coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तिला–कर्णाली हाइड्रो पावर १२ वर्षदेखि अलपत्र

कर्णालीको महत्वपूर्ण अर्को जलविद्युत् आयोजना तिलाकर्णाली हाइड्रो पावर १२ वर्षदेखि एक निर्माण कम्पनीको झोलामा रहेको छ। निर्माणको जिम्मा पाएको एसी पावर कम्पनीले २०६७ साल चैतमा सरकारसँग सम्झौता गरेको थियो। सम्झौता गरेको १२ वर्ष पुग्दासमेत तिला कर्णाली जलविद्युत् आयोजना अझैसम्म कम्पनीकै कब्जामा रहेको हो।  

१२ वर्षमा त खोला पनि फर्किन्छ भन्ने उखान छ तर कम्पनीले भने यो अवधिमा तिला कर्णालीका लागि लगानी समेत नजुटाइ कब्जा गरेर मात्र राखेको छ। कम्पनीले ४ सय ४० मेघावाटको तिला (१) र ४ सय ४० मेघावाट तिला (२) को गरी जम्मा ८ सय ८० मेगावाटको विद्युत् उत्पादन गर्ने सम्झौता भएको थियो।

तिला (एक) को आयोजना कालिकोटको तिलागुफा ५ धनाडामा र तिला (दुई) खाँडाचक्र नगरपालिका ६ सेराबाडामा बाँध बन्ने डिपिआरमा उल्लेख थियो। आयोजनालाई वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) का लागि दिइएको पछिल्लो म्याद गत वर्ष नै सकिएको छ तर तोकिएको समयमा लगानी जुटाउन नसकेपछि जीएमआर बोर्डसँग औपचारिक छलफलमा आएन।  

जसले गर्दा आयोजनाको भविष्य नै अन्योलमा परेको छ। लगानी जुटाउने म्याद सकिएको वर्षौं बितिसक्दासम्म पनि काम सुरु गर्न सकेको छैन। राजनीतिक दाउपेचमा परेको यो धन्नै ९ सय मेगावाटको आयोजना स्वदेशी कम्पनी र भारतीय कम्पनीले निर्माण गर्न परियोजना विकास सम्झौता पनि भइसकेको छ।  

लगानी जुटाउदै निर्माण कम्पनी

वर्षाैदेखि लगानी खोज्दै हिँडेको एसिपावर कम्पनी फेरि जिल्लामा फर्केको छैन। निर्माणको म्याद थप्दै लगानी खोज्दै गरेको कम्पनीले अहिले भारतीय कम्पनी जिएमआरसँग लगानी गरिदिन गुहार माग्दै आएको छ। ट्रान्समिटर लाइन नबन्दा अहिलेसम्म निर्माणको काम अगाडि बढाउन नसिकिएको एसिपावर कम्पनीका प्रमुख हरिचन्द्र शाहले बताए।

निर्माणको जिम्मा पाएको लामो समय भए पनि सरकारसँग आधिकारिक लाइसेन्स पाएका थिएनौं, शाहले भने, ‘अब पायौं फागुनदेखि काम अगाडि बढाउने छौं।  

निर्माणको जिम्मा पाए पनि केही प्राविधिक र आर्थिक चुनौतीका कारण रोकिएको हो। हामी लगानीको लागि भारतीय कम्पनी जिएमआरसँग सम्झौता गर्दै छौं।’ अब काम अगाडि बढ्छ प्रमुख शाहले भने।

स्वदेशी कम्पनीले लगानी गर्न नसकी भारतीय कम्पनी जिएमआरको भरमा पर्दा तिलाकर्णाली जलविद्युत् आयोजना अलपत्र अवस्थामा परेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताए।

