२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

साँघु–गुफापोखरी–वसन्तपुर सडकमा सोमबारदेखि सवारी चल्ने

साँघु–गुफापोखरी–वसन्तपुर सडक खण्डमा बाटो मर्मत तथा सफाइ गरिदैं।

थप वर्षा नभए सोमबारबाट ताप्लेजुङको दोभान–साँघु–गुफापोखरी–वसन्तपुर हुँदै धनकुटा–धरान सडकमार्फत यातायात सञ्चालन हुन सक्ने बताइएको छ।

ताप्लेजुङको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले थप वर्षा नभए यो खण्डको सडकमार्फत यातायात सञ्चालन गर्ने गरी सडक मर्मत तथा सफाइ गरिएको बताए। उनका अनुसार सोमबार बिहानसम्ममा मंगलवारे र श्रीमाने सम्मको अप्ठ्यारो बाटो मर्मत तथा सफाइ सक्ने गरी कार्यलाई तीव्रता दिइएको छ। यसअघि फेदी र चौकी सडक खण्डलाई मर्मत तथा स्तरोन्नति गरी सकिएको वनेमले जानकारी दिए।

ताप्लेजुङको दोभान देखि तेह्रथुमको वसन्तपुर सम्मको सडकलाई मदन भण्डारी राजमार्ग नामकरण गरिएको छ। ताप्लेजुङको दोभान देखि मैवाखोला गाउँपालिकाको केन्द्र हुँदै संखुवासभाको गुफापोखरी–चौकी–मंगलवारे हुँदै तेह्रथुमको वसन्तपुरबाट धनकुटा सम्म पुग्न सकिने सडक रहेको छ। केहिदिन अघिको बाढी र पहिरोका कारण मेची राजमार्ग र तमोर कोरिडोर क्षेत्रमा देखिएको यातायात सञ्चालन समस्यालाई मध्यनजर गरी उक्त सडकमार्फत पनि यातायात सञ्चालनको पहल अघि बढाइएको हो। 

दसैँ–तिहार जस्ता चाडपर्वका बेला ताप्लेजुङ फर्कने यात्रुहरुहरुको सुविधालाई ध्यानमा राखेर उक्त सडक मर्मत सम्भार र सफाइ गरी बस र अन्य सवारी सञ्चालन हुन सक्ने अवस्था बनाइएको वनेमले बताए। मैवाखोलाले सोलिङ र अस्थायी लानी कटान सहितको थप स्तरोन्नतिको कामका लागि ठेक्का खोल्ने तयारी समेत गरेको जनाएको छ।

मेची राजमार्ग र तमोर कोरिडोर क्षेत्रमा पछिल्लो समय भएको यातायात अवरोध पछि ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र तेह्रथुमको आठराई गाउँपालिकाले समेत यसअघि वैकल्पिक मार्ग औँल्याएका छन्। ती दुबै गाउँपालिकाले फुङलिङको बहानन्दे–दोभान–हाङपाङ हुँदै तेह्रथुमको आठराई संक्रान्तिबाट मध्य पहाडी राजमार्गको बाटोबाट तराई निस्कने सकिने गरी वैकल्पिक मार्ग औँल्याउँदै दुबै पालिका क्षेत्रमा पर्ने बाटो मर्मत तथा सफाइ अभियान चलाएका थिए। 

प्रकाशित: २० आश्विन २०८१ १४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App