१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मुलुकको वैदेशिक व्यापार खुम्चियो

मुलुकको अर्थतन्त्रको आकार वृद्धिसँगै अन्तर्राष्ट्रिय व्यापार बढ्दै जानुपर्ने भए पनि मुलुकको वैदेशिक व्यापार खुम्चिएको छ। आयात घट्नुलाई सकरात्मक भए पनि निर्यात घट्नु सुखद मानिदैन।

वैदेशक व्यापार (आयात-निर्यात) करिब २२ प्रतिशतले खुम्चिएको भन्सार विभागले जनाएको छ। विभागका अनुसार पोहोरको तुलनामा चालु आवको ६ महिना (पुस) सम्म वैदेशिक व्यापारमा २ खर्ब ४४ अर्ब ७१ करोडले कमी आएको छ। यो वर्ष ६ महिनामा आयात र निर्यात गरी ८ खर्ब ७३ अर्ब ४७ करोडको वैदेशिक व्यापार भएको छ। पोहोर सोही अवधिमा ११ खर्ब १८ अर्ब १९ करोड रूपैयाँको वैदेशिक व्यापार भएको थियो।

मुलुकको वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.७५ प्रतिशत र निर्यात ९.२५ प्रतिशत मात्र रहेको छ। यो तथ्यांकले मुलुकको व्यापार आयातमा निर्भर देखिन्छ। मुलुकको व्यापार घाटा ७ अर्ब रूपैयाँ नाघेको छ। चालु आर्थिक वर्षको ६ महिना(पुस) सम्म व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड रूपैयाँ पुगेको भन्सार विभागले जनाएको छ। यसरी हेर्दा मुलुकको व्यापार घाटा सरदर मासिक करिब १ खर्ब १८ अर्ब रूपैयाँ देखिएको छ।

विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा आयात र निर्यात दुबै घटेको छ। ६ महिनामा ७ खर्ब ९२ अर्ब ६६ करोड रूपैयाँका वस्तु आयात भएको छ। यो पोहोरको सोही अवधिको तुलनामा २०.६८ प्रतिशतले कम हो। गत वर्ष सोही अवधिमा ९ खर्ब ९९ अर्ब ३४ करोड रूपैयाँका वस्तु आयात भएको थियो।

आयात घट्नु सकरात्मक भए पनि निर्यात व्यापार पनि ओरालो लागेको छ। यो वर्ष ८० अर्ब ८० करोड रूपैयाँको वस्तु निर्यात भएको छ। पोहोरको तुलनामा निर्यात ३२ प्रतिशतले गिरावट आएको छ। गत वर्ष सोही अवधिमा १ खर्ब १८ अर्ब रूपैयाँको वस्तु निर्यात भएको थियो।

नेपालले १ सयभन्दा बढी मुलुकसँग व्यापार घाटा बेहोरेको छ। १ सय ४१ मुलुकसँग व्यापार गरेकोमा १ सय १३ मुलुकसँग घाटा रहेको छ। सबैभन्दा धेरै व्यापार घाटा भारतसँग छ। भारतसँग यो ६ महिनामा ४ खर्ब २८ अर्ब रूपैयाँ व्यापार घाटा रहेको छ। भारतबाट ४ खर्ब ८६ अर्ब ३३ करोड रूपैयाँको वस्तु आयात हुँदा ५७ अर्ब ८४ करोड रूपैयाँको मात्र वस्तु निर्यात भएको छ।

नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ रहेको छ। पुससम्म करिब १ खर्ब ३२ अर्ब रूपैयाँको इन्धन नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट आयात गरेको छ। ७० अर्ब १० करोड रूपैयाँको डिजेल, ३३ अर्ब ५३ करोडको पेट्रोल, २८ अर्ब २० करोड रूपैयाँको खाना पकाउने ग्यास आयात भएको भन्सार विभागले जनाएको छ। इन्धनपछि सोयाबिनको तेल, स्पन्ज आइरन लगायतका वस्तु आयात भएको छ।

वैदेशिक व्यापार प्रभावित भएपछि मुलुकको राजस्व संकलनमा पनि त्यसको प्रभाव देखिएको छ। आयात, निर्यात घटे पनि पोहोरको भन्दा पौने अर्ब रूपैयाँ कम राजस्व संकलन भएको छ। यो वर्षको पुससम्म भन्सारबाट १ खर्ब ८२ अर्ब ८४ करोड रूपैयाँ राजस्व संकलन भएको छ। पोहोर सोही अवधिमा २ खर्ब ५७ अर्ब राजस्व संकलन भएको थियो। धेरै निर्यात हुने वस्तुमा सोयाबिनको तेल, कार्पेट, टेक्स्टाइल, अलैंची लगायतका वस्तु रहेका छन्। ८ अर्ब ९८ लाख रूपैयाँ बराबरको सोयाबिनको प्रशोधित तेल निर्यात भएको छ। तेलको कच्चा पदार्थ विदेशबाट आयात हुने भएकाले यसमा धेरै भ्यालु एड हुँदैन।

विदेशी मुद्राको सञ्चितिमा चाप परिरहेको अवस्थामा व्यापार घाटा घट्नु मुलुकको लागि सकारात्मक हो तर आयात घट्दा त्यसको असर राजस्वमा परेको छ। सरकारले औद्योगिक विकास र लगानी प्रवद्र्धनमा जोड दिए पनि औद्योगिकरण हुन नसक्दा आयातमा भर पर्नुपर्ने अवस्था छ। आयात घट्नु अर्थतन्त्रका लागि सकारात्मक भए पनि निर्यात घट्नुलाई भने राम्रो मानिँदैन। ६ महिनाको तथ्यांकले निर्यात व्यापार निराशाजनक छ। निर्यात ३२ प्रतिशतले घटेको छ। यो वर्ष ८० अर्ब ८० करोड रूपैयाँका वस्तु निर्यात भएको छ। पोहोर सोही अवधिमा १ खर्ब १८ अर्ब रूपैयाँको वस्तु निर्यात भएको थियो।

नेपालबाट प्रमुख निर्यात हुने वस्तुमा भटमासको तेल, धागो, अलैंची, उनी गलैंचा कार्पेट, जुटबाट बुनिएका कपडा, चिया, फलफूल जुस लगायत वस्तु हुन्। सरकारले हरेक वस्तुको उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्ने रणनीति बनाए पनि सफल हुन सकेको छैन।

निर्यात बढाउन सरकारले अनुदान दिने नीति लिएको छ। उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी, सूचना प्रविधिमा आधारित सेवाहरूको निर्यातमा अनुदान दिएको छ। निर्यात अनुदान पाउने वस्तुमा तामा, फलाम, ढलोट र सिसा कच्चा पदार्थ प्रयोग हुने तथा काष्ठकलाका वस्तु, प्रशोधित तथा अप्रशोधित जडिबुटी (यार्सागुम्बा समेत) तथा सारयुक्त तेल, प्रशोधित तथा अप्रशोधित बेसार, ताजा तरकारी तथा पुष्प लगायतका वस्तु रहेका छन्। मुलुकले वार्षिक करिब सवा १७ खर्ब रूपैयाँ व्यापार घाटा व्यहोरिरहेको छ। 

प्रकाशित: १० माघ २०७९ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App