६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरी संरक्षण गरिंदै

तस्बिर: मेरो लमजुङ।

दोर्दी गाउँपालिकाले जिल्लाको पूर्वी भेगमा रहेको पर्यटकीय दाम्राङ पोखरीको संरक्षण गर्न थालेको छ। गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै आर्थिक स्रोतसँग जोड्न पालिकाको वडा नंं -४ मा रहेको सो पोखरीको संरक्षण गर्न थालेको हो।

समुद्र सतहबाट एक हजार नौ सय ३५ मिटरको उचाइमा रहेको पोखरी संरक्षणका लागि चालू आर्थिक वर्षमा २६ लाख रुपैयाँ विनियोजन गरेर मर्मतसम्हार गरिएको हो। प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सो पोखरीको वरिपरि ढुंगा बिच्छयाइरहेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए। पोखरीको वरिपरि छ मिटरदेखि १० मिटरसम्म ढुंगा बिच्छयाउने काम भइरहेको छ। पोखरीको ७३ मिटर लम्बाइ र ६४ मिटर चौडाइ छ।

गाउँपालिकाका रोजगार संयोजक धर्मराज गुरुङका अनुसार सो पोखरी नजिकै चार वनभोजस्थल समेत निर्माण गरिंदैछन्। चारवटै स्थानमा शौचालयको निर्माण कार्य भने पूरा भएको छ। यहाँ खानेपानीको धारा व्यवस्थित गर्न लागिएको छ। दाम्राङ पोखरी क्षेत्र भेडीगोठ उपयुक्त क्षेत्रको रूपमा छ। यस क्षेत्रमा आठ भेंडीगोठ छन्। यहाँ आउने पर्यटक यस पोखरी तथा क्षेत्रमा रमाउनुका साथै भेडासँग समेत रमाउन चाहने पर्यटकका लागि झन् आकर्षणको स्थल हुने गाउँपालिका अध्यक्ष अधिकारीको भनाइ छ। पर्यटकीय गन्तव्यको रूपमा यस ठाउँको विकासलाई आगामी दिनमा पनि निरन्तर दिने भएको छ।

यहाँ पर्यटकको प्रचुर सम्भावना रहेकाले यसको संरक्षण गर्दै पर्यटक आकर्षित गर्न गाउँपालिका लागिपर्ने गाउँपालिका अध्यक्ष अधिकारीले बताए। उनका अनुसार केही वर्षअघि यस पोखरी सडक सञ्जालमा जोड्न निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत क्षेत्र नं (क) अन्तर्गत दोर्दी गाउँपालिका-४ ठूलाखेत-कामचोक-डाम्राङ-लिपे पर्यटन सडक निर्माण गरेको थियो।

तत्कालीन गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत यस क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा विकास गर्न २५ लाख रुपैयाँमा चार किलोमिटर आठ मिटर लम्बाइ र छ मिटर चौडाइको सो सडक उक्त पोखरीसम्म निर्माण गरेको थियो।

त्यस्तै प्रदेश सरकारकै आर्थिक सहयोगमा पोखरी नजिकै दाम्राङ हरित पार्क निर्माण गरेको छ। प्रदेश सरकार अन्तर्गत डिभिजन वन कार्यालय लमजुङको पाँच लाख रुपैयाँ बजेटबाट पार्क निर्माण भएको बताइएको छ।

यस पार्कभित्र ढुंगाको सिंढी निर्माण, दुई सय ८५ मिटरको कम्पाउन तारजालीले घेर्ने, विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको थियो। यहाँ दाम्राङ पोखरीबाहेक यस क्षेत्रमा कुनै पानीको स्रोत नभएकाले यस जंगलका सबै जनावारले यसै पोखरीमा पानी खान आउँछन्। यस दाम्राङ पोखरी हुँदै ऐतिहासिक तथा पर्यटकीयस्थल लिपे, दूधपोखरी हुँदै गोरखासमेत निस्कन सक्ने स्थानीयको भनाइ छ।

संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको यस क्षेत्रका लागि बिस्तारै सरकारको ध्यान केन्द्रित हुन थालेपछि पर्यटक आगमन हुने स्थानीयले अपेक्षा गरेका छन्। उहिल्यै यस पोखरीमा ‘दामे’ भन्ने गोठाले डुबेर ‘रा’ पोखरीमा मरेको हुँदा दामेराभन्दा भन्दै अपभ्रंश भई दाम्राङ पोखरी भएको भन्ने किंवदन्ती छ।

गुरुङ भाषामा पोखरीलाई ‘रा’ भनिन्छ। यस पोखरी क्षेत्रबाट बौद्ध हिमाल, हर्क पिक, लमजुङ हिमाल, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल चुली, मनास्लु लगायतको हिमाल देख्न सकिन्छ। गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार उक्त पोखरीदेखि १५ मिनेटको दूरीमा रहेको एउटा ८०/८२ मिटर लम्बाइ भएको गुफा पनि हेर्न सकिन्छ। यस वडाकै धौथलीदेखि लिपेसम्म एक हजार पाँच सय मिटर पदमार्ग समेत निर्माण भइसकेको छ।

यस चक्रीय पदमार्ग २३ किलोमिटर रहेको र हालसम्म १५ किलोमिटर पदमार्ग निर्माण भइसकेको बताइएको छ। प्रदेश सरकारले यस पदमार्ग निर्माणका लागि हालसम्म ९० लाख रुपैयाँ बजेट खर्च गरिसकेको छ। यस्ता पर्यटकीय र ऐतिहासिकस्थल एवं क्षेत्रको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटक भित्र्याउने लक्ष्यका साथ गाउँपालिका अघि बढेको छ। रासस

प्रकाशित: १२ माघ २०७९ ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App