१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

साढे दुई करोड लगानीमा ९९ जना महिलाले चलाएको रेष्टुराँ

संख्या विज्ञानमा अंक ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको शुरूवात हो। गणना विधिमा दुई अंकको चक्र ९९  सकिन्छ र तीन अंकको चक्र शुरू हुन्छ। धार्मिक हिसाबले अंक ९९ लाई प्रतिकात्मक रूपमा विभिन्न सकारात्मक विषयसँग जोडेर हेर्ने गरिन्छ। एकता, प्रतिबद्धता, कार्य सफलता लगायतका भाव र अर्थको संकेत यो अंकले दिन्छ।

उनान्सय जना महिलाले पर्यटकीय नगरी पोखरामा सञ्चालन गरेको व्यवसाय ‘रोयल दिदीबहिनी किचन’ यस्तै प्रतीकात्मक बिम्ब हो। जसले निकै खराब समयबाट गुज्रिएर आशाको प्रकाश बालेको छ र यो महिला सशक्तिकरणको ज्वलन्त उदाहरण बनेको छ। यहाँ  गृहणीदेखि विभिन्न पेशा व्यवसायमा जोडिएका महिला एकताबद्ध भएर केही फरक, चुनौतीपूर्ण र नमूना काम गर्ने प्रयासमा छन्।

पोखरा महानगरपालिका वडा नम्बर-१० को बुद्धचोकमा महिलाहरूको सामूहिक प्रयासमा  साढे दुई करोड लगानीमा रेस्टुराँ शुरू भएको हो। उनीहरू सबै पोखरा ‘रोयल बचत तथा ऋण सहकारी’मार्फत एक आपसमा जोडिए। कम्पनी ऐनअनुसार निजी कम्पनी दर्ता गरे र रेस्टुराँ तथा बैंक्वेट चलाए।

महिला सशक्तीकरणका लागि केही फरक गर्नुपर्छ भन्ने लागेरै आफूहरूले रेस्टुराँ शुरू गरेको सञ्चालक रुद्रकुमारी गुरुङ बताउँछिन्। पोखरा रोयल बचत तथा ऋण सहकारीमा अध्यक्ष गुरुङकै नेतृत्वमा महिलाहरू एकजुट भई दिदीबहिनी किचन स्थापना गरेका हुन्।

‘सहकारीमा उपाध्यक्ष हुँदा मैले दिदीबहिनी किचनको नेतृत्व गरेको हुँ। विभिन्न अध्ययन अवलोकन र भ्रमणमा आउनेका लागि कार्यक्रम चलाउन र सँगसँगै खाना खान मिल्ने ठाउँको आवश्यकता महसुस भएपछि रेस्टुराँ शुरु गरेका हौं’, गुरुङले भनिन्।

महिलाहरू एकताबद्ध भएर भई सञ्चालन गरेको यो व्यवसाय आफैंमा उदाहरणीय भएका कारण विभिन्न क्षेत्रका महिला समूह र सहकारी संस्थाका सदस्यहरू अध्ययन तथा अवलोकनका लागि आउने गरेको उनको भनाइ छ।

रोयल दिदीबहिनी किचनमा पोखरा रोयल सहकारीकै सदस्यहरू जोडिएका भए पनि छुट्टै कम्पनी हो। यो प्राइभेट लिमिटेडका रूपमा दर्ता छ। हरेक सदस्यले समान साढे दुई लाख रुपैयाँ बराबर लगानी गरेका छन्। रेस्टुराँमा एक सय जनालाई एकैसाथ सेवा दिने क्षमता छ भने एक सय जनासम्म अटाउने बैंक्वेट तथा पार्टी भेन्यु पनि सञ्चालनमा छ।

एउटा रेन्टुराँ चलाउन उनान्सय जनाको लगानी किन? ‘यसको सांकेतिक अर्थ त छ नै। व्यावहारिक रूपमा पनि यस्तो हुन गयो। प्राइभेट कम्पनीमा ९९ जनाभन्दा बढी सदस्य बस्न नमिल्ने रहेछ। नत्र हामी अरू दिदीबहिनीलाई पनि यसमा सहभागी गराउने सोचमा थियौं’, सञ्चालक गुरुङले भनिन्।

कोभिड-१९ महामारीभन्दा केही समयअघि मात्र शुरू भएको रेस्टुराँ लकडाउनका समयमा नराम्रोसँग थलियो। व्यवसाय पूर्ण रूपमा बन्द भएपछि सञ्चालन खर्चसमेत धान्न नसक्ने भएकोे थियो। तर, दिदीबहिनी किचनले कर्मचारी कटौती गरेन। तीन वर्षदेखि सञ्चालनमा रहेको रेस्टुराँमा हाल २० जना कर्मचारी छन्। व्यवसाय शुरू गरेको पहिलो दुई वर्ष निकै समस्या भोगेको रेस्टुराँ आर्थिक वर्ष २०७८/७९ मा भने लगानीकर्तालाई पाँच प्रतिशत लाभांश दिन सफल भएको अध्यक्ष गुरुङको भनाइ छ।

दिदीबहिनी किचेनले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ। ‘रेस्टुराँसँग जोडिएका दिदीबहिनीहरू सामाजिक काममा पनि खटिन्छन्। यसवर्ष हामीले न्यून आर्थिक अवस्था भएका केहीलाई न्यानो कपडा बाँड्यौं। कम्पनीमा आबद्ध महिलालाई अन्य सीपमुलक काममा पनि खटाउने गरेको उनको भनाइ छ।

सहकारीको अवधारणाबाट सञ्चालित रेष्टुराँ निजी क्षेत्रका लागि पनि अनुकरणीय छ। यहाँ सदस्यहरू आफैं सेवामा खटिन्छन्। लगानीकर्ताका परिवारका सबै सदस्य प्रत्येक महिना कम्तीमा एकपटक यो रेस्टुराँमा खाना खान आइपुग्छन् ताकि यहाँको व्यवस्थापन मात्र होइन खानेकुराको स्वाद, गुणस्तर, सेवाप्रवाह जस्ता कुराको जानकारी लिन सकियोस्। रासस

प्रकाशित: १६ माघ २०७९ ०७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App