गर्दा सेवा दिन गाह्रो स्थिति रहेको बताए।

पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण निउरेले बैंक व्याजदरले व्यवसायीको ढाड सेकिरहेको बताए। पोष्ट कोभिडको असर देखिरहेको अवस्थामा यती एयरलाईन्सको जहाज पोखराको सेती खोंचमा दुर्घटनामा परेपछि त झन् पर्यटक आगमनमा ह्रास आएकाले व्यवसाय झन् चौपट भएको उनले बताए। ‘यहि अवस्था ६ महिना लम्बिए धेरै व्यवसायी पलायन हुन्छन्,’ उनले भने। समितिका महासचिव जीवन भण्डारीले कर आतंक, बैंक आतंक हुँदै चेक बाउन्स आतंकको मारमा व्यवसायी परेकाले यसबाट उन्मुक्ति दिलाउने काम सरकारको भएको बताए।

प्रकाशित: १७ माघ २०७९ ०८:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App