१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

राजनीतिसँगै तरकारी खेती

खोटाङ- समाजमा 'कुराजस्तै काम गर्ने' कमै भेटिन्छन्। तिनै कममध्येमा पर्छन् खोटाङ, दुर्छिम–५ का अगुवा किसान खडेन्द्र राई। राजनीतीमा सक्रिय राई मञ्चमा भाषण मात्र गर्दैनन् खेतीकिसानी पनि गर्छन्। आर्थिक उपार्जनका लागि व्यावसायिक कृषिलगायत उत्पादनमूलक काममा लाग्न अरुलाई प्रोत्साहित गर्ने उनले गाउँमा नर्सरी स्थापना गरी विभिन्न जातका बेर्ना उत्पादन गर्दै आएका छन्। 'भाषण मात्र गरेर हुँदैन, आफैंले काम गरेर देखाउने हो,' राईले भन्छन्, 'आफैंले गरेर देखाए पो अरुले पत्याउँछन्।'

सुक्खाग्रस्त ठाउँमा बसोबास भए पनि वर्षाको पानी प्लास्टिक पोखरीमा जमाएर राईले १५ रोपनी जग्गामा फलफूल र तरकारीका बेर्ना उत्पादन गर्दै आएका छन्। तीन वर्षअघि स्थापना गरिएको उनको भूमा बुद्ध नर्सरी उद्योगमा अनार, जैतुन, सुन्तला, कागतीलगायत फलफूल, पाउलोनिया, उत्तीस, कपुर, स्वामीलगायत वनजन्य र गोलभेंडा, बन्दा, कोभी, प्याज, लसुनजस्ता तरकारीका बेर्ना उत्पादन गरिन्छ। यो नर्सरी हलेसी क्षेत्रमा चर्चित छ। बेर्ना तथा तरकारी बिक्रीबाट हुने आम्दानीले बचत गर्न र परिवार धान्न पुगेको राईले बताए। उनको नर्सरीमा उत्पादित तरकारी दुर्छिमदेखि हलेसी र सदरमुकाम दिक्तेलसम्म पुग्छ। 'मेहनत अनुसार नर्सरीबाट आम्दानी सन्तोषजनक छ,' राईले भने, 'खाँचोगार्‍होमा अरुलाई गुहार्न परेको छैन, खाएर बचत गर्न पुगेको छ।'

एमाले जिल्ला कमिटी सचिवालय सदस्य राईले सातवटा प्लास्टिक टनेलभित्र विभिन्न जातका तरकारी, फलफूल र अन्य बिरुवा उत्पादन गर्छन्। उनी दैनिकजसो नर्सरी र तरकारी बाली गोडमेल, मलजल र हेरचाहमा व्यस्त रहन्छन्। रोग र किराको समस्या देखिएका बेला कृषि कार्यालयका प्राविधिक सहायकबाट परामर्श लिन्छन्।

 नर्सरी र तरकारी खेतीका लागि उनले दुई/दुई लाख लिटर क्षमताका दुईवटा र ५० हजार लिटर क्षमताका दुई वटा प्लास्टिक पोखरीमा वर्षाको पानी संकलन गरेर उपयोग गर्ने व्यवस्था मिलाएका छन्। गाईभैसीको मल बेर्ना र तरकारी बालीमा हाल्ने राई बताउँछन्। खेतीपाती भ्याएर पनि उनी नेताका रुपमा विभिन्न गाविसमा पुगिरहेकै हुन्छन्। अधिकांश ठाउँमा उनको जोड व्यावसायीक खेतीमै हुन्छ। राई अन्य किसानलाई उत्प्रेरणा, परामर्श र प्राविधिक सहयोग गर्नसम्म अघि सर्छन्। पछिल्लो समय 'गर्दा हुँदो रहेछ' भनेर उनको सिको गर्ने किसान बढ्दै छन्।

व्यावसायिक रुपमा खेती गर्न इच्छुक साना किसानलाई ठूला बैंक सजिलै ऋण दिन तयार हुँदैनन्। त्यस अप्ठेरोलाई ध्यानमा राखेर उनकै पहलमा दुर्छिममा हलेश्वर साना किसान कृषि सहकारी संस्था स्थापना गरिएको छ। उनी सो सहकारीका अध्यक्ष हुन्। हलेसी क्षेत्रका किसानलाई सहुलियतमा ऋण उपलव्ध गराउन सहकारी स्थापना गरिएको राईले बताए। उनका अनुसार कृषि सहकारीबाट किसानलाई ३० लाखभन्दा बढी रुपैयाँ ऋण प्रवाह भइसकेको छ। किसानले उत्पादन गरेका कृषि उपजको बजार व्यवस्थापनका लागि हलेसी क्षेत्रमा कृषि उपज संकलन केन्द्र स्थापना गर्ने तयारी गरिएको राईले जनाए।

