७ वैशाख २०८१ शुक्रबार
अर्थ

बैंकको व्याजदर र करको दर घटाउन सुनचाँदी व्यवसायीको माग

सुनचाँदी व्यवसायी संघको अधिवेशनमा सहभागी अतिथि तथा आयोजक। तस्बिर: महेश्वर

सुनचाँदी व्यवसायीहरुले बैंकको चर्को व्याजदर र विभिन्न नाममा लगाइने चर्को सरकारी करको दर घटाउन माग गरेका छन्। सुनचाँदी व्यवसायी संघ उदयपुरको पाँचौँ साधारणसभा तथा चौथो जिल्ला अधिवेशनको अवसरमा व्यवसायीहरुले यस्तो माग गरेका हुन्।

अधिवेशन उद्घाटनको क्रममा सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष बिपिन्द्र रामुदामुले बैंकहरुको अचाक्ली चर्को व्याजदर र सरकारको विभिन्न नामका करका कारण व्यापार व्यवसाय गर्न नसक्ने अवस्थामा पुगेको गुनासो गरे। उनले बर्तमान सरकार सुनचाँदी व्यवसायीको हितमा नदेखिएको भन्दै कोविड कहरले ध्वस्त अर्थतन्त्र बचाउन लागिरहेका व्यापारी व्यवसायीलाई बैंकको चर्को व्याजदर र सरकारी करले उठ्नै नसक्ने अवस्थामा पुर्याएको बताए।

अर्थतन्त्र ध्वस्त भएको कठिन र प्रतिकुल अवस्थामा पनि व्यवसायलाई निरन्तर सञ्चालन गर्दै आएका व्यवसायीलाई राज्यले सहुलियत व्याजदरमा ऋण, कर छुटजस्ता सेवा सुविधा दिनुपर्ने उनको भनाइ थियो। तर, त्यसको साटो चर्को कर र बढ्दो व्याजदरले व्यवसायीलाई सकसमा पारेको उनको गुनासो थियो। बाणिज्य बैंकहरुले आफुखुशी बढाएको व्याजदरले व्यापारी व्यवसायीको ढाड सेक्ने काम भइरहेको भन्दै उनले यसबारे सरकारले चासो नदिएकाले व्यवसाय चौपट हुने अवस्था सिर्जना भएको बताए।

एकातिर सुनचाँदीको मूल्य उच्च भएर साना व्यवसायीहरु व्यापार गर्नै नसक्ने अवस्थामा पुगेका बेला अर्कोतर्फ बैंकहरुले चर्को व्याजदर वृद्धि गर्नुका साथै सरकारले विभिन्न नामको कर बढाउँदा व्यवसाय बन्द गर्नुपर्ने बाध्यता आउन लागेको उपाध्यक्ष रामुदामुले बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुृरका प्रमुख गौरबहादुर विक, त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, नेपाल पत्रकार महासंघ अध्यक्ष भरत खड्का, त्रियुगा उद्योग बाणिज्य संघ अध्यक्ष रमेश रसाईली लगायतले सनचाँदीमा मिसावट हुने गरेको गुनासो ग्राहकबाट आएको बताउँदै सुद्धताको खाँचो औंल्याए। अविधेशनमा जिल्लाको सुनचाँदी व्यवसायमा अमूल्य योगदान गरेको भन्दै ब्भििन्न व्यक्तिलाई प्रशंसापत्रले सम्मान गरिएको थियो।

खुला शत्रपछि शनिबार अवेर सम्पन्न अधिवेशनको बन्दशत्रले काशीनाथ साहलाई अध्यक्षमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। बन्दशत्रले निबर्तमान अध्यक्ष गजेन्द्र बराईली र प्रकाश गजमेरलाई अध्यक्षपछिको दोस्रो र तेस्रो वरियताको सदस्य चयन गरेको छ। वरिष्ठ उपाध्यक्ष रामप्रसाद विश्वकर्मा, प्रथम उपाध्यक्ष सतिशकुमार साह र द्वितीय उपाध्यक्ष सुरेन्द्र लुहागुनलाई छानेको छ।

त्यसैगरी महासचिव दिपककुमार साह, सचिव प्रदिप वराईली, कोषाध्यक्ष रञ्जिता गजमेर र सहकोषाध्यक्ष रामकुमार विश्वकर्मालाई चयन गरेको निर्वाचन समितिले जनाएको छ। राजेन्द्र पुर्वे, रञ्जित खाती, राम गजमेर, आयुष बराईली, सन्तोष गदाईली, प्रनिश साह र गितादेवी साहलाई सदस्य चयन गरेको छ। सल्लाहकारमा लालबहादुर विक, श्रवण विक, सन्तोषप्रसाद स्वर्णकार, राम बराईली, डिवि लामिछानेलाई छानेको अधिवेशनले सोमनाथ ढुंगानालाई कानुनी सल्लाहकार चयन गरेको निवर्तमान अध्यक्ष गजेन्द्र बराईलीले बताए।

प्रकाशित: १ माघ २०७९ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App