काठमाडौं— एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको छाता संगठन इफाप्काले नेपालका भूकम्पपीडितलाई रेडक्रसमार्फत १२ हजार अमेरिकी डलर सहयोग गरेको छ।
शुक्रबार काठमाडौंमा सम्पन्न मध्यकालीन बोर्ड बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा भुटानलाई इफाप्काको सदस्य बनाउने विषयमा भुटानी प्रतिनिधिहरुकै उपस्थितिमा छलफल भएको थियो। तत्कालै भुटानलाई सदस्यता दिने विषयमा ठोस निर्णय भने भएन।
इफाप्कामा अहिले नेपाल सहित थाइल्याण्ड, ताइवान, सिंगापुर, जापान, श्रीलंका, मलेसिया, बंगलादेश, भारत, दक्षिण कोरिया, कम्बोडिया, अष्टे«लिया, माल्दिभ्स्, चीन, न्यूजिल्याण्ड, फिलपिन्स, मंगोलिया र मलेसिया गरी १८ राष्ट्रमात्र सदस्य छन्।
बैठकमा सन् २०१७ को मे ३० देखि जुन ३ मा दक्षिण कोरियाको राजधानी सउलमा हुने ४३ औं इफाप्का सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय पनि भएको छ। बैठकमा नेपालको तर्फबाट नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष तथा इफाप्का बोर्ड सदस्य निकोलस पाण्डेले सहभागिता जनाएका थिए।
बैठकको समाप्तिपछि भूकम्पपीडितहरुको सहयोगार्थ इफाप्का तथा दक्षिण कोरियाली निर्माण संघको तर्फबाट १२ हजार अमेरिकी डलर नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापालाई प्रदान गरिएको थियो।
प्रकाशित: १७ भाद्र २०७३ ११:२२ शुक्रबार