१८ वर्षपछि गाउँ फर्किएर बेर्ना उत्पादन 

खोटाङको पश्चिमी क्षेत्रमा पर्ने बाहुनीडाँडा सुक्खाग्रस्त गाविसमध्ये एक हो। त्यस क्षेत्रमा सिँचाइ त के भनेको समयमा पिउने पानी पाउन मुस्किल छ। तर, त्यही क्षेत्रको बाहुनीडाँडाको कदुवामा घाँस, फलफूल, तरकारी र रुखका बेर्ना उत्पादन गरेर फौदसिं कार्कीले लोभलाग्दो आम्दानी गरिरहेका छन्। राजधानी काठमाडौंबाट १८ वर्षपछि २०६७ सालमा गाउँ फर्किएका कार्कीले सुक्खाग्रस्त ठाउँमै बेर्ना उत्पादन गरेर 'गरे के हुँदैन' भन्ने उदाहरण देखाएका छन्। गाउँमा खेतीकिसानीको सम्भावना देखेर घर फर्किएको बताउने कार्कीले २०६८ सालमा जिस्ट कृषि फर्म स्थापना गरेर घाँस तथा फलफूलका बेर्ना उत्पादन सुरु गरेका हुन्।

कार्कीको नर्सरीमा मुलाटो, सुम्बा, सेटोरिया, पासपालम, नेपियर, नेपियर सिओथ्रीलगायत भुइँ घाँस, मेनुला, किम्बुलगायत पोथ्रे घाँस तथा बडहर, चिउरी, टाँकी, निभारो, राईखन्यु, इपिलिपीलगायत प्रजातिका डाले घाँस उत्पादन हुन्छ। उनको कृषि फर्ममा सल्लो, रिट्ठा, तेजपात, खयर, टिक, मसला, जामुनो, बब्लु, गोलमोहर, लप्सी, अमलालगायतका बेर्ना समेत उत्पादन हुन्छ। आँप, लिची, अम्बा, अनार, अंगुर, कागती, निबुवा, रुखकटहर, कफी जस्ता फलफुलका बिरुवाका लागि किसानले उनकै फर्मलाई सम्झन्छन्। सुरुमा घाँस तथा फलफुलका बेना उत्पादन थालेका कार्कीले अहिले मौसमी तथा बेमौसमी तरकारीसमेत उत्पादन गर्दै आएको बताए। उनको बगानमा लगाइएको काउली, बन्दा, बोडी, सिमी, गोलभेंडा, खुर्सानी, कुरिलोलगायतका तरकारीबाट पनि राम्रो आम्दानी भइरहेको छ। उनले रैथाने जातको खयर, बडहर, चिउरी, सल्लो, कागतीको बिरुवा उत्पादन गर्दै आएका छन्। भुइँ र डाले घाँस प्रजातिका बेर्ना पशुसेवा कार्यालय र भूसंरक्षण कार्यालयले खरिद गरेर जिल्लाका विभिन्न ठाउँमा वितरण गर्छ। वन प्रजातिका बेर्ना बन कार्यालयले खरिद गर्छ।

उनको नर्सरीमा उत्पादित बेर्ना बाहुनीडाँडाबाहेक डिकुवा, च्यास्मीटार, बडहरे, दुर्छिम, धितुङलगायत छिमेकी गाविसका किसानले लैजान्छन्। यसबाहेक ओखलढुंगाको थाक्ले, मोली, मानेभञ्ज्याङ, उँबु, उदयपुरको लेखानी, ताम्लिछा, बलम्ता, सिन्धुलीको सोलपा, खाङसाङसम्मा किसानले पनि बेर्ना लैजाने कार्कीले बताए। नर्सरीस्थल दिक्तेल–जयराम सडकको छेउमा भएका कारण ओहोरदोहोर गर्ने यात्रुलेसमेत बेर्ना किनेर लैजाने गरेका छन्। वन कार्यालयको सिफारिसमा नर्सरीबाट बेर्ना लिन सकिने व्यवस्था मिलाइएको छ। नर्सरीबाट कम्तीमा वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी हुने गरेको कार्की बताउँछन्। उनका अनुसार यस वर्ष कम्तीमा आठ लाख रुपैयाँबराबरका बेर्ना नर्सरीमा तयार हुँदैछन्। 'नहुँदा पनि वर्षमा चार लाखसम्म कमाई हुन्छ,' कार्कीले भने, 'यसपल्ट आठ/नौ लाखको बेर्ना जान्छ, अन्य जिल्लाबाट समेत माग आएको छ।'

सुरुमा असम्भव ठान्ने आफन्त हाल उनको प्रगति देख्दा अचम्म मान्छन्। नर्सरीको उत्पादनबाट कार्की गाउँमै स्वरोजगार बने। उनले नर्सरी फर्ममा गाउँका अन्य ५ जनालाई समेत रोजगार दिएका छन्। उनको मेहनतलाई कदर गर्दै जिल्ला कृषि विकास कार्यालयले उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारका सिफारिस गरेको थियो।

खाली जग्गा र डाँडाकाँडालाई हराभरा बनाउन फलफूल र वन प्रजातिका बोटबिरुवा लगाउनुपर्ने उनको सुझाव छ। रोपिएका २५ प्रतिशत मात्र बिरुवा बाँचे पनि नांगा डाँडा हरियाली हुने उनी बताउँछन्।

प्रकाशित: ११ भाद्र २०७३ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App