७ वैशाख २०८१ शुक्रबार
अर्थ

गैंडा हेर्न सजिलो शिव सामुदायिक वन

स्थानीयले संरक्षणमा गरेको शिव सामुदायिक वन, डल्लामा सजिलै दुर्लभ वन्यजन्तु देख्न पाइन्छ। सामुदायिक वनमा प्रवेश गरेको केही समयमै कर्मचारीले गैंडा देखाउन सक्छन्। दश मिनेटमा गैंडा देखाउन सक्ने वन हेरालु थ्यान्चु थारु दाबी गर्छन्। ‘गैडा त सियोर देखिन्छ। बाघ हेर्न समय लाग्छ,’ उनले भने।

बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा हेर्नका लागि बाक्लिने पर्यटकको भिड सामुदायिक वनमा सजिलै देख्न सकिन्छ। बर्दियामा तीन सयभन्दा बढी सामुदायिक वन भए पनि त्यस सामुदायिक वनमा गैंडाले आश्रय स्थल बनाएपछि शिव सामुदायिक वन पर्यटकको रोजाइमा पर्दै आएको छ।

‘सामुदायिक वनका पदाधिकारी फुर्सदको समयमा घर बस्थे। निकुञ्जका पर्यटक गैंडा हेर्न आउन थालेपछि शुल्क लिई सामुदायिक वनमा प्रवेश गराउनका लागि पालैपालो आउने गर्छन्,’ शिव सामुदायिक वनका अध्यक्ष मंगल थारुले भने, ‘निकुञ्ज घुम्न आएका पर्यटक यहाँ आउन थालेका छन्।’

पर्यटकको आगमन दिन प्रतिदिन बढेको पाइएको छ। उपभोक्ताका अनुसार गैंडाको चरिचरनका लागि घाँसे मैदान, पोखरीको व्यवस्थापन भइसकेको छ। ‘बिहान ८ बजे र बेलुका ५ देखि ६ बजेसम्मको समयमा सामुदायिक वनमा गैंडा देख्न सकिन्छ,’ सामुदायिक वनका अध्यक्ष थारुले बताए।

‘पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ,’ थारुले भने, ‘पर्यटकहरूलाई यहाँ स्वागत छ’ गैंडा छ भन्ने प्रचारप्रसार भएपछि छोटो समयमा नै आन्तरिक र बाह्य पर्यटकको चहल पहल बढेको थारुले जानकारी दिए। ३८ वटा गैंडा छन् भने ४ वटा गैंडा भारतमा छन्। ८ वटा गैंडा शिव सामुदायिक वनमा देखिन्छन्।

सदरमुकाम गुलरियादेखि गैंडा हेर्न गएका समिम अन्सारीले ५० मिटरको दुरीमा गैंडा देखेको बताए। निकुञ्ज घुमे पनि लामो दुरी तय गरेर हिँडेमा मात्र संयोगवश गैंडा देख्न सकिने अन्सारीले अनुभव सुनाए। शिव सामुदायिक वनमा आन्तरिक पर्यटकका लागि १० र बाह्य पर्यटकका लागि २ सय प्रवेश शुल्क लिने गरिएको छ। शिव सामुदायिक वनमा ७ वटा गैंडाले आश्रय स्थल बनाएको निकुञ्जले जनाएको छ।

पर्यटकले चाहेको ठाउँबाट गैंडा हेर्नका लागि मचानहरू भएको उनले जानकारी दिए। ‘पर्यटकलाई भित्र्याउन प्रचारप्रसारका लागि यहाँ आउने पाहुनालाई अनुरोध गर्ने गरेको छु,’ उनले भने। उनका अनुसार निकुञ्जमा आउने पर्यटक धेरैजसो आउने गरेका छन्।

गैंडालाई चाहिने घाँसे मैदान पानी र सुरक्षाका लागि खटिने वन हेरालु अहोरात्र खटिने गरेको अध्यक्ष थारुले बताए। निकुञ्जमा गैंडा हेर्न नपाउने पर्यटक यहाँ आएर गैंडा हेरेर फर्कने गरेका छन्। पर्यटकलाई सेवा दिनका लागि गोल घर, दुई वटा मचानमा दिनभरि कर्मचारी खट्ने गरेका छन्। उक्त सामुदायिक वनले होमस्टे सञ्चालन गरेको छ। १ नम्बरदेखि २२ नम्बरका होमस्टेमा पाहुनालाई राम्रो स्वागत गर्ने गरेको आन्तरिक पर्यटक निशा शर्माले बताइन्। ‘यँहा सञ्चालित होमस्टे व्यवस्थित छन्,’ उनले भनिन्, ‘थारु संस्कृति हेर्दा बहुत आनन्द र मनोरञ्जन लिन सकिन्छ।’ उनका अनुसार उक्त होमस्टेमा आउने पाहुनालाई वनका पदाधिकारीले जंगलमा रहेका दुर्लभ वन्यजन्तु र थारु संस्कृतिको अवलोकन गराउने गरेका छन्। शिव सामुदायिक वन बिबिसी च्यानलमा नवौं स्थानमा छनोट भइसकेको छ। ‘वन पदाधिकारीले गरेको काम सह्राहनीय छ,’ उनले भने, ‘सबैले वन संरक्षण गर्न सके आर्थिक रूपमा पनि सम्पन्न हुन सक्ने देखिन्छ।’

जिल्ला वन कार्यालयको निगरानी रहेको उक्त वनलाई वन्यजन्तुले सुरक्षित आश्रय स्थल बनाएको पाइन्छ। 

प्रकाशित: १४ माघ २०७९ ०२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App