‘यस विषयमा सहमति र सम्झैता अनुरूप यसै कम्पनीले काम अगाडि बढाउनु पर्छ। अब म्याद थप्नु हुँदैन काम नगर्ने भए अर्को कम्पनीलाई गर्न दिनुपर्छ। शर्माले भने स्वदेशी कम्पनी एसिपावरले १२ वर्षदेखि तिला एक र तिला २ जलविद्युत् आयोजना आफूले काम गरेको छैन, न अरूलाई काम गर्न दिएको छ। वर्षौंदेखि झोलामा खोला बोकेर हिँड्न पाइँदैन।’

मुआब्जा सहमति बिनै ९ मिटर सुरुङ खनिसकेको तिलाजलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरूसँग सहमतिनै नलिई आयोजनाले ९ मिटर सुरुङ खनिसकेको छ। परीक्षणको लागि खनिएको सुरुङ पास भइसकेको पनि छ। सुरुङ खनेको ९ वर्ष हुँदासमेत अहिलेसम्म यो क्षेत्रमा कम्पनी पुगेको छैन।

प्रभावित क्षेत्रका वासिन्दाहरूसँग मुआब्जाको मूल्य निर्धाण नै नगरी ९ मिटर सुरुङ खनिसकेको छ। अहिले यो कम्पनी बेपत्ता छ। ०६७ को चैतमा भएको परियोजना विकास सम्झौता (पीडीए) मा तिला कर्णालीको वित्तीय व्यवस्थापन ५ वर्षभित्रै (०७३ असोजसम्म) टुंग्याउने उल्लेख थियो।  

कम्पनीलाई चेतवानी

तिला कर्णाली जलविद्युत् आयोजनाको काम नभएको भन्दै आयोजना प्रभावित क्षेत्र कालिकोटका स्थानीयले आयोजना निर्माण नगर्ने भए आयोजना छोड्न निर्माण कम्पनीलाई चेतावनी दिएका छन्।  

आयोजना प्रभावित नागरिकले कि आयोजना निर्माण हुनुपर्ने कि त जीएमआरले छोड्नुपर्ने भन्दै विरोध गरेका हुन्। माथिल्लो कर्णाली र तिला जलविद्युत् आयोजना निर्माण गर्न भारतीय कम्पनी जिएमआरलाई दिन नहुने भन्दै लामो समयदेखि नेपाल मजदुर किसान पार्टीले विराेध गरिरहेको छ।

आयोजना निर्माण नगरी वर्षौंसम्म होल्ड गरेको जीएमआर कम्पनीलाई चाँडो आयोजना गर होइन भने छोड भन्दै नेमकिपाका जिल्ला अध्यक्ष खड्गराज शाहीले चेतवानी दिएका छन्।

‘पटक–पटक निर्माण गर्ने भन्दै जीएमआरले झुक्याएको छ र मुआब्जा लगायतका समस्या समाधान भएको छैन, उनले भने, ‘अब कुनै हालतमा स्थानीय चुप लागेर बस्ने अवस्था छैन्।’  

यो कम्पनीले पुरानो सम्झौताका आधारमा निर्माण आगाडि नबढाउन पनि चेतावनी दिएको छ। पहिला नेपालमै विद्युत् खपत गरेर पछि भारतलाई बेच्ने सर्तमा मात्र निर्माणको काम अगाडि बढाउनुपर्ने भन्दै आएको छ।

सँगै निर्माण सम्झौता भएको फुकोट कर्णाली जलविद्युत्को मुआब्जादेखि अन्य कामको ३० प्रतिशत काम भइसक्यो। तिलाको अहिलेसम्म काम सुरु नहुनु मुख्य राजनितिक दलका नेतृत्वको कमजोरी रहेको आरोप लगाएका छन्।

निर्माणको जिम्मा पाएको १२ वर्ष पुग्दासमेत अझै काम सुरु नहुनुमा मुख्य कमजोरी जिल्लाका नेतृत्वको रहेको नागरिक समाजका अगुवा हस्तबहादुर बमले बताए ।

प्रकाशित: ३ माघ २०७९ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App