१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विमान दुर्घटनाको मारमा पर्यटन क्षेत्र

यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव पर्यटन क्षेत्रमा पनि परेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सेतीखोंचमा भएको विमान दुर्घटनामा १५ विदेशीसहित ७२ जनाको ज्यान गएको थियो। यसको असर  पर्यटक आगमनमा परेको व्यवसायीले बताएका छन्।

पर्यटक आगमन कम भइरहेका बेला भएको हवाई दुर्घटनापछि त्यसमा झनै गिरावट आएको व्यवसायीले बताए। गोष्ठी, बैठकका कार्यक्रम पनि रद्द भएका छन्। ‘हुन त यो बेला विदेशी पाहुना आउने समय होइन। पर्यटनका लागि यो अफसिजन हो। कोरोना भाइरस संक्रमणपछि पनि पर्यटन पहिलेकै अवस्थामा फर्किन सकेको थिएन। यस्तो अवस्थामा भएको विमान दुर्घटनापछि पाहुना आगमनमा एकाएक गिरावट आएको छ,’ लेकसाइडस्थित एक होटलका प्रबन्धकले भने, ‘अहिले बढीमा २५ प्रतिशत अकुपेन्सी होला। थप पाहुना आउन डराएका छन्। विदेशी पर्यटकले हवाई यात्रा रद्द गर्न थालेका छन्। गोष्ठी, बैठकसमेत रद्द भएका छन्।’

केही समययता सडक विस्तारका कारण पोखरा आउने स्थलमार्ग पनि अप्ठेरो भएकाले धेरैले हवाई माध्यम रोजेका थिए। तर विमान दुर्घटनापछि नराम्रो सन्देश गएको छ। विमान दुर्घटनाबारे फैलिएका अफवाहले यात्रुले यात्रा रद्द गरेका छन्। त्यसको मार पर्यटन क्षेत्रमा पनि परेको ती प्रबन्धकले बताए। अहिले पोखरा–मुग्लिन राजमार्ग धमाधम विस्तार भइरहेको छ। दुर्घटनापछि पोखराको मौसम पनि खुल्न सकेको छैन।  

फिस्टेल लजका महाप्रबन्धक रोशन खवासले पनि विमान दुर्घटनाको असर पर्यटन क्षेत्रमा पनि परेको बताए। ‘विमान दुर्घटनापछि केहीले तत्कालका लागि होटल बुकिङ रद्द गरेका छन्। सबैले दुर्घटनालाई एकैखालले लिँदैनन्। कतिपयले दुर्घटनालाई भवितव्यका रूपमा लिएर आफ्नो योजनाअनुसार यात्रालाई निरन्तरता पनि दिएका हुन्छन्,’ उनले भने।

स्थलमार्गको यात्रा झन्झटिलो हुँदा पछिल्लो समय पोखरा आउने आन्तरिक यात्रुले पनि हवाई मार्ग रोज्न थालेका थिए। आन्तरिक यात्रु थपिँदा पनि पर्यटन क्षेत्रलाई केही राहत मिलेको थियो। तर विमान दुर्घटनापछि आन्तरिक पाहुनाको आगमन पनि प्रभावित भएको व्यवसायीले बताएका छन्। ‘सिंगो मुलुकलाई नै यो दुर्घटनाले स्तब्ध तुल्याएको छ। विभिन्न मुलुकका पाहुना विमान दुर्घटनामा परे। यसबाट पर्यटन क्षेत्रमा पनि असर परेको छ,’ खवासले भने, ‘पर्यटनमा यसकोे प्रतिकूल असर अझै केही महिना रहन सक्छ।’

त्यस्तै ल्यान्डमार्क होटलका सञ्चालक ओमप्रकाश पाण्डेले पनि विमान दुर्घटनापछि पाहुना आगमनमा कमी आएको बताए। उनका अनुसार अहिले होटलमा न्यून संख्यामा मात्र पाहुना छन्। ‘हवाईयात्राबारे पुरै अफवाह फैलिएको छ। नेपालको हवाईयात्रा असुरक्षित भनेर हल्ला फैलिएको छ। त्यसले गर्दा विदेशी पाहुना आगमन पनि प्रभावित भएको छ। आन्तरिक पाहुना पनि यो बेला छैनन्। पर्यटन क्षेत्र सुनसानजस्तै बनेको छ,’ पाण्डेले भने।

पोखरामा भएको हवाई दुर्घटनालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि फरकफरक तरिकाले व्याख्या गरियो। जसले गर्दा यहाँ आउन चाहेका पाहुना पनि त्रसित बनेको व्यवसायीले बताए।

‘कतिपयले दुर्घटनालाई सामान्य रूपमा लिएका छन्। तर धेरैले यो दुर्घटनालाई गम्भीर रूपमा लिएका छन्। जसले गर्दा पर्यटन क्षेत्रमा नराम्रो असर परेको हो,’ पाण्डेले भने। उनका अनुसार होटलमा मात्र होइन, हवाई यात्रामा पनि यात्रु छैनन्। क्षमताको आधाजति यात्रु बोकेर हवाई जहाज उडिरहेको उनले बताए। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्षसमेत रहेका माउन्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराई पनि विमान दुर्घटनापछि पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह भएको बताउँछन्। ‘होटलमा बसेका केही पाहुनाको हवाईजहाजमै फर्किने तालिका थियो। तर दुर्घटनापछि उनीहरू हवाई यात्रा रद्द गरेर गाडीमा फर्किए,’ उनले भने, ‘सधैं यस्तो त हुँदैन। तत्कालका लागि भने दुर्घटनाले नकारात्मक असर पारेको छ।’  भट्टराईका अनुसार यो बेला पोखरामा पाहुना कम छन्। कोरोना संक्रमणको प्रभाव अझै पनि पर्यटन क्षेत्रमा छ। त्यसले गर्दा पनि पहिलेजस्तो पाहुना थिएनन्। त्यसैमाथि विमान दुर्घटना हुँदा झनै असर परेको उनले बताए। उनले भने, ‘दुर्घटनाको कारण जतिसक्दो छिटो बाहिर ल्याएर नकारात्मक सन्देश चिर्नुपर्छ।’

प्रकाशित: ७ माघ २०७९ ०१:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App