२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

काष्ठकला उद्योगबाट मनग्य आम्दानी गर्दै रसाइली

सीप भए विदेश वा कतै भौंतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइँ सरेर आएका कृष्ण रसाइली। धनकुटा लगायत पहाडी जिल्लाका धेरै नागरिक सेवासुविधा र रोजगारका लागि तराइमा बसाइँसराइ गर्न लहर चलेको छ। तराईमा जमिन किन्न होडबाजी छ। तर, त्यसको विपरीत ४० बर्से रसाइली भने काष्ठकला उद्योग सञ्चालनका लागि पाँच वर्षअघि बसाइँसराइ गरी धनकुटा आए।

रसाइली मोरङको पथरी शनिश्चरे नगरपालिका–८ बाट महालक्ष्मी नगरपालिका वडा नं ९ को ग्रामीण क्षेत्रमा आएका हुन्। विसं २०६३ मा उनी रोजगारका सिलसिलामा मलेसिया गएका थिए। सोचे जस्तो पारिश्रमिक नपाउँदा खान-बस्न समेत नपुगेपछि रसाइली त्यहाँबाट भागेर अवैधानिक रूपमा साढे चार वर्ष अन्यत्र सुरक्षा गार्डको रूपमा काम गरे।

सो समयमा मासिक १८ हजार रुपैयाँ नेपाली तलबमा काम गरेका रसाइली अनधिकृत रूपमा काम गरेको आरोपमा जेल परेर २०६८ सालमा नेपाल फर्किए। उनले भने, ‘विदेश बसेर पैसा कमाउन सकिएन। नेपाल आएर पुर्ख्यौली पेसामा लागें।’

पुर्ख्यौली पेसा काठको काम गर्ने (चुँदार) भएकाले रसाइली सोही कामका लागि सात वर्षअघिबाट धनकुटाका विभिन्न खोलामा काठका सामान बनाउँदै आएका छन्। पानीघट्टको सहाराले काठलाई कुँदेर गरिने कामलाई रसाइलीले व्यावसायिक बनाए।

रसाइलीले अनुभवका आधारमा सम्भावना देखेर २०७५ देखि घरमै उद्योग चलाए। दुई वर्षअघि घरेलु ठेकी तोङ्वा उद्योग दर्ता गरेका रसाइलीले मासिक २० हजार रुपैयाँ पारिश्रामिक दिएर दुई सहयागी र ५५ हजार  रुपैयाँ पारिश्रमिक दिएर तीन कालिगढ राखेका छन्।

साठीदेखि ७० प्रकारका काठका सामग्री बनाएर बेच्दै आएका रसाइलीले एउटा सामानको दुई सयदेखि २२ हजार रुपैयाँ  सम्ममा बेच्दै आएका छन्। वार्षिक २५ लाखदेखि ४० लाख रुपैयाँसम्म कारोबार गरेर मासिक दुई लाख रुपैयाँ कमाइरहेका रसाइलीले भने, ‘श्रम र सीप हुनेलाई नेपालमै काम र दाम पर्याप्त छ।’

समय र उमेर रहेकै बेला विदेश र अन्यत्र भौंतारिनुभन्दा बेलैमा सीप सिकेर उद्यमशील बन्नुपर्ने युवाहरूलाई उनको सुझाव छ। कुनै तालिम नलिई युट्युबमा हेरेर विभिन्न सामग्री तयार गरेर रसाइलीले ताप्लेजुङ, इलाम, सुनसरी, झापा, काठमाडौं लगायत क्षेत्रमा बेच्दै आएका छन्।

महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा बर्सेनि श्रीपञ्चमीमा लाग्ने वसन्त पञ्चमी मेलामा कक्ष लिंदै आएका रसाइलीले आफ्नो व्यवसाय प्रवद्र्धनमा नगरपालिकाले सहयोग गरेको बताए। रासस

प्रकाशित: १३ माघ २०७९ ०३